• मंसिर ११ २०८१, मंगलवार

नाराणहिटीमा बतासलाग्दा ललिता निवास बालुवाटारमा घाम !

पुष २८ २०७८, बुधबार

‘नेपाल आमा कहिं छौं घाम कहिं छौं छायाँ हे …’ यो नेपालमाथि प्रायः हुने गरेको स्वाभाविक प्राकृतिक चक्र नेपाली राजनीतिमा भने अस्वाभाविक दुष्चक्रका रुपमा बारम्बार दोहरिने गरिरहेको हुन्छ । शायद यसैलाई राजनीति पनि भनिन्छ क्यारे ! यो ठूलाबडाको अनुकम्पा र निगाहमा निर्भर हुन्छ ।

एउटै प्रकृतिका तर फरक समयमा भएका ललिता निवास प्रकरण र नारायणहिटी प्रकरण अहिले बहुचर्चित मुद्दाका रुपमा अघि आएका छन् । ललिता निवास प्रकरणलाई छनबिनको प्रक्रियामा हालेको ओली सरकारकै पालामा सोही प्रकृतिको नारायणहिटी प्रकरण अघि बढेको थियो । अहिले यी दुवै प्रकरण घाम र छायाँका रुपमा देखा परिरहेका छन् ।

यता नारायणहिटी परिसरभित्र छानबिन चलिरहेका बेला उता ललिता निवास छानबिन गरी तयार पारिएको सीआईबीको प्रतिवेदन भने फिर्ता गरिएको छ । त्यो पनि हदम्याद गुज्रनै लागेको अन्तिम दिन । यसले मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदीलाई उन्मुक्ति दिएको देखिएको छ ।

ललिता निवास प्रकरण र नारायणहिटी प्रकरण अन्ततः उही बिचौलियाको चलखेल हो । यिनको छानबिनले ‘लहरो तान्दा पहरो गर्जने’ कुरा जनससामान्यले पनि थाह पाइसकेका छन् । यिनै कारणले पनि नेपाली जनता राजनीतिक दल र यिनका नेताहरुदेखि अघाइसकेका छन् । अग्रगमनको यात्रामा लान नसक्ने यिनीहरुका कारण देश पश्चगमनतिर फर्कन थालेको आभाष हुन थालेको छ ।

सरकार हुनु र सरकारी ओहदामा पुग्नु भनेको राज्य र राज्यस्रोतहरुको दोहन गर्नु नै हो भन्ने नव संभ्रान्त शासक वर्गको मनमनमा रहेको छ । जतिसुकै समानता, न्याय र हकहितका कुरा गरे पनि नीतिनिर्माण थलोलाई अख्तियारको खोज अनुसन्धान र पहुँचभन्दा माथि राखिनुमा यही दूर्नियतिले काम गरेको छ ।

यसले गर्दा नीति निर्माताले जे गरे पनि हुने प्रावधान ऐननियममा ग्यारेन्टी गरिएको छ । यस अर्थमा हालका ‘प्रजातान्त्रिक’ र ‘समाजवादी’ भनिने शासक नेपालको संविधान र नियम कानुनभन्दा माथि छन् । यिनीहरु संस्थागत भ्रष्टाचारमा निर्लिप्त छन् । यिनीहरु देशमा उत्पन्न भएको समस्या समाधानमा गर्नेतिर होइन, तिनलाई लिएर ‘सकुनीका कौडा’ खेल्नेतिर ध्यान दिने गर्दछन् ।

अहिले नारायणहिटीमा बतास काण्डबारे छानबिन भैरहेको छ । तर यसको आड लिएर ललिता निवासको सीआईबीको छानबिन प्रक्रियालाई ओझेलमा पार्न थालिएको छ । यसको कानुनी हदम्याद गुजार्नेतिर सरकार नै लागि परिरहेको छ । यसको पछाडि रहेको मुख्य कारक भनेको लहरो तान्दा पहरो गर्जने ब्यथा नै हो ।

आम जनताले भन्न थालिसकेका छन्– नाराणहिटीमा बतास चल्दा ललिता निवास बालुवाटारमा भने घाम लाग्न थालिसकेको छ ।  माधव नेपाल, बाबुराम भट्टराई वा केपी ओली तथा योगेश भट्टराई जोसुकै होऊन्, दोषी छन् भने कारवाहीको दायरामा ल्याउनै पर्छ भनेर जनता भनिरहेका छन् ।
कुनै कानुनी अपराध भएको ठहर भएमा जनताले सजाय भोग्नु पर्ने तर नेताहरु भने सधैं चोखो भैरहने नेपालको शासन र कानुनी व्यवस्था सधैंका लागि बाध्यात्मक रुपमा आफ्नो काँधमा बोकिरहन नेपाली जनता तयार भैरहने छैनन् ।