आज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलजीको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्यका बारेमा लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयम् पौडेलजी लाभान्वित हुनु हुने विश्वास लिएको छु ।
सम्भवतः उमेर र राजनीतिका हिसाबले नेपाली काँग्रेस (नेका) को राजनीतिमा शीर्ष स्थानमा रहेका नेता हुन्– रामचन्द्र पौडेल । ७७ वर्षको उमेर कटिसकेका उनी चौध वर्षसम्म प्रजातन्त्र प्राप्तिको लडाइँमा जेलको यातना पाएका नेता हुन् । सधै अवसर पाएका उनी पटकपटक मन्त्री भए । सभामुख पनि भए ।
तर उनी सधै सजिलो निर्वाचन क्षेत्रबाट मात्र निर्वाचन लड्न चाहे । उनले कार्यकर्ता र मतदातालाई आकर्षित गर्ने साहस गर्न सकेनन् । तनहु जिल्लाको साबिक एक नम्बर निर्वाचन क्षेत्रवाट २०४८ सालमा सामान्य शिक्षकसँग प्रतिस्पर्धा गर्दा झिनो मतले बिजय बनेका पौडेलले सो क्षेत्रबाट पुनः निर्वाचन लड्न कहिल्यै चाहनु भएन ।
२०५१ सालको मध्यावधि निर्वाचनमा तुलनात्मक रुपमा लोकतन्त्रप्रति समर्पित मतदाता पर्याप्त रहेका कारण दुई नम्बर क्षेत्र यिनको रोजाइमा पर्यो । तनहुँको साबिक दुई नम्बरबाट गोबिन्द जोशीलाई १ नम्बरमा पठाई निर्वाचनमा विजयी हुनु भएको हो ।
यस क्षेत्रमा मतदातालाई आफूप्रति आकर्षित गर्न असमर्थ र राजनीतिक पूर्वाग्रह राख्ने स्वभावका कारण उनी सामान्य उम्मेदवारसँग ठूलो मतान्तरले पराजित बन्न पुगे । सत्र पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा भिडे । नजित्ने प्रतिस्पर्धामा अब्बल साबित भए ।
चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारसम्म दिने हैसियतमा रहेनन् । नेका भित्रको लामो समयको लगानीको प्रतिफल प्राप्त गर्न नसकेको मानसिकतामा कुण्ठित भएका छन् ।
कार्यकर्ता पंक्तिमा प्रख्याती कमाएका डा. शेखरलाई राजनीतिमा कनिष्ट मान्नेहरुको लाइनमा रामचन्द्रजी पनि देखिनु भयो । कार्यकर्ताका बिचमा पुगेर उनीहरुको सुखदुखमा साथ् दिंदै आउनु भएका सेखरजीलाई खुला हृदयका साथ स्वीकार्न तयार हुनु भएन ।
भारतकै मोदीलाई जनस्तरमा उनले आर्जन गरेको प्रख्यातीका कारण उनको विकल्पमा अर्को कुनै जेष्ठ सदस्यलाई अवसर दिँदा दललाई नोक्सानी पुग्ने सन्त्रास उनीहरूमा देखियो र राजनीतिक संस्कारको प्रदर्शन भाजपाका मोदीभन्दा वरिष्ट नेताहरुले गरे । तर त्यो संस्कार थोरै पनि पौडेलजीमा देखिएन ।
संस्थापन इत्तर पक्षमा शेखरजी सरहको अब्बल र कार्यकर्ताका बीच स्वीकार्य उम्मेदवार अन्य कुनै देखिएका थिएनन् । यस अवस्थामा आफूलाई समर्थन नगर्ने वित्तिकै सहयोग गर्ने तत्परता पौडेलजीले देखाउन सक्नु भएन । यो उनको संकुचित मानसिकताको उपज हो । यही स्वभावले गर्दा उनी लामो समयदेखि पछि परेका हुन् ।
संस्थापन इतर पक्षको नेताको रुपमा स्थापित भएको दाबी गरिरहँदा रामचन्द्रजीलाई पटकपटक कार्यकर्ताले शेखरको पक्षमा समर्थन गर्न सामूहिक अनुरोध गर्दा पनि खुल्न सक्नु भएन । निर्वाचनमा मतदान नगरी गैरलोकतान्त्रिक चरित्रको प्रदर्शन गर्नु भयो ।
शेखरजीलाई असहयोग गरेको आलोचना प्रशस्त भइराखेको छ । पौडेलजीले आयोजना गरेको चियापान कार्यक्रममा पौडेलजी विरुद्ध नै विरोधका आवाज मुखरित हुनुले पनि उनलाई अबका दिनमा राजनीति गर्न असहज अवस्था सिर्जना हुन गएको छ ।
मंसिर २५ मा एक विज्ञप्ति प्रकाशित गरेर पौडेलजीले ‘पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ ।’
त्यही विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ ।’ यी भनाइहरू आइरहदा स्वयम् पौडेलजीले नेता त्रयहरुको सिद्धान्त, सच्चरित्रता र निष्ठालाई अवलम्बन गर्नु भएको थियो वा थिएन । पौडेलजीले आफै आत्ममूल्याङ्कन गर्नु पर्दछ ।
शेखर र प्रकाशमान कार्यकर्ताका बीच परीक्षण हुन चाहदा पौडेलजी पनि उम्मेदवारी दिन सक्नु हुने थियो । तीनजना संस्थापन इत्तर पक्षबाट प्रतिस्पर्धा गर्दा यदि पौडेलजी दोस्रो मत प्राप्त गर्न सक्ने अवस्थामा भएको स्थितिमा संभवत प्रकाशमान र निधिजीले दोस्रो चरणमा समर्थन गर्न पनि सक्दथे ।
शेखरजीजस्तो जुनियरको मुद्दा पनि पौडेलजीको हकमा लागु हुने थिएन, उनी सबैभन्दा पाका नेता थिए । सुजाता र शशांकले पनि समर्थन गर्ने सम्भावना प्रवल थियो । यस अवस्थामा पौडेलजी सभापति हुने सम्भावना थियो ।
तर यसरी निर्वाचन लड्दा मत संख्याका हिसाबले प्रकाशमान र निधिजीभन्दा तल हुने निश्चित थियो । त्यसैले संस्थापन इत्तरबाट सबैले नछाडी प्रतिस्पर्धामा रहन बुद्धिमानी देख्नु भएन । उनैका समर्थक एक कार्यकर्ताका अनुसार लामो अवधिमा पौडेलजीले आफ्नो अवस्थाको सही मूल्यांकन गर्न सक्नुभएको यो पहिलो पटक हो ।
पौडेल रणनीति निर्माण गर्न अत्यन्त कमजोर नेता हुन्, किनकि शेरहादुरजीलाई यसपटक प्रधानमन्त्रीमा स्थापित गराउनमा उहाँको ठूलो भूमिका छ । केही महिनाको अन्तरालमा शेरबहदुरजीसँग प्रतिस्पर्धा गर्न तयारी गरेका आफ्ना प्रतिस्पर्धीलाई कार्यकारी प्रमुख बनाउनुमा उल्लेख्य भूमिका खेल्नु आत्मघाती गोल गर्नु सरह हो ।
शेरबहादुरजीले निर्वाचन जित्नुमा यो नै मुख्य कारण पनि हो । लामो समय देखिको पौडेलको राजनीति कुनै समूहमा आवद्धता रहेन । सबैलाई असहयोग गर्ने परिस्थिति निर्माण गर्न मात्र उद्दत रहे । आफ्नै जिल्लामा आफ्नै साथि भाइहरुको विरोध गर्दै उनीहरुको हैसियत मात्र बढाइदिएनन् आफ्ना साथीहरूकै बिरोधका कारण निर्वाचन जित्न नसक्ने अवस्थामा पुग्नु भयो ।
आफ्ना साथीहरुलाई समेटेर चौडा छाती प्रदर्शन गर्न सक्दा तनहुँका दुवै निर्वाचन क्षेत्रमा नेका विजयी हुन सक्ने अवस्था हुने थियो । पौडेलजीको राजनीति प्रायः पूर्णबिराम लागेको अवस्था छ । उनलाई समर्थन गर्दै सुरक्षित निर्वाचन क्षेत्र अफर गर्ने सबल नेता पनि उनको लागि तत्पर हुने अवस्था देखिएन ।
तात्कालीन अवस्थामा सुशील कोइरालाजीलाई चितवनवासीहरुले रातो कार्पेट राखेर स्वागत गरे, सुशील जस्तो सदाचारी, सच्चरित्रवान र इमान्दार एवं सिद्धान्तनिष्ट नेता राष्ट्रका लागि जरूरी भएको निर्णयमा पुगी बाँकेबाट निर्वाचन पराजित भएमा पनि चितवनबाट बिजयी बनाउने निर्णय लिए । दुवै निर्वाचन क्षेत्रहरूबाट बिजयी बनाए । थोरै मात्र भए पनि पौडेलजी कै समकालीन नेता सुशीलजीमा यी गुणहरू देखिदा त्यस प्रकारको अब्बल गुण पौडेलजीमा महसुस गर्न सकिएन ।
पौडेलजीलाई ठूलो नेता, १४ वर्ष जेल र नेल खाएको निष्ठावान व्यक्ति, प्रजातन्त्रका अथक योद्धा, यस देशको राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय सभापति सबैका लागि अतियोग्य, नेकाको भविष्य वहाँ सभापति हुँदा मात्र मात्र सुरक्षित छजस्ता अतिरन्जित अभिव्यक्ति दिने झुण्डहरुको प्रसंसाबाट आत्मरतिमा मुग्ध हुने व्यक्तित्वको नाम नै रामचन्द्र पौडेल हो ।
केही समय पछिको राजनीतिक सोचको वहाँमा अभाव छ । गिरिजा बाबुले सम्मान गर्दै उहाँलाई गृहमन्त्री बनाउनु भयो । प्रतिपक्षको चर्को विरोधका कारण गिरिजा बाबुले राजिनामा दिने परिस्थिति बन्दै थियो । पौडेलजीले राजिनामा दिने सोच बनाउनु भयो ।
गिरिजा बाबुले ‘म आफै प्रधानमन्त्रीबाट राजीनामा दिंदैछु तपाई अहिले हतार नगर्नुहोस्’ भनेर सम्झाउदा सोही दिन संसदमा आफ्नै नेताविरुद्ध अभिव्यक्ति दिई राजिनामा गर्नुभएको घटनाक्रम सचेत नेपालीहरुको मन मस्तिस्कमा ताजै छ ।
यस घटनाबाट उहाँको राजनीतिक उचाइ घट्दै गएको हो । पौडेल राजनीतिमा अत्यन्त कमजोर रणनीतिकार, अत्यन्त सानो वृत्तमा रमाउने, अन्य नेताको प्रशंसा सुन्न नसक्ने, असहिष्णु स्वभाव र पूर्वाग्रह राखी राजनीति गर्ने पात्र हुन् ।
उहाँमा दूरगामी सोच देखिएन, समूह निर्माण गर्न पनि सकेनन् । समर्थकहरु पनि तयार पार्न सकेनन् । संस्थापन इत्तर पक्षको नेता स्वघोषित मात्र बने कसैले उनलाई स्वीकार गरेन । यस अवस्थामा विक्षिप्त नभई धैर्यधारण गरेर भविष्यको राजनीति गर्ने सद्गुण पनि देखिएन ।
पार्टी सभापति शेरबहादुरजीसँग थुप्रै अवगुणहरू समेत छन् तर पौडेलजीले शेरबहादुरजीबाट सिक्नुपर्ने धेरै कुराहरू छन् । अहिलेको राजनीतिक दिशाबिहीनताका कारण खासै उपयुक्त मार्ग अवलम्वन गर्न नसकेको नेकालाई अघि बढाउन लोकतान्त्रिक शक्तिका आधारमा मुलुकको शासन, शासन सञ्चालन गर्न लागि आधारहरू तय गर्न उपयुक्त सिद्धान्त र त्यस सिद्धान्तप्रति समर्पण भई कर्तव्यको निर्वाह गर्न सक्ने अब्बल नेतृत्व आजको कांग्रेसले खोजेको छ ।