तृ धातुमा थक् प्रत्यय लाग्दा तीर्थ शब्द बन्छ । तीर्यते अनेन अर्थात् जसबाट तरिन्छ त्यसको नाम तीर्थ हो । तरति पापादिकं यस्मात् अर्थात् जसबाट पापहरुबाट मुक्ति मिल्छ त्यसलाई तीर्थ भनिन्छ र अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति तीर्थक्षेत्रे कृतं पापं बज्रलेपो भविष्यति भन्ने अर्थमा अरुक्षेत्रमा अन्जानमा भएका पाप तीर्थ क्षेत्रबाट नाश हुन्छन् भने तीर्थक्षेत्रमा भएका पाप भने बज्र समान स्थिर भएर रहन्छन् ।
तीर्थ स्थावर र जंगम गरी २ प्रकारको हुन्छ । त्यसमा पनि जलको महत्वले तीर्थ हुन्छ भने माटोको महत्वले धाम हुन्छ । धर्तीमा स्थीर रहेर पुण्य प्रदान गरिनेक्षेत्र स्थावर हो भने चलायमानक्षेत्र भनौँ चलफिर गरी प्राप्त हुने पुण्यलाई जंगम तीर्थ भनिन्छ । शाश्त्रको अध्ययन, सत्संग, कथा, पुराण आदि भगवत् नाम संकिर्तन लाई जंगम तीर्थ भनिन्छ । भागवतको विश्राम श्लोकले नाम संकिर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःख शमनम् तं नमामि हरिं परम् भनेको छ । भागवतको आद्य श्लोक भनेको सच्चिदानन्दरुपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका ३ किसिमका ताप आध्यात्मिक, आदिदैविक र आधिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरु नाश हुन्छन् भन्ने यी बाक्यहरुको मर्म हो ।
त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भने आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक । जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिन्न, त्यसैले स्कन्द पुराणले भनेको छ सत्यतीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूत दया तीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम् । अर्थात् मानिसको विधि व्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आप्mना इन्द्रियहरुलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मिठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी ७ प्रकारका तीर्थ सेवन जरुरी छ ।
महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नु हुन्छ आत्मा नदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यति चान्तरात्मा । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया ननदीका किनारा हुन्, पानीले मात्र शुद्ध हुने होइन । अन्तरआत्मामा डुबुल्की मार्नु पर्छ, जसरी गोताखोरहरुले समुद्रको मणि लिन सक्छन्, पानीले मात्र शुद्ध हुने भए त जलचरहरुले ठूलो पुण्य कमाउँथे ।
त्यसो त गृहस्थ जीवन आफै तीर्थक्षेत्र हो र त हाम्रा महाकविले भने हाडहरुका सुन्दर खम्बा माँश पिण्डका दिवार नसा नदीका तरल तरँग मन्दिर आफै अपार । माता तीर्थ, पिता तीर्थ, गुरु तीर्थ, भक्त तीर्थ, पति तीर्थ, पत्नी तीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैमा तीर्थ बन्छ अर्थात् बुबा आमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पति पत्नी बीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् ।
त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गति निर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्र्थको जीवन यापन हो, भनेको घरै तीर्थ हो । नीतिले भनेको छ तीर्थानि सर्वाणि बसन्ति तत्र यत्राच्युतोद्दार कथा प्रसँग । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीला अवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरुले यसैलाई जंगम तीर्थ भनेका हुन् ।
हजारौँ योजन (एक योजन बराबर ४ कोश) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरु हट्ने छन् भनिएको छ गंगा गंगेति यो ब्रुयात् योजनानां शतैरपि मुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति । मूल कुरा शास्त्रको भनाइ यन्द्रिय निग्रह हो, नीतिले भनेको छ आपदां कथित मार्गमिद्रियाणांमशयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम् अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अपनाऊ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटो मात्रै देखाउँछ ।
माथिका प्रसंगले जीवन र दर्शनप्रतिको यथार्थ चित्रण हुन्छ । मौसम जाडोको छ नदीहरु पनि शुद्ध छैनन् अहिले, कारण नदी बिगार्ने त मानिस नै हो अरु कोही होइन । पौिष महिनाको औँसीलाई गया औँसी भन्ने चलन छ पश्चिमी संस्कृतिमा हुर्केकाहरुले आफू वयस्क भएपछि आफ्ना बाबु आमा प्रति त्यति चासो राख्ने गरेको पाइँदैन र पैतृक सम्पतिमा पनि अनिवार्य प्राप्तिको हक रहँदैन तर पूर्वी सनातन संस्कृतिमा आफ्ना सन्ततिले बाँचुञ्जेल बाबु आमाप्रति आदर, मृत्युपछि श्राद्ध कार्य र त्यसपछि तीर्थमा श्राद्ध गर्नुपर्ने मान्यता छ । वंश र अंश परम्परामा भारी विश्वास गरिने हाम्रो पूर्वीय संस्कृतिलाई आज संसारका धेरै मानिसले अनुसन्धान गर्न लागेका छन् ।
यस लोकमा सुख, शान्ति, आनन्द र परलोकमा गतिमुक्तिको विश्वासमा रहेको पूर्वीय जीवन दर्शनको सभ्यता कुनै व्यक्ति विशेषले चलाएको नभई आर्यपरम्परा युगौँयुग देखि निर्मित र अविच्छिन्न हुँदै आएको हो । दैवी वाक्यका रुपमा लिइने यस पद्धति र परम्परा विश्वकै एक अनुपम र अनुसन्धेय विषय रहेको छ । पितृप्रति गरिने आदर र उनीहरुबाट प्राप्त आशीर्वादको बदला स्वरुप पवित्रक्षेत्रमा तीर्थश्राद्ध गर्ने हाम्रो चलन छ । यसैले तीर्थ, धाम र अन्य दैवीक्षेत्रमा पौषकृष्ण र भाद्र औँशीमा अपार भीड लाग्ने गर्छ हाम्रो देशका विभिन्न क्षेत्रमा । तीर्थश्राद्ध मध्ये गयाश्राद्ध गर्ने दिनलाई पुस कृष्ण औँशी भनिन्छ । सवैतीर्थका ढोका खुल्ने पनि गोकर्णश्राद्ध पछि नै हो
। गोकर्ण, वेत्रावती, काकवेणी वा कोकामा पिण्डदान नगरेसम्म अन्य गया, फल्गु वा कुनै तीर्थ वा धामक्षेत्रका ढोका नखुल्ने आम शास्त्रीय जनविश्वास अनुरुप यी क्षेत्रहरुले अधिक महत्व पाएका छन् । सप्तगण्डकीका कुनै क्षेत्रमा श्राद्ध गर्नाले पनि पितृमुक्ति हुन्छन् ।
अघि तारकासुर, त्रिपुरासुर कुलमा जन्मिएको गयासुरले परमेश्वरलाई तपद्वारा खुसी गराउँदा ठूलो दान, पुण्य, तीर्थ, समुद्र र ऋषि महर्षिहरुलाई समेत पवित्र पार्ने क्षमता पाउँ भनी वरदान मागेकोले र आफू सुतेको शिलामा सम्पूर्ण देवताहरु बसून भन्ने समेत वरदान मागेकोले गयासुरले पाएको वरदान र शक्ति अनुरुप गयामा गएर तीर्थश्राद्ध गरेमा आप्mना सवै पितृहरुको उद्धार हुने विश्वास अद्यापि छँदैछ । गयामा श्राद्ध गरेपछि प्रेतयोनीमा भड्केकाहरु पनि मुक्ति हुने विश्वास रहेको छ । अघि मर्यादापुरुष राम र आदर्श पत्नी सीताले समेत गयाको महत्व बुझी पितृहरुको नाममा श्राद्ध कर्म गरिएका प्रसंग धेरै शास्त्रहरुले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
पद्यपुराण, महाभारत, ब्रह्मवैवर्तपुराण, वाराहपुराण आदिमा तीर्थ श्राद्धको महत्व बताइएको छ भने स्कन्दपुराणमा हिमालयक्षेत्रबाट बग्दै आएकी नदीका सङ्गमहरुमा तीर्थश्राद्धको अधिक पुण्य रहने बताइएको छ । गयामा भने विष्णुपद, अक्षयवट र फल्गुनदीलाई अधिक महत्वले हेरिएको छ । गयाभन्दा पनि प्राचीन स्थल हाम्रो कौशिकी क्षेत्र हो । गयाक्षेत्र वा अन्य प्रसिद्ध तीर्थक्षेत्र जान नसक्नेहरुले घरमै श्राद्ध गर्दा पनि गयाको नामोच्चारण, गीताको पाठ, रामगीता, भागवतको केही श्लोकहरुको अध्ययन गर्नाले पनि गयाश्राद्धको पुण्य मिल्ने कुरामा शास्त्रहरु विश्वस्त छन् ।
चिसै मौसम भए पनि गया औँशीका दिन सके तीर्थ, खोला, जलाशय सागर आदिमा स्नान गर्नाले जीवनमा अपार पुण्य र आनन्द मिल्छ भने टाढा जान नसक्नेहरुले घरमै स्नान गर्दा पनि तीर्थहरुको नाम, पवित्र नदीको स्मरण, गङ्गा, गायत्री, गाईको स्मरण, मन्त्रोच्चारण र अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका पुरी, द्वारावती, गोदावरी आदिको स्मरण गर्दै स्नान, सन्ध्या र यथाशक्य दान, पुण्य गर्नाले आप्mनो शरीर पवित्र त हुन्छ नै, मन र धन पनि पवित्र हुने गर्छ । तन शुद्धि स्नानले, धनशुद्धी दानले, मन शुद्धि ध्यानले हुन्छ ।
तन, मन र धन तीन कुरानै शुद्धि पाउनु आजको प्रतिस्पर्धात्मक समयमा निकै गाहे हुन्छ । प्रदूषण र खोलानालाहरु फोहोरका डंगुरले भरिएको परिप्रेक्ष्यमा दैवी सम्पदामा रहेका तीर्थ, नदी, क्षेत्रहरुमा जलभण्डार रहन दिने र सफा, सुन्दर र सौन्दर्ययुक्त वातावरण हुने अवस्था भए संसारका अन्य मानिसहरु पनि हामीप्रति आकर्षित हुन्छन् ।