• मंसिर १२ २०८१, बुधबार

कोरोना भाइरस : ल्याबमा ‘जन्म’, ब्याटमा ‘बसाइ’ र म्यानमा ‘सराइ’

पुष १९ २०७८, सोमबार

‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिशियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ अर्थात् सार्स–सीओभी–२ जस्तो भाइरसको संक्रमण सम्भवतः कुनै वैज्ञानिक त्रुटिको परिणाम अथवा आविष्कार पनि हुनसक्छ ।

गत वर्षको २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यस भाइरसको उद्गम र प्रभावबारे धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् । कोरोनाको उत्पत्तिबारे ‘बायो टेरोरिज्म’ जस्तो संवेदनशील र विवादास्पद सिद्धान्त चर्चामा आउनु पनि स्वाभाविक नै हो । खासगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएपछि यस महामारीप्रति मानिस सतर्क हुँदै आएका हुन् ।

चीन, रुस, विभिन्न अरबियन देश र सिरियाले चीनमा फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजराइललाई दोष दिइरहेका छन् । उता अमेरिका भने यसका लागि चीनलाई नै आरोपित गरिरहेको छ । दुबैथरी आरोप प्रत्यारोपका बीच सबैभन्दा रोचक कुरा के छ भने आफ्नो आरोपलाई पुष्टि गर्नसक्ने प्रमाण कसैसँग पनि छैन ।

सबैसँग आआफ्ना ढपली, आआफ्ना राग पाराका एकहोरो तर्कमात्रै छन् । धेरै जनालाई स्मरण होला, सन् १९८० ताका रुसले एचआइभी भाइरसका लागि पनि अमेरिकालाई आरोपित गरेको थियो ।

अहिलेसम्मको वैज्ञानिक अनुसन्धान अनुसार कोरोना भाइरसको उत्पत्ति चिनियाँ सहर वुहानको समुद्री जीव तथा जानवर बजारबाट भएको हो । चीनको यो बजार जंगली जीवहरु जस्तै, सर्प, रैकून र दुम्सीजस्ता जीवहरुको अवैध व्यापारका लागि चर्चित छ ।

अरब जगतको मिडियाले अमेरिका र इजराइलले चीनविरुद्ध मनोवैज्ञानिक तथा आर्थिक युद्धको उद्देश्यले सार्स–सीओभी–२ नामक यस जैविक हतियारको प्रयोग गरेको आरोप लगाएका छन् । सार्स–सीओभी–२, कोभिड–१९, नोभेल कोरोना भाइरस आदि शब्द सर्वसाधारणका लागि नयाँ हुन् ।

तर विज्ञान क्षेत्रसँग सम्बधित र विज्ञानमा रुचि राख्नेहरुका लागि कोरोना भाइरस कुनै नयाँ शब्द होइन, । सन् २००२ देखि २००३ का बीचमा जसरी ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ सार्सले विध्वंश मच्चाएको थियो, त्योभन्दा ठूलो महामारी बनेर अब नोभेल कोरोना भाइरस आएको छ ।

सन् २००३ को मे १६–१७ तारिखमा विश्व स्वास्थ्य संगठनले सार्स महामारीबारे स्विटजरल्याण्डको जेनेभामा पहिलो अन्तर्राष्ट्रिय बैठक आयोजना गरेको थियो । उक्त बैठकका दुई प्रमुख उद्देश्य निम्न बमोजिम रहेका थिए ।

१. यस भाइरसद्वारा उत्पन्न महामारीलाई लिएर बृहद दस्तावेज सेन्सस डकुमेन्ट तयार गर्नु ।

२. महामारी विषयका अनुसन्धानको योजना तर्जुमा गर्नुका साथै यस विषयका जानकारीमा रहेका त्रुटी खोजेर तिनको निवारण गर्नु ।

यसको बारेमा एक्कासौं शाताब्दीको सुरुमा निकै सतर्क भए पनि यही कोरोना भाइरसले हाल निकै सताइरहेको छ । यसका विभिन्न भेरियन्टले पीडा, त्रास र यातना दिइरहेका छन् । ५० लाख भन्दा बढीलाई मृत्युको मुखमा धकेलिसकेका छन् ।

यस्ता भाइरसको खोजी र अनुसन्धानको सन्दर्भमा त्यति बेलै दक्षिण–पश्चिम चीनको युनानमा एउटा गुफामा यस्ता चमेरोको प्रजाति पाइएको थियो । यसमा रहेको सार्स भाइरस मानव संस्करणका सार्स भाइरससँग मेल खाइरहेको थियो ।

त्यो चमेरो भेटिएपछि त्यहाँ अनुसन्धानकर्ताले पाँच वर्ष बिताए । त्यहाँका चमेरोमाथि सूक्ष्म निगरानी गरे । तर अनुसन्धान कर्ताका लागि अहिले आश्चर्यको कुरा के छ भने युनान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकन हजारौं किलोमिटर टाढा बस्ने मानिससम्म चमेरोबाट यो सार्स भाइरस कसरी आइपुग्यो ?