अहिलेसम्म प्राप्त जानकारीअनुसार कोरोना भाइरसको परिवार धेरै ठूलो छ । यस परिवारमा रहेका सदस्यमध्ये ७ भाइ भाइरस मानिसका लागि निकै खतरनाक छन् । यिनले मानिसलाई संक्रमित गरी जति बेला पनि रोग फिँजाउन सक्छन् ।
गत वर्ष चीनमा देखा परेको नोभेल कोरोना भाइरस सातौं भाइ हो । कोरोना भाइरस परिवारमा यसलाई सातौं सदस्य मानिन्छ । कोरोना भाइरस परिवारका अन्य ६ सदस्यमा जेठो सार्स–कोभ, (SARS–COV), माहिलो मेर्स–कोभ (MERS-COV), साहिंलो सार्स कोभ–२ (SARS-COV-2), काहिंलो एचकेयु–वान (HKU1), राहिंलो एनएल ६३ (n\L63), र ठाहिंलो ओसी–४३ (OC43) अथवा कसै कसैले (229E) भनेर पनि बोलाउँछन् ।
यी सातै भाइ कोरोना भाइरस मनिससँग ठूलो दुस्मनी राख्छन् । मानिसले पृथ्वीमा फोहर गरेर, वातावरण विनास गरेर, जलवायुमा अनावश्यक परिवर्तन गरेर, वायुमण्डलको ओजोन तह च्यातेर नस्ट गरेर, पृथ्वीमा तापक्रा बढाएर, अनावश्यक मानिसको जनसंख्या बढाएर बर्बाद पारेपछि यिनीहरु जण्ड भएर निस्किएका छन् ।
हालसम्म जन्मिएको सातौं तथा कान्छो भाइ हाल हामीहरुलाई सताइरहेको कोभिड–१९ हो । हामीले यसलाई सामान्य भाषामा ‘कोरोना भाइरस’ भन्ने गरेका छौं । तर यसको घरको नाम कोभिड–१९ हो । यसले अहिलेसम्म विश्वमा ५० लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ ।
ऋग्वेद र शिव पुराणमा वर्णन भएअनुसार आफ्नै माइतीले महायज्ञमा आफ्नै बुबा दक्षप्रजापति र आमाले नबोलाउँदा महादेव पत्नी तथा दक्षपुत्री सतीदेवी महायज्ञ भैरहेका बखत माइत पुगी यज्ञकुण्डमा हाम फाली आत्मदाह गर्छिन् । यसबाट रिसले चुर भएका महादेवले वीरभद्रको आराधना गर्दछन् । उनको क्रोधपूर्ण आराधनाबाट वीरभद्र उत्पत्ति हुन्छन् ।
उनै वीरभद्रले दक्ष प्रजापतिको सबै सेना स्वाहा पारेर अन्तिममा दक्ष प्रजापतिको पनि टाउको काटिदिन्छन् । यसै गरी पृथ्वीको प्राकृतिक चक्रमाथि दुष्चक्र चलाएको मानिसको संहारमा अहिले ‘वीरभद्र’ बनेर आएको छ कोरोना परिवारको कान्छो भाइ कोभिड–१९ १ अहिले वीरभद्ररुपी कान्छो भाइ कोभिड–१९ ले विविध रुप धारण गरिरहेको छ ।
यो पहिले कोभिड–१९ का रुपमा देखिएको थियो । कहिले एशिया, कहिले अफ्रिका, कहिले अमेरिका त कहिले युरोप घुम्दै गर्दा यसले बेलायतबाट टाइ, सुट, कोट लगाएर डेल्टाको स्वरुप धारण गरी मानिसमाथि निकै नै आक्रमण गर्यो ।
महायज्ञमा हाम फालेर आहुती दिएकी सतीदेवीको मृत शरीर बोकेर तीन त्रिलोकको संवेदनायुक्त यात्रामा निस्केका महादेव झैं कोरोनाको कान्छो भाइ पनि विश्वभर घुमिरहेको छ । पछिल्लो समयमा यसले आफूलाई दक्षिण अफ्रिकाबाट ओमिक्रोनको स्वरुपसहित विश्व यात्रामा हिंडाएको छ ।
ओमिक्रोनको उत्पत्तिपछि यो विषयलाई लिएर निकै बहस पनि चलिरहेको छ । दक्षिण अफ्रिकालगायत अन्य केही देशसमेतलाई युरोपले अघोषित स्वास्थ्य नाकाबन्दी लगाउँदा सिंगो अफ्रिकाले युरोपलाई ‘अफ्रो–फोबिया’ को संज्ञा दिएको छ ।
अर्कोतिर ‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ को उत्पत्ति र संक्रमण पनि सम्भवतः कुनै वैज्ञानिक त्रुटीका कारण बाहिर आउन पुग्यो ।