• मंसिर १३ २०८१, बिहीबार

अबशेषका रुपमा बाँकी छ नेपालमा घुमन्ते पशुपालन

पुष १९ २०७८, सोमबार

नेपालमा घुमन्ते पशुपालन अझैं पनि अबशेषका रुपमा बाँकी छ । यो थोरैका लागि मात्र पेसाका रुपमा अहिले पनि विद्यमान छ । पूर्वी नेपालदेखि पश्चिमसम्मका उच्च पहाडी इलाकामा बसोबास गर्दै आएका केही खास समुदायका पनि एकाध मानिस र तिनका परिवारमा घुमन्ते पशुपालन अझै पनि प्रयोगमा छ ।

यो पेसा पहिले निकै व्यापक रुपमा थियो । पछि कृषि युगको बिस्तार ब्यापकतासँगै पशुपालनमा नयाँ पद्धति सुरु भयो । नेपाली जनजीवनका सन्दर्भमा यो स्थायी खेतीपाती र पशुपालनमा फेरिदै र अभ्यास हुँदै गयो । तर पनि तल्लो हिमाली इलाका र उच्च महाभारतीय क्षेत्रमा अग्ला लेकहरुका बस्तीमा गोठ र तल्लो भूभाग वा बेसीमा घर बनाउने प्रचलनले व्यापकता पायो ।

अहिले पनि यसलाई निरन्तरता दिइराखिएको छ । मध्य तथा पश्चिम नेपालमा हिउँदको समयमा लेकमा गोठ लाने र वर्षमा बेसीमा घर झर्ने प्रक्रियालाई सामान्य जनजीवनसँग जोडेर हेरिन्छ । यद्यपि नयाँ अन्नको ‘न्वागी खाने’ कुरालाई भने पर्वका रुपमा जोडेर हेरिने गरिएको पाइन्छ ।

यसै गरी पूर्वी नेपालमा किरात समुदायमा हिउँ पग्लदै गर्दा अग्ला लेक तथा बुकी पाटनतिर पशु लैजाने प्रचलनलाई उभौली पर्वका रुपमा मनाउँदै आएका छन् । त्यसै गरी हिउँ परेपछि बेसी समथर मैदानतिर आउने प्रक्रियालाई उधौली पर्वका रुपमा मनाउँदै आएका छन् ।

यति बेला भेंडा, च्याङ्ग्रा, बाख्रा, चौरी, गाई तथा भैसीहरुको ताँती (क्याराभान) निकै हेर्न लाायकको हुन्छ । यस वर्ष पनि गत मंगलबार परेको हिमपात र वर्षासँगै हिमाली तथा उच्च पहाडी इलाकाका बुकी पाटनसम्म पुगेका घुमन्ते पशुपालक आफ्ना भेडीगोठ र चौरीगोठसँगै न्यानोको खोजीमा पहाडको तल्लो भागतिर झरिरहेका छन् ।

गोठ सर्दै र न्यानोको अनुकुलता हेर्दै ठाउँठाउँमा बिसाउनीसहित उधौली झरिरहेका छन् । अहिले थोरै मात्र संख्यामा रहेका पशुपालक र तिनीहरुसँग रहेका भेंडा, च्यांग्रा तथा चौरीको संख्यालाई हेर्दा घुमन्ते पशुपालन नेपालको मुख्य प्रवृत्ति चाही होइन । मात्र पहाडको उपल्लो भेगमा गोठ राख्ने र तल्लो भेग वा बेसीमा स्थायी बसोबासका लागि घर बनाउने प्रचलनको निरन्तरता मात्र हो ।

लेक–बेसी, घर–गोठ र शिखर–औल्यान नेपालको पहाडी जनजीवनको विशेषता हो । यो जनजीवन प्रकृति प्रदत्त ऋतु परिवर्तनसँगै अभिन्न रुपमा जोडिन गएको छ । यो मूलतः प्रकृतिसँग मानवीय क्रियाकलापको अनुकूलन नै हो ।

हिमालको तल्लो बेल्ट तथा उच्च पहाडी भूभाग हिउँले ढपक्क ढाक्न थालेपछि सुरक्षाका लागि पनि पशुपालक दक्षिणतिर झर्दै जान्छन् । सहरीया जीविनभन्दा नितान्त भिन्न भएकाले यो रोमान्चकारी पनि अनुभूत हुन्छ । तर यो पेसा निकै कठीन छ ।

हिउँ परिसकेपछि पशुहरुको आहारामा कमी, चरन अभाव, बाटोघाटोको अभाव, मानिसका लागि खाद्यान्नको कमी, आवतजावतको लाइफ लाइनमा कटौती आदिका कारण पनि सापेक्ष सुविधा हुने तल्लो भेगमा बसाइ सर्नुको विकल्प हुँदैन । यो वर्षा पनि अधिकांश भेडीगोठ बेसीतिर झारिसकिएका छन् ।