• मंसिर १३ २०८१, बिहीबार

यसरी गरियो सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

पुष २७ २०७८, मंगलवार

काठमाडौं । पहिलेदेखि बहसमा ल्याइएको थियो– सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्न सकिने छ । तर अहिले यो अनुमानले साकार रुप लिइसकेको छ । अमेरिकाको बाल्टिमोरस्थित युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा ७ घण्टा लामो शल्यक्रियापछि ५७ वर्षिय अमेरिकी नागरिक डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

सहज शारीरिक प्रतिक्रिया :

सुँगुरको मुटु बेनेटको छातीभित्र प्रत्यारोपण गरिनुपूर्व यसमा आनुवंशिक परिवर्तन गरिएको थियो । प्रत्यारोपणपछि स्वस्थ रहेका बेनेटको शरीरले अहिले राम्रो प्रतिक्रिया जनाइरहेको छ । उनको शरीरभर सहजै रक्तसञ्चार भैरहेको छ । श्वासप्रश्वासमा सहजता देखिन्छ । उनले कुराकानी पनि गर्न सकिरहेका छन् ।

बेनेटको आफ्नो प्रतिक्रिया :

बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण वैज्ञानिक प्रयोगका लागि गरिएको होइन । बरु यस्तो अद्भूत प्रयोग र प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय मात्र थियो । यो नै उनका लागि अन्तिम आशा थियो ।

तथापि यो ऐतिहासिक प्रत्यारोपणले यसको असर देखाउन बाँकी नै छ । कसैले पनि दाबा गरिरहेको छैन कि उनी उनको बाँकी रहेको पूरा जीवन जीउन सफल हुने छन् । तर अरु कसैले पनि फेरि टिप्पणी गरेका छैनन् कि उनलाई यो प्रत्यारोपणले समस्या निम्त्याउने छ । बरु यो नयाँ वैज्ञानिक प्रयोग भएकाले ‘पर्ख र हेर’ को नीति अवलम्बन गरिनुको विकल्प नै देखिदैन ।

त्यसैले बेनेटले भन्ने गरेका छन्– यो प्रत्यारोपण उनका लागि ‘गर वा मर’को अवस्था थियो । उनको जीवनमा यो बाहेक अन्य विकल्प नै बाँकी थिएन । उनले यसलाई अझैं गम्भीर र निकै मर्माहत हुने गरी यसरी अभिव्यक्त गरेका छन्– ‘मलाई थाह छ, यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो ।’

अनुपम सफलता :

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीले यसका बारेमा वर्षौंदेखि यसबारेमा अध्ययन र अनुसन्धान गर्जै आएको थियो । अबका दिनमा यसले विश्वभरका मानिसको जीवनमा निकै ठूलो परिवर्तन ल्याउने छ ।

चिकित्सकको प्रतिक्रिया :

बेनेटको मुटुको शल्यक्रियामा सहभागी शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई ‘अङग अभाव र अङग सङ्कटको समस्या समाधानका लागि चालिने हरेक कदमले मानव जीवनका लागि आवश्यक नयाँ समाधान नजिक पुर्याउने’ बताएका छन् । युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको  संस्थागत विज्ञप्तिमा पनि यो कुरालाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

हालजसम्म उक्त मेडिकल संस्थालाई थाह भए अनुसार यस्ताखाले बिरामीको उपचार सङ्कटका कारण धेरैको मृत्यु भैरहेको छ । अमेरिकामा अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका मानिसहरुमा दैनिक १७ जनाको ज्यान जाने गरिरहेको छ ।

पर्खाइमा रहनु पर्दैन अबका बिरामी :

यस्तो खाले बिरामीहरु लखौंको संख्यामा रहेकाछन् । तर बेनेटको शरीरमा गरिएको यो सफल प्रत्यारोपणसँगै पर्खाइमा रहेका लाखौंलाख मानिसका लागि बाच्ने अवसरको ढोका खुलिसकेको छ ।

मानिसमा जनावरको अङ्ग प्रत्यारोपणका लागि अंगको आकार प्रकार, मानव जीनसँगको मेल र अन्य थुप्रै कुराको खोजी तथा तिनको संभाव्यता बारे अध्ययन हुँदै र आइपरेमा त्यसको प्रयोग हुन सक्ने संकेत चिकित्सा क्षेत्रले दिंदै आएको पनि थियो ।

यसअघि मृगौला प्रत्यारोपणमा सफलता :

बेनेटको छातीमा सुँगुरको मुटु प्रत्यारोपणपूर्व सन् २०२१ को अक्टोबरमा न्यूयोर्कस्थित शल्यचिकित्सकले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिसकेका थिए । यसको परिणाम राम्रो आएको छ ।

मृगौला र मुटु प्रत्यारोपणमा फरक :

लगभग एक वर्षको अन्तरालमा गरिएको यी दुवै फरक अंग तर समान शल्यक्रियामा केही समानता र केही फरक कुराहरु छन् । दुवै प्रयोगमा मानवमा सुँगुरको अंग प्रत्यारोपण गरिएको छ ।

तर अघिल्लो वर्षको मृगौला प्रत्यारोपण गरिएका मानिसको मस्तिस्क मृत अवस्थामा थियो । तर प्रत्यारोपित मृगौलाले उनको शरीरमा निकै राम्रो काम गरेको थियो । तर अहिले मुटु प्रत्यारोपण गरिएका मानिस आफैमा पूर्ण र मुटु मात्र बिग्रन पुगेका मानिस हुन् ।

उपसंहार :

त्यसैले यो शल्य क्रियाका लागि अमेरिकी कानुनले केही विशेष छुट र सहुलियत दिनै पर्ने थियो । यो दिएको थियो पनि, जसका कारण चिकित्सकहरुले निर्धक्कताका साथ बेनेटको मुटुको शल्यक्रिया सफलताका साथ गर्न उत्साह देखाए ।

मुटु प्रत्यारोपण गरिएका बेनेट अहिले आफू बाँचिरहन सक्ने आशा व्यक्त गरिरहेका छन् । सुँगुरको मुटु प्रत्यारोपण अघि बेनेट ६ हप्तादेखि मुटुमा जडित उपकरणसहित ओछ्यानमा परिरहेका थिए । निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षासहित अस्पतालको ढोका खुल्ने आशाका नजर बिछ्याउँदै मूलगेट तिर चियाइरहेका छन् बेनेट ।

(एजेन्सीको सहयोगमा)