महात्मा बुद्ध र उनका अनुयायीले नै सत्य र अहिंसा दर्शनलाई विश्वभरि फैलाए । यसैका आधारमा महात्मा गान्धीले राजनीतिक प्रयोगशालामा अहिंसालाई प्रयोगमा ल्याए ।
महात्मा गान्धीले अंग्रेजको हिंसालाई अहिंसाको शक्तिशाली हतियारले पराजित गरे । शान्तिपूर्ण आन्दोलनद्वारा अंग्रेजलाई भारतबाट लखेटे । वास्तवमा गान्धी आधुनिक कालका सत्य र अहिंसाका महान् प्रयोगकर्ता हुन् ।
महात्मा गान्धी अहिंसाका साक्षात् प्रतिमूर्ति हुन् । त्यसैले पनि होला उनी बुद्धपछिका अर्को महात्मा कहलाए । महात्मा सोच काम, क्रोध, लोभ, मोह, मद, मत्सर तथा अहङ्कार बिहीन हुन्छ । यो भावातित रुपमा जाज्वल्यवान हुन्छ ।
अभिव्यक्तिमा यो मन अतिचेतन हुन्छ । अतिचेतन मन के हो ? सामान्यतया मनका तीन भागहरु हुन्छन् : चेतन मन, अवचेतन मन र अचेतन मन ।
आममानिसको १० प्रतिशत मन चेतन अवस्थामा हुन्छ भने ९० प्रतिशत मन अवचेतन र अचेतन हुन्छ । महात्माहरुको मन भने अतिचेतन हुन्छ । सफा र स्निग्ध, बादलरहित निलो आकाश वा पिंध छर्लंग देखिने संग्लो पोखरी जस्तो !
सिधा शब्दमा भन्ने हो भने महात्मा माइण्ड पूर्णरुपमा जागेको हुन्छ । यहाँ उल्लेख्य कुरा के भने जो जागेका छन्, उनीहरुले नै सुतेकालाई जगाउन सक्छन् । गौतम बुद्ध पनि जागेका महात्मा थिए ।
सिद्धार्थ गौतम राजकुमार थिए । नेपालको लुम्बिनीमा शाक्य वंश राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मेका राजकुमार सिद्धार्थको बाल्यकाल र नवयुवा काल राजसी रहनसहनमा बितेको थियो ।
त्यसबेलासम्म उनी एक सामान्य मानिस नै थिए । जब उनले समाजमा बृद्ध मानिस, रोगी मानिस, मृत मानिस देखे, तब उनको मनमा अनेक प्रश्नहरु खडा भए
।
दुःख के हो ? दुःखको कारण के हो ? दुःखबाट छुटकारा पाउने उपाय के हो ? इत्यादि कुराहरु उनका मनभित्र खेल्न थाले । यसका लागि उनी गहिरो मुद्रामा डुब्न थाले ।
यही क्रममा उनी २९ वर्षको कलकलाउँदो उमेरमा श्रीमती, छोरा, बाबुआमा तथा राजपाठ छोडेर दुःखकष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा घरबाट निस्किए । घुम्दाघुम्दै उनी भारतको बोधगयामा पुगे ।
त्यहाँ पुगेपछि सिद्धार्थ गौतमले पीपलको रूखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनको चेतनाको आयाम बढ्दै गयो र उनी अतिचेतनावस्थामा पुगे ।
उनलाई दुःखकष्टका कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिद्धार्थ गौतम महात्मा बुद्ध भए । उनको शान्ति र अहिंसाको ज्ञान संसारभर फैलियो ।
स्नायुविज्ञानले हालै एउटा क्रान्तिकारी खोज गरेको छ । त्यो के भने मानिसको मस्तिष्कको विकास एक निश्चित अवधिसम्म मात्र हुने भए पनि मानिसको जीवनभरि नै मस्तिष्क परिर्वतनका लागि सधैं तत्पर रहन्छ ।
त्यसैले आठ वर्षे बालकको मात्र होइन कि २९ वर्षे युवा वा ८० वर्षे वृद्धवृद्धाको मस्तिष्क पनि परिवर्तन हुन सक्छ । जब गर्भधारण हुन्छ, भू्रण बन्ने प्रक्रियासँगै मस्तिष्कको विकास द्रूत गतिमा अगाडि बढ्छ ।
मानिसको बाल्यकालमा नै मस्तिष्कको उच्चतम विकास हुन्छ । एक वर्षे बालकको मस्तिष्कमा नै सबैभन्दा बढी न्युरोनहरू हुन्छन् ।
मानव मस्तिष्कमा एक असाधारण र अद्भूत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव भएको हो ।
मस्तिष्कको यही विशेषताका कारणले नै सिद्धार्थ महात्मा गौतम बुद्ध बनेका हुन् । बुद्ध जन्मिदै महात्मा बुद्ध भएर जन्मेका होइनन् । अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए ।
तर बुद्धले मनद्वारा, ध्यानद्वारा मस्तिष्कलाई यसरी परिवर्तन गरे कि, विश्व नै परिवर्तन भयो ।
राजकुमारछँदा सिद्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो । बुद्ध जन्मिनुभन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो । मनले मस्तिष्कको पुनर्संरचना गर्न सक्दछ ।
जब मस्तिष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्दछ, मानिस बुद्ध बन्न सक्दछ, मानिस बुद्धिमान, ज्ञानवान् र जागरुक बन्न सक्दछ ।
ध्यान मस्तिष्क पुनर्संरचनाको एक प्रभावशाली मनोवैज्ञानिक विधि हो । ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनःस्थिति मात्र स्थापित गर्दैन कि मानिसको चेतनाको आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पुराउँछ ।
अतिचेतनाको मनस्थिति नै सिर्जनशील बुद्धिको महासागर हो । त्यहाँबाट पैदा भएका हरेक विचार नै सिर्जनशील र दूरदर्शी प्रकृतिका हुन्छन् । कुनै गम्भीर विषयमा निर्णय गर्नु पर्दा बुढापाकाहरूले शान्त मनले सोचेर निर्णय गर भन्नुको अर्थ पनि यही हो ।
महात्मा बुद्धका अनुसार लोभ, लालच, घृणा, तृष्णा, आग्रह, पूर्वाग्रह, ईष्या, द्वेश, आवेग, उन्माद तथा रिसराग आदिजस्ता मनोविकारहरूले नै मानिसको मनलाई अशान्त बनाउँछ र प्रदूषित गराउँछ ।
यस्तो अशान्त र प्रदूषित मनबाट सधैं गलत र घातक विचारहरु नै उत्पन्न हुने गर्छन् । यही नै दुःख र रोग कारण हो । दुःख र रोगबाट छुटकारा पाउन सबैभन्दा पहिला मनलाई शान्त बनाउनु पर्छ ।
यसका लागि लोभ, घृणा, स्वार्थ र बदलाको भावनाहरू त्याग्नुपर्छ । मनबाट यस्ता कुभावना हटेपछि मात्र मन शान्त र स्थिर हुन्छ । मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सिर्जनशील, दूरदर्शी र शक्तिशाली हुन्छ ।
मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्तिष्कमा ठूलो परिर्वतन देखापर्छ । मस्तिष्कमा भएको यो परिवर्तनले व्यवहारमा ठूलो छलाङ लगाउँछ ।
त्यसैले हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकर्पूण जीवनका लागि आफ्नो मस्तिष्क रिवायरिङ गरिनुपर्छ, पुनर्संरचना गरिनुपर्छ ।
गौतम बुद्ध भगवान होइनन्, गरु हुन्, शिक्षक हुन्, मनोवैज्ञानिक हुन् । यस अर्थमा महात्मा हुन् । सत्यका महान् खोजकर्ता हुन् । महात्मा बुद्धले आफ्नो उपदेशमा चार आर्य सत्यको कुरा गरेका छन् ।
पहिलो आर्य सत्य हो, दुःख अर्थात् संसारमा दुःख छ । दोश्रो आर्य सत्य हो, दुःखहरुको कारण छ । तेश्रो आर्य सत्य हो, दुःख निरोध अर्थात् दुःखहरुको अन्त्य हुन्छ । चौथो आर्य सत्य हो, दुःख निरोध मार्ग अर्थात दुःखहरुको नाश गर्ने मार्ग पनि छ ।
महात्मा गौतम बुद्धले इच्छा तथा तृष्णालाई दुःखको कारण मानेका छन् । उनले दुःखबाट मुक्तिको उपाय पनि बताएका छन् ।
यसका लागि मानिसमा उत्पन्न हुने तृष्णालाई क्षय गर्दै दुःख नाश गर्ने अष्टागिंक मार्ग (सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि) पालन गर्नु पर्ने उनको भनाइ छ ।
महात्मा बुद्धको यस महान खोजलाई आधुनिक मनोविज्ञानले पनि स्वीकार गरेको छ ।