जलवायु परिवर्तनको असरसंगै गर्मी, बर्षा र जाडो कहिले सुरु र अन्त भन्न नसकिने छ । जब जाडो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ ।
सरसर्ती हेर्दा हुनेखानेको जीवनमा चिसोले सामान्य प्रभाव पारे पनि एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता, अझै बुढाबुढी बालबालिका र महिला वर्गका लागि चिसो अभिषाप बन्दछ ।
भनिन्छ , चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो । तर माघ महिना नआउँदै चिसोले दर्जनौंको ज्यान लिइसकेको छापाहरुमा देखिन्छ । जाडो निरन्तर बढ्दैछ, मानिसेको धमाधम मृत्यु भएका समाचारहरु आइरहेका छन् । यथार्थमा चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो ।
जाडो याममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन, तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुनु दुःखलाग्दो विषय हो । राज्य तथा सामाजिक संघ/सस्थाहरुको निकम्मापन हो ।
मानव स्वास्थ्य :
परिवर्तित चिसो मौसमी वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकोले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । साधारणतया जति गरम र तातोसँग मानिस अनुकुल बन्न सक्दछ त्यति चिसोसँग हुन सक्दैन ।
जब बाक्लो हुस्सु, चिसो पानी, वातावरण हुन्छ, शीतलहर चल्छ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्दछ । शरीरको भित्री तापक्रम ३०० सेल्सीयसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा शितांग भनिन्छ ।
शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकुल काम गर्दछ, तर त्योभन्दा कम भए वा ३० डिग्री सेल्सियस भन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा बृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शीरा धमनी सङकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।
शितांगबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउँमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ भने अन्य घरबार विहिन, विस्थापित परिवारका सदस्यहरु र सडक पेटीमा समय बिताउनेहरु र कमजोर स्वास्थ्य अवस्था तथा रोगको जटिलतामा पनि देखिने गर्दछ ।
साधारणतया यो समस्या बाहिरी वातावरणमा काम गर्ने मजदुरहरू, लामो दूरीका पौडीवाजहरू, हिमाल तथा पहाडका पदयात्रीहरूमा देखिन्छ । शीतलहर वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचार–न्यानोपन हो, जसको तुरुन्त नै जरुरत पर्दछ र अपरिहार्य महत्व रहन्छ ।
हाइपोथर्मियाका अतिरिक्त रुघाखोकी, निमोनियाजस्ता स्वासप्रस्वास, अपच, पखालाजस्ता पाचन प्रणाली, स्नायु प्रजनन, रक्तसञ्चार प्रणाली लगायतका विभिन्न बातावरणीय, संक्रामक रोगबाट बढी प्रभावित हुन्छन् ।
शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ । ओठ, मुख, हातगोडा एवम् कुर्कुच्चा सुक्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाउ बनाउँछ ।
जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले योनिद्वारबाट सेतो पानी बग्ने, यौनाङ्ग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडा, पखाला हुनसक्छ र जण्डिस र टाइफाइड पनि प्रशस्त पाइन्छ । वाथ, सन्धिबाथ, आमवाथ आदि रोगबाट ग्रसितमा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुन्छ ।
तर सामान्य नठानौ :
साधारणतया रुघाखोकीले ज्वरो तथा श्वास प्रश्वास सम्बन्धी सामान्य संक्रमण गराउने भएपनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङकोेलाइटिस, ब्रोङकोेनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, नाकको भित्री भागको श्लेष्मिक सुन्निनु (राइनाइटिस), साइनाइटिस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया), ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्यूरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अहिलेको अध्ययनले जाडो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएका छन् ।
सुषुस्त हत्यारा : सी.ओ.
सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, साससम्बन्धी बिरामी, रगतको कमी भएका, गर्भावस्था, गर्भका शिशु र बृद्धा पर्दछन् । सी.ओ. रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्यांस हो जसलाई नदेख्न सकिन्छ न त चाख्न वा सुँघ्न सकिन्छ ।
त्यसैले चिम्नी नभएका उपकरणहरु घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन् भन्ने हेक्का राख्नुपर्छ । सामान्य सम्पर्कमा आउदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीव्र टाउको दुखाई, रिगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ ।
त्यस्तै निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालिन हानी, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।
प्रारम्भिक लक्षणहरुमा ध्यान नदिदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहिं विना कुनै लक्षण बेहोश हुनसक्छन् । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ ।
रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशतपुग्दा मानिसको मृत्यु हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुनसक्छ । झ्यालढोका खोल्ने र भेन्टिलेसन ठूला र खुला राख्नुपर्छ ।
अन्तमा, शरीरलाई न्यानो बनाउन परापूर्वकालीन उपायहरू रुइ, फुइ र दुईमा भर पर्नुपर्ने हुन्छ । ईन्फलुएन्जा र निमोनिया खोप पाइएपनि महंगो छ र लगाए पनि ३० प्रतिशत मात्र सुरक्षा दिन्छ ।
तातो र न्यानो स्थानमा बस्ने, चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवा, चिसो र सङ्क्रमणबाट बच्न मास्क लगाउनुपर्दछ । पटकपटक हात धुने गर्नुपर्छ ।
ब्यवहारिक सचेतनासँगै धुवा धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलफुल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न हुनसक्ने समस्याबाट बच्न सकिन्छ ।
तराईका रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, देउखुरी, बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायतका प्रायः सबै जिल्लाहरुमा चिसोसँगै कहिं शीतलहर त कहिं बाक्लो हुस्सु चलेको छ ।
जिल्लाहरुमा बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै तापक्रम घटेकाले र शीतलहर बढेकाले अत्यधिक जाडो छ । जनजीवन प्रभावित भएको छ । न्यानो कपडा र आगो ताप्नेको जोहो गरिदैछ ।
गरीब, बिपन्नहरु थरथरी कापिरहेका छन् । जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक कहिं बस्दै छन्, कहिं बस्ने बारेमा सोच्दैछन् । यस्तो बेलामा झ्याल, ढोका थुनेर आगो नबाल्ने, हिटर, मकल, दाउराको सट्टा न्यानो कपडा, हटवाटर ब्याग र कम्मल प्रयोग गर्ने जस्ता सन्देश फैलाउनु पर्दछ ।