• मंसिर १८ २०८१, मंगलवार

‘वैकल्पिक’ भन्दै ‘बिर्सिए’को राजनीतितिर रविन्द्र मिश्र

पुष २९ २०७८, बिहीबार

वि.सं २०६० को दशकको सुरुतिर देशमा माओवादी जनयुद्ध उत्कर्षतिर उक्लिरहेको थियो । सामन्तवादी सत्ताको प्रमुख केन्द्र मानिएको नारायणहिटी दरबारबाट सञ्चालित सत्ताले देशको संसदको राज्यसत्ताको बागडोर समेत आफैले खोसेर लिएको अवस्थामा देशको राजनीति दुई कित्तामा विभाजन भएको अवस्था थियो । आफ्नै दाईको वंश विनास गरेर राजा भएका भनेर आरोप लागेका तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसदीय पार्टीहरुको सरकारलाई समेत च्युत गरेका थिए ।

एकातिर माओवादी युद्ध, अर्कोतिर ७ दलहरु र अझ अर्कोतिर दरबारबीच त्रिपक्षीय शक्ति संघर्ष निकै चर्किरहेको थियो । पछि त कतिसम्म भयो भने तत्कालिन राजाले देशको सबै अधिकार आफैले लिएर राजनैतिक पार्टीका नेताहरुलाई घरमै कैद गर्न थाले । सञ्चार जगतलाई समेत नियन्त्रण गरेर आफ्नो पक्षका प्रचार गर्न लगाए । आम मानिसहरुले स्वतन्त्र तथा निश्पक्ष सूचनाको रुपमा माओवादीद्वारा संचालित जनगणतन्त्र रेडियो र बीबीसी नेपाली सेवाजस्ता सञ्चारका माध्यमलाई  स्वतन्त्र समाचारको स्रोतका रुपमा लिनु पर्ने अवस्था थियो ।

त्यस्तो अवस्थामा माओवादीद्वारा संचालित रेडियोहरु शहरका मानिसहरुको पहुँचमा हुने कुरा पनि थिएन । त्यसकारण देशमा सूचनाको लागि मानिसहरुले बीबीसी नेपाली सेवा बढी सुन्ने गरेका थिए । त्यतिबेला बीबीसी नेपाली सेवामा एउटा प्रभावकारी आवाज सुनिन्थ्यो । प्रत्यक राती ८ः४५ मा बीबीसीमा न्यूज ट्युन बजिसकेपछि ‘लण्डनको बीबीसी नेपाली सेवाबाट रविन्द्र मिश्रको नमस्कार !’ भनेको आवाज मानिसहरुलाई निक्कै मिठो लाग्ने गथ्र्यो । सायद रविन्द्र मिश्र त्यो समयमा बीबीसी नेपाली सेवाको प्रमुख पनि थिए । अझ बुधबार राति नौ बजेपछि उनले बीबीसी नेपाली सेवामा सञ्चालन गर्ने ‘नेपाल सन्दर्भ’ कार्यक्रममा त सहभागीहरुलाई उनले सोध्ने प्रश्नहरुको सान्दर्भिकता, बौद्धिकता र स्तरीयता सुनेर उनको उचाई सञ्चारकर्मको रुपमा उच्च स्थानमा देखिन्थ्यो ।

माओवादी जनयुद्धका नेता डा. बाबुराम भट्टराईको हरेक विषयको विद्वता र क्षमता देखेर मिश्र दंग पनि पर्थे रे । त्यसैले उनले डा.बाबुराम भट्टराईलाई ‘प्रमुख माओवादी भाष्यकार’ को उपमा समेत दिन्थे । कुनै बेला उनले भन्ने गरेको एउटा भनाई चर्चामा थियो, ‘माओवादीका अध्यक्ष प्रचण्ड र डा.बाबुराम भट्टराईसँग बाहेक नेपालका अरु जो कसैसँग म बिना तयारी अन्तरवार्ता लिन सक्छु र बहस गर्न सक्छुु’ । यसरी ढुक्कसँग यस्तो कुरा भन्न सक्नुको पछाडि उनीसँग रहेको क्षमता नै कारण होला भन्ने धेरैलाई लाग्थ्यो ।

आज समय बदलियो । राजा फालियो र देशमा गणतन्त्र आयो । रविन्द्र मिश्र पनि बेलायत बसाई सकेर हो वा छोडेर नेपाल आए । उनले परोपकारी पत्रकारिताका नाममा केहि लेखहरु पनि लेखेको पढ्ने गरिन्थ्यो । उनले केहि पुस्तकहरु पनि लेखे । एक समय चर्चा र हल्ला यस्तो पनि चल्थ्यो, ‘डा.बाबुराम भट्टराईले माओवादी छोडेको खण्डमा रविन्द्र मिश्र पनि उनकै साथमा लाग्ने रे !’ उनी लगायत समाजमा चर्चा बटुलेका र उच्च ओहदाको जिम्मेवारी समेत पूरा गरेका अरु केहि पात्रहरुले पनि बाबुराम भट्टराईलाई त्यस्तो बचन दिएको भनेर समेत हल्ला सुनिन्थ्यो । पछि डा. भट्टराई माओवादीबाट अलग भए तर मिश्रले पत्रकारिता छोडेर छुट्टै पार्टी गठन गर्नु पुगे । त्यो बीचमा उनीहरु बीच छलफल भयो वा भएन त्यो भने चर्चामा आएन ।

तर केही समयपछि साझा पार्टी मार्फत् रविन्द्र मिश्र राजनीतिकर्मी हुन आइपुगे । पहिले आफू सञ्चारकर्ममा रहँदा उनले अरु नेताहरुलाई पत्रकारको रुपमा प्रश्नहरु तेर्स्याउँथे भने उनी आफै राजनीतिमा आएपछि अरु सञ्चाकरर्मीले अब उनलाई प्रश्न तेर्स्याउन थालेका छन् । सञ्चारकर्मीको प्रश्नको उत्तरमा उनले भन्ने गर्थे, ‘हामी वैकल्पिक राजनीति गर्छौं, युवालाई राजनीतिमा लिएर आउछौं, आशाको राजनीति गर्छौं, देशलाई भविष्य देखाउछौं ।’ अब उनले परम्परागत पार्टीहरुले निर्माण गरेको भाष्य ‘राजनीति एक फोहोरी खेल हो’ भन्नेबाट ‘राजनीति सफा खेल हो, देशभक्ति हो र सेवा हो’ भनेर देखाउन आफूहरु राजनीतिमा आएको भन्न थाले । अझ उनले भन्न थाले,‘हाम्रो राजनीति व्यवस्थाको लागि नभएर जनताको अवस्था परिवर्तनको लागि हो ।’

रबिन्द्र मिश्र

 

रविन्द्र मिश्रहरुको राजनीतिक पार्टी बन्यो । बन्दै जाँदा उनीहरुको उज्वल थापाहरुको पार्टी विवेकशील नेपालीसँग एकता पनि भयो । तर खै के के मिलेन त्यो पार्टी विभाजन हुन पुग्यो । सोही पार्टीसित फेरि एकता पनि भयो तर अहिले फेरि विभाजनको अवस्था छ । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली उखान जस्तै नेपाली राजनीतिमा उदाउन खोजेका रविन्द्र मिश्र कान चिरेको अर्को जोगी बाहेक फरक देखिएको अवस्था अहिले छैन ।

अरु राजनीतिकर्मी खासगरी कम्युनिष्टहरुको चर्को आलोचना गर्दै सञ्चाकरकर्मबाट राजनीतिमा आएका विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र अहिले अरु भन्दा पछाडि फर्केको अवस्था छ । पार्टीका अर्का मुख्य नेता उज्वल थापाको करिब आठ महिना पहिले देहान्त भएको केहि समयमै मिश्रले आफूभित्र रहेको पश्चगामी सोचलाई एउटा प्रतिवेदन मार्फत् बाहिर ल्याए । अध्यक्ष मिश्रले मार्ग परिवर्तनको दस्तावेज भन्दै ‘विचार भन्दा माथि देश’को नाममा एक्कासी आफ्नो प्रतिवेदन सार्वजनिक गरेपछि सो पार्टी भित्रका अधिकांश मानिसहरु असन्तुष्ट रहेको तथ्य लुकेको छैन ।

पार्टी एकता भएको अर्को पक्ष विवेकशीललाई पार्टीबाट किनारा लगाइएको अवस्था देखिन्छ भने स्वयम् पूर्व साझा पार्टीकै पनि धेरै मानिसहरु मिश्रको विचारको विपक्षमा गएको देखिन्छन् । विचार भन्दा माथि देश भन्दै प्रकारान्तरले अहिले देशमा भएको राजनीतिक व्यवस्था संघीय गणतन्त्रको विपक्षमा उभिएपछि अध्यक्ष मिश्रको देश तथा विदेशमा विरोध भएको देखिन्छ । अहिले सो पार्टीको अवस्था कस्तो छ भने पार्टीकै केन्द्रिय संयोजकलाई पार्टीबाट कारवाही गरिएको मात्रै होइन देशव्यापी रुपमा पार्टीका नेता तथा कार्यकर्ताहरुले धामाधम सो पार्टी छोडिरहेको समाचार विभिन्न संचार माध्यमहरुमा आइरहेका छन् ।

विभिन्न कालखण्डमा गरेर सो पार्टीबाट खारिएका राजनीतिकर्मीहरु बाहिर निस्किएका छन् भने युवाहरु पनि उनको विचारसँग सहमत हुन नसकेर दिवंगत उज्वल थापालाई सम्झदै पार्टी छोड्दै गरेको अवस्था छ । सो पार्टी छोड्नेमा अहिलेसम्म कहलिएका राजनीतिकर्मी मुमाराम खनाल, डा.सूर्यराज आचार्य, डा.नारायण कोइराला, डा.सरोज धिताल, मानवी पौडेल, रेशु आचार्य, प्रिया सिग्देलहरु मात्रै होइन पछिल्लो चरणमै सो पार्टीको बागमती प्रदेश संयोजक रञ्जु दर्शना, सहसंयोजक सुरेन्द्र रानाभाट, प्रदेश २ का संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, मनिषा घर्तीमगर, डा.राजेन्द्र पंगेनी लगायतले सो पार्टी छोडिसकेका छन् ।

सो पार्टीका अन्तरराष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्टले पनि आफूले नेतृत्व गर्दै आएको समिति नै भंग गरेर सो पार्टी छोडेको बताएका छन् । सो पार्टी छोड्ने र त्यहीं बसेर पनि रविन्द्र मिश्रको विचारको विरोध गर्नेहरुको भनाईमा मिश्र युवा पुस्तासँग गरेका वाचाहरुका विरुद्धमा गए । राजनीति फोहोरी खेल हो भन्ने भाष्यलाई सपार्न राजनीतिमा आएको बताउने मिश्र अरु राजनीतिक पार्टीहरुको भन्दा पनि तल झरेर फोहोरी खेलमा लागे ।

उनको यस्तो सोच र क्रियाकलापले उज्वल थापा लगायतले सोचेको सुसंस्कृत, वैकल्पिक तथा आशाको राजनीतिका लागि संगठित भएका युवाहरुमा निराशाको संचार भएको छ । व्यवस्था परिवर्तनको लागि नभएर जनताको अवस्था परिवर्तनको लागि राजनीति गर्ने भन्दै बनाएको संगठनलाई चलेको व्यवस्थाकै विरुद्धमा गएर बिर्सिएको व्यवस्थाको लागि राप्रपासँग पार्टी एकता गराउन लागेको भन्दै कयौंले सो पार्टी छोडे राप्रपाजस्तो राजावादी वा पश्चगमनकारीको आरोप लागेको पार्टीसित एकता गर्न खोज्नुका कारणले मिश्रलाई पछाडि फर्केको भनिएको हो । त्यस कुराको विरोध गर्नेहरु कयौंलाई योजनावद्ध ढंगले किनारा लगाइएको छ भने अरु कयौंले मिश्रको विपक्षमा ‘मार्ग परिवर्तनको दस्तावेज’ विरुद्ध वैकल्पिक राजनीतिको मूलबाटो नामको दस्तावेज ल्याएको बताएका छन् ।

२०६२/०६३ सालमा माओवादी जनयुद्धको बलमा भएको जनताको विशाल जनआन्दोलनले राजतन्त्र फालेर देशमा गणतन्त्र ल्याएको छ । संविधान सभाबाट देशमा संविधान बनेर नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । संविधानतः नेपाल समाजवादी व्यवस्थामा जाने भनिएको छ । त्यसकारण नेपालमा राजा, महाराजा, सामन्तवाद र त्यस्तो खालको राजनीति बिर्सिएर देशले वैज्ञानिक समाजवादी कम्युनिष्ट व्यवस्थातिर उन्मुख हुन चाहेको छ । न कि घोषित रुपमा राजा, महाराजा र सामन्तवादलाई अगाडी सारेर बिर्सिएको राजनीति गर्ने राप्रपाको राजनीतितिर । के बदलिएको समय अनुसार मिश्रहरुले पनि आफूलाई बुझ्न र बदल्न आँट गर्लान् ?