माघ महिनाको पहिलो दिन माघे संक्रान्तिमा सार्वजनिक विदा दिइन्छ । विविध जातजाति, भाषाभाषी तथा धर्माबलम्बीकै लागि पनि मान्य चाड हो यो । त्यसैले पनि यसलाई विभिन्न नामले पुकारिन्छ । यो आर्यहरुका लागि मकर संक्रान्ति हो । थारु समुदायका लागि माघी हो । मगरलगायत अन्य जनजातिका लागि यो माघ्या सगराती हो । विविध नामले चिनिने यो नैपालका प्रमुख चाडमध्ये एक हो ।
ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् । धनु राशिको अन्त्य र मकर राशिको सुरुआत भएकाले यसलाई ‘मकर संक्रान्ति’ भनिन्छ । सामान्यतः हामीले मान्ने सबै राशिलाई सूर्यले प्रभाव पार्ने भएकाले ती सबैको आआफ्नो महत्व त छँदै छ । त्यसमा पनि वर्ष दिनमा दुइटा राशि भने केही बढि महत्वका रहेका छन् ।
ती राशिमा कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) रहेका छन् । धार्मिक दृष्टिले महत्वपूर्ण यी दुई पर्वले सूर्य दक्षिणयण र उत्तरायण भएको संकेत गर्दछन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराइमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जाति तथा जनजातिले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, विशेषता र प्रकृति अनुसार मनाउने गर्दै आएका छन् ।
माघ महिनाभर स्नान गर्दा अर्धोदित सूर्य (आधा सूर्य उदाएको समय) मा गरेमा मुख्य फल प्राप्ति हुने बताइएको छ । यस पर्वमा तीर्थ जाने प्रचलन बढ्दो छ । अर्धोदित सूर्य भएको समयमा स्नान गर्नेहरूको पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ । मन, वचन, र कर्मसहित स्नान गरेमा तीन किसिमको पाप नष्ट हुन्छ भन्ने विश्वास छ ।
स्नान गरेर आगो नताप्नु, स्नान नगर्दै पनि आगो नताप्नु भनिन्छ । होमको लागि आगोको सेवा गर्नु, जाडोको निमित्त सेवा नगर्नु भनिन्छ । शखर र चाकु खानु र दान गर्नु भनिएको छ । स्नान गर्नका निमित्त पाएसम्म ठूला नदी वा गंगामा जाँदा उत्तम फल मिल्ने बताइएको छ । तर त्यसो हुन नसकेका धारा, पधेरा, कुवा तथा ताल तलैयामा पनि स्नान गरे शुद्ध हुन सक्ने छूट भने दिइएको छ ।
जान्नेहरुले मन्त्रोच्चारण गरे पनि धेरै मानिसले भने ‘हरे गंगे, हरे गंगे’ भनेर बिसाल गंगाको स्मरण गर्दै स्नान गर्ने गर्दछन् । माघ संक्रान्ति जाडोको रमाइलो पर्व हो । यस दिन तेल लगाउने प्रचलन पनि छ अर्थात् यस पर्वका प्रत्येक क्रिया जाडो विरुद्ध गर्मी उत्पन्न गराउने खालका हुन्छन् । यो दिन मकर राशिमा सूर्यको गमन हुने सङ्क्रान्ति हो । सूर्य उत्तरायण हुँदा यो छ महिनाको समय देवताको दिन मानिन्छ । सूर्य दक्षिणायण हुँदा देवताहरूको छ महिनाको समय रात हो भन्ने बुझिन्छ ।
मकर संक्रान्तिदेखि देवताको उज्यालो दिन मानिने हुनाले ६ महिना भित्रमा विवाह, व्रतबन्ध, पुजाआजासहितका ठूल्ठूला धार्मिक कार्यहरू यसै समयमा गरिन्छन् । कोटी होम, लक्ष होम, काम्य वृषोत्सर्ग यही समय पारेर गरिन्छ । माघे संक्रान्ति घ्यू चाकु खाने दिन हो । पौषमा पकाएको पाक माघमा खाने भन्ने चलन पनि छ । यसमा सबैले उसिनेको वा पोलेको तरुल प्रयोगमा ल्याउने गरेको पाइन्छ । यस दिनमा तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ भन्ने मान्यता छ । त्यसैले पनि माघे संक्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो ।
आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियम लगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।
उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व रहेको छ । यसै दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।
देशभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन सुरु भएपछि आफ्नो मृत्यु होस् भनी रोजेका थिए । शास्त्रअनुसार भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैको स्मरणमा गंगा वा नदीमा स्नान गर्ने प्रचलन बसेको हो ।