नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आइतवारदेखि राजधानी सहर काठमाडौंमा सुरु भएको छ । यो आफैमा नेपालको संघीय संसदमा तेस्रो ठूलो राजनीतिक दल भएकाले पनि यसले लिने नीति र कार्यक्रमका बारेमा धेरैमा कौतुहलता छाएको देखिन्छ । तेस्रो राजनीतिक दल हुनुका कारणले यसले लिने निर्णयहरुले देशको समकालिन राजनीतिमा के कस्तो प्रभाव पार्लान् अहिले यो आँकलनको विषय बनिरहेको छ ।
केही दिन पहिलेसम्म सम्मेलन भनेर तयारी गरिए पनि उद्घाटनको सम्मुख आउँदा यसले यो आफ्नो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन भनेर ब्यानर तयार गरी प्रचारमा ल्याएको छ । यो उक्त पार्टीको आन्तरिक कुरा हो, तयारी नपुगे सम्मेलन र तयारी पुगे महाधिवेशन भनेर गएको पनि हुन सक्छ । सम्मेलन होस् वा महाधिवेशन, यसको यो पटकको माओवादी केन्द्रको वृहद् राजनीतिक भेलाले के गर्ला, यो भने चासोको विषय बनेको छ ।
यो चासोलाई रुसी दार्शनिक लियो टल्सटोयको ‘पार्टी जीवन होस् वा व्यक्तिको, त्यसमा मुख्य तीन कुराले प्रभाव पार्छन्’ भन्ने कुराको कसीमा राखेर हेर्नु जरुरी हुन्छ । जीवनमा अन्य कुरा पनि हुन्छन्, तर तिनले सहयोगी र सहायक भूमिका निर्वाह गरिरहेका हुन्छन् भनी उनले प्रष्ट्याएका पनि छन् । उनले भनेका मुख्य तीन कुरा हुन् ः १. तिमीले के काम गरिरहेका छौ ?, २. तिमीले कोसँग काम गरिरहेका छौ ? र, ३. तिमीले कुन सममयमा उक्त काम गरिरहेका छौ ?
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई पनि ‘के’, ‘कोसँग’ र ‘कुनबेला’ यही तीन कुराको कसी लगाएर हेर्यौं भने अरु अनावश्यक धेरै कुरा वा विषय उठाएर भौतारिइरहनु जरुरी पर्दैन । यसअघि उसका सहयात्री द्वय एमाले र नेपाली काँग्रेसले पनि आफ्नो यो प्रक्रिया पूरा गरिसकेका छन्, कर्मकाण्डीका रुपमा ।
अब कुरा रह्यो, माओवादी केन्द्रले के गर्ला ? यस कारणले पनि कि यसले केही कलात्मक नारा दिएको छ : ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन !’ ओलीले एमाले महाधिवेशनमा यस्ता शब्दावली उच्चारण गर्नै नचाहे पनि कम्तिमा माओवादी केन्द्रले ‘नयाँ’ र ‘क्रान्तिकारी’ भन्न त छाडेको छैन !
रुप र पदावली जति कर्णप्रिय सुनिए पनि सारमा नेपालको संसदीय अभ्यासलाई लिएर घोत्लिँदा यसले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी’ निर्माणपछि उही संसदीय निर्वाचनमा नागबुडी खेल्दै जाँदा कतै नेपालको संसद पनि ‘क्रान्तिकारी संसद’ त बन्ने होइन ? ‘क्रान्तिकारी संसद’ भन्ने नारा दिन किन भुलेको होला, माओवादी केन्द्रले ?! राजनीतिक विश्लेषकका बीचमा यस्तो तर्कले पनि स्थान पाएको देखिन्छ ।
शायद, राष्ट्रिय ‘सम्मेलन’ भन्दै गर्दा ‘महाधिवेशन’ बन्न पुगिहाल्यो, यही हतारोमा ‘क्रान्तिकारी संसद’ भन्न छुटेको हुनुपर्छ । महाधिवेशन सकिदासम्म यो पारित होला पनि, आशा गरौं । माओवादी केन्द्रसँग राजनीतिक विश्लेषकहरुको एउटै गुनासो रहेको छ । त्यो हो, माओवादी केन्द्रले आफूलाई ‘डमीकरण’ गर्न (केही आडम्बरभित्र लुकाउन) किन यति साह्रो मन पराउँछ ?
अहिलेका दिनमा माओवादी केन्द्र भूमिगत हुनु जरुरी छैन । यस्तो अवस्थामा आडम्बरपूर्ण शब्दावलीको ‘क्यामोफ्लेज’ वा ‘घुंघट’ किन ओढिराख्नु पर्यो ? अवश्यै हो, राजनीति र राजनीतिक पार्टीका पनि आरोह र अवरोहका दिनहरु हुन्छन् । अधोगतिमा पनि सापेक्ष रुपान्तरण आएकै हुन्छ र उन्नतिमा पनि सापेक्ष रुपान्तरण त भएकै हुन्छ । समय, समाज र गतिसँगै सङगति र विसङगति त सापेक्ष भएर साथसाथै अघि बढिरहेका हुन्छन् ।
दार्शनिक टल्सटोयको पहिलो प्रश्नलाई लिंदा ‘माओवादी केन्द्रले के गरिरहेको छ ?’ अहिले माओवादी केन्द्रले तेस्रो ठूलो संसदीय दलका नाताले संसदीय सत्तागठबन्धनमा रहेका बेला राष्ट्रिय महाधिवेशन गरिरहेको छ । स्वभावैले महाधिवेशनमा अहिले मुखैमा आएको संसदीय निर्वाचनमा धेरै सिट जितेर संसदमा ठूलो पार्टी कसरी बनाउने भन्ने विचार, नीति तथा कार्यक्रम प्रस्तुत र पारित गरिने छ ।
अर्को कुरा, विचारतः त्यसलाई कार्यान्वयन गर्न कुनचाहिं नेताले सक्ला भनिने छ र नेतृत्व चयन गरिने छ । महाधिवेशनमा हुने मुख्य दुई कुरा यिनै हुन् । माओवादी केन्द्रलाई तीनै तहको संसदीय निर्वाचन जितेर बहुमत ल्याउन ‘नयाँ क्रान्तिकारी विचार’ र ‘क्रान्तिकारी पार्टी’ चाहिएको छ । संभवतः यसले वर्तमान संसदलाई ‘क्रान्तिकारी संसद’ मा रुपान्तरण गर्न ऐतिहासिक महत्व राख्ने छ !
टल्सटोयकै दोस्रो प्रश्न, यस्तो काम गर्नका लागि ‘माओवादी केन्द्रले कोसँग सहकार्य गरिरहेको छ ?’ यो आफैमा प्रष्ट छ, यसका लागि आफै पनि संभ्रान्त वर्गमा रुपान्तरण भैसकेको माओवादी केन्द्रले पुँजीवादी पार्टी नेपाली काँग्रेस र नवपुँजीवादी पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग सत्ता साझेदारी गरिरहेको छ । यसले त यतिसम्म पनि दावा गरिरहेको छ कि यो सत्ता गठबन्धन तीन तहका संसदीय निर्वाचन सम्पन्न हुँदा र त्यसपछिको नयाँ संसदीय सरकार गठनहुँदासम्म रहिरहने छ ।
यसले आफै देखाउँछ कि यही गर्नका लागि माओवादी केन्द्रलाई ‘नयाँ क्रान्तिकारी विचार’ र ‘क्रान्तिकारी पार्टी’ निर्माण गर्नुपर्ने आवश्यकता आइपरेको छ !
टल्सटोयको तेस्रो प्रश्न छ, माओवादी केन्द्रले ‘यो काम कुन समयमा गरिरहेको छ ?’ समय आफैमा प्रष्ट छ, संसदमा आफ्ना प्रतिस्पर्धी दलहरु नेपाली काँग्रेस र एमालेले राष्ट्रिय महाधिवेशन गरेर सांगठनिक रुपमा आफूहरुलाई बलियो बनाएर अघि बढेको बेला गरिरहेको छ ।
आफ्ना प्रतिस्पर्धीहरुले संसदमा बढी सिट ल्याउने भए कि भनेर माओवादी केन्द्रलाई पार्टीभित्र एकता र एकताको बल आवश्यक परिरहेको छ । माओवादी केन्द्रले गरेका यी सबै काम संसदमा धेरै सिट जितेर ठूलो पार्टी बनाउनु नै रहेको छ । उक्त पार्टीका अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरुले भनिरहेका पनि छन्– ‘संसदीय निर्वाचनपछि माओवादी केन्द्र संसदमा एक नम्बरको पार्टी बन्ने छ ।’
यसले आफैमा प्रष्ट देखाउँछ कि माओवादी केन्द्रका लागि अबको बाटो भनेको जतिसक्यो संसदीय रुपान्तरणतिर नै हो ।