काठमाडौं । कोरोना माहामारीको असर कलेजोमा पनि पर्ने र त्यसले दीर्घकालीन रुपमा मानिसलाई असर पुर्याउने अनुसन्धानले देखाएपछि खोप लिनु नै कोरोना महामारीबाट बच्ने एकमात्र वैकल्पिक उपाय रहेको सबैलाई बोध हुन थालेको छ ।
अहिलेसम्म कोरोना महामारीले फोक्सोलाई मात्र असर गर्ने भन्ने बुझाइ आमरुपमा रहँदै आएको थियो । अवश्यै हो, कोरोना संक्रमणको पहिलो र सिधा असर फोक्सोमा पर्छ । तर, तत्क्षण यसले संक्रमित मानिसको कलेजोमा पनि असर पारिरहेको हुन्छ ।
संक्रमित बिरामीको कुनै न कुनै रुपमा कलेजोमा पर्न गएको असर फोक्सोमा परेको असरभन्दा पछि देखिने गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ टेनेसीमा गरिएको एक अध्ययनमा यो कुरा खुुल्न आएको हो ।
स्वास्थ्य वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमित बिरामीमध्ये ११ प्रतिशतमा प्रत्यक्ष रुपमा कलेजोमा असर पर्न गएको देखिएको छ । तर अप्रत्यक्ष तथा दीर्घकालीन रुपमा भने यसको असर संक्रमितमध्ये धेरैमा परिरहेको हुन्छ ।
हालसम्मको मान्यता अनुसार कोरोनाविरुद्ध बनाइएका खोपमा मानिसको कलेजोमा हुनसक्ने संक्रमणविरुद्ध लड्न सक्ने तत्वहरु समावेश भएको हुन्छ । यसका बारेमा बहस यद्यपि कायमै छ । खोपले संक्रमणबाट हुनसक्ने असरलाई रोक्नका लागि मात्र सहयोग पुर्याउने र लागिसकेकालाई भने प्रचार गरिएजस्तो कामयावी नहुने बलियो तर्क पनि स्वास्थ्यविदहरु माझ रहँदै आएको छ ।
अध्ययनबाट खुल्न आएअनुसार कोरोना संक्रमित बिरामीमा भाइरसले कलेजोमा रहेको महत्वपूर्ण इन्जाइम्सको मात्रा बढाइदिने गर्दछ । एलेनिन एमिनोट्रान्स्फरेज र एस्परटेट एमिनोट्रान्स्फरेजनाम गरेका तत्वहरु कोरोना संक्रमित बिरामीमा अनावश्यक रुपमा बढ्दै जान्छन् ।
यसका कारण १५ देखि ५३ प्रतिशत संक्रमित बिरामीको कलेजोमा यसले असर गर्दै जान्छ । यो कलेजोका लागि असामान्य असर हो । यसले कलेजोलाई स्थायी रुपमा कमजोर र निस्क्रिय बनाउँदै लैजाने भएकाले यो निकै खतरनाक बन्दै गैरहेको छ ।
कोरोनाका पछिल्ला चरणमा विकास भएका नयाँ भेरियन्टमध्ये डेल्टा र ओमिक्रोनले कलेजोको मुख्य कोशिकाहरुमा स्थायी र दीर्घकालीन असर पार्ने गरिरहेका छन् । परिणामतः कलेजोको क्रियाशीलतामा कमी आउन गई कलेजो निस्क्रिय हुँदै जाने देखिएको छ ।
कलेजो बिग्रदै जाँदा जण्डिस हुने संभावना बढेर जान्छ । संक्रमणपछि एक त कलेजोमा निस्क्रियता बढ्दै जाने र अर्कोतिर यसले जण्डिसजस्तो रोगलाई निम्त्याउने भएकाले कलेजो फेल हुने सम्भावना बढेर जान्छ । पहिलेदेखि नै कलेजोसम्बन्धी समस्या रहेका मानिस कोरोना संक्रमित भएका यसले मृत्यु समेत हुन सक्ने भनी स्वास्थ्य वैज्ञानिकले गम्भीर चेतावनी दिंदै आएका पनि छन् ।
डेल्टा र ओमिक्रोनको संक्रमण त कतिसम्म जटिल र भयानक छ भने भारतस्थित म्याक्स हस्पिटलका डा. जतिन अग्रवालले त कोरोना संक्रमणको लक्षण नदेखिए पनि शरीरका विभिन्न अंगहरु खराब हुन सक्ने बताएका छन् । उनले लक्षण नदेखिएका संक्रमितहरुको कलेजोलगायतका विभिन्न अंगहरु ड्यामेज हुँदै गएको पाइएको कुरा प्रकाशमा ल्याएका छन् ।
डा. अग्रवालले त डेल्टा तथा ओमिक्रोनको संक्रमणलाई अझ गहिराइमा पसेर नियालिरहेका छन् । उनले फोक्सो, कलेजो लगायतका विभिन्न अंगहरुमा कोरोनाका पछिल्ला भेयरयन्टले पारिरहेको असर खोपले पनि कम गर्न नसकेको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
उनका अनुसार खोप र औषधिले पनि मानिसको शरीरमा असर पुर्याउन सक्ने कुराको अनुसन्धान नगरिँदासम्म खोपले नै मानिसको शरीरमा रहेका सबै अंगलाई कोरोना संक्रमणसँगै हुने हानीबाट बचाउन सक्छ भन्ने ठोकुवा गर्न गाह्रो भैरहेको छ ।