• मंसिर ११ २०८१, मंगलवार

रविन्द्र मिश्रले पार्टीलाई भजन मण्डली बनाउन खोज्नु भएको छ : संयोजक मिलन पाण्डे

पुष १० २०७८, शनिबार

(‘देशमा राजनीतिक बेथिति निम्तियो, हामी योभन्दा राम्रो राजनीतिक विकल्प दिन्छौं’ भन्दै हिँडेको विवेकशील साझा पार्टी अहिले विभाजनको संघारमा छ । उक्त पार्टीको अध्यक्ष रबिन्द्र मिश्र एकातिर र संयोजक मिलन पाण्डे अर्कोतिर आआफ्ना खेमाका भिन्दाभिन्दै बैठक बस्दै आएका छन् । विधिवत रुपमा फुट्न तयार यो पार्टीका एक खेमाको नेतृत्व गरिरहेका विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसँग गोेलखबर डटकमका संवाददाताले लिएको समसामयिक अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)

१. विवेकशील साझा पार्टी फेरि पनि फुट्न थालेको हो ?

केही महिनादेखि पार्टीका अध्यक्ष रविन्द्र मिश्रज्युले यो पार्टीको एकतालाई एकताबद्ध बन्न नदिनेजस्ता क्रियाकलापहरु गरिरहनु भएको छ । पार्टी एकीकरणमा हामीले मूलभूत रुपमा २ वटा कुरामा जोड दिएका थियौं । एउटा पार्टीको नीति र अर्को यसको नेतृत्व ।
विवेकशील पार्टीलाई एकताबद्ध बनाउने, अग्रगामी बनाउने, गतिशील र वैकल्पिक पार्टी बनाउने संविधानवादलाई पूर्णरुपमा पालना गर्ने र विगतका आन्दोलनका उपलब्धिहरुलाई रक्षागर्ने आदि कुरामा हामीले हस्ताक्षर गरेका थियौं ।
२. अहिले यी कार्यान्वयन नभएकाले समस्या सिर्जना भएको हो ?  

एकता बेलामा हामीले एउटा नीति तय गर्यौं । तर त्यसको केही महिनापछि मार्ग परिवर्तन गरिएका कुरा आए । सुरुमा व्यक्तिगत विचार भन्दै पार्टीका नीति अलपत्र पार्ने काममा लाग्नु भयो ।
यो उहाँको पार्टी नीतिको परित्याग थियो । दोस्रो कुरा, आउँदो महाधिवेशनसम्म अध्यक्ष र संयोजकले पार्टीको मिटिङ बोलाउने भनी पार्टी विधानमा स्पष्ट उल्लेख गरिएको छ । यसको अर्थ हो, संयोजक र अध्यक्षमा कार्यकारी अधिकार बराबर रहनु ।
तर त्यसलाई उल्लङघन गर्दै पार्टीकै संयोजकलाई पार्टीबाट निस्कासन गरे भनेर विज्ञप्ति दिनु भएको छ । यसले देखाउँछ उहाँले एक वर्ष अघिदेखि नै आफैले गरेको सहमति उल्लंघन गर्न पुग्नु भएको छ ।
यसले देखाउँछ कि पार्टी टुटाउने र फुटाउने काम उहाँले नै गरिरहनु भएको छ ।
३. रविन्द्र मिश्रले पार्टीको साधरण सदस्य पनि नरहने गरी तपाईलाई कार्वाही गरिसक्नु भएको छ नि ?
हाम्रो बीचमा एकता भएको हो । म उहाँको पार्टीमा ‘सदस्यता पाऊँ’ भनी लाइन लाग्न आएको होइन । मैले १० वर्षदेखि वैकल्पिक राजनीतिक धार बनाउन म स्थानीय जनतासम्म विवेकशील नेपाली आन्दोलन लिएर पुगेको छु । मैले हरेक कदममा उज्ज्वल थापालाई साथ दिंदै अघि बढेर यहाँसम्म आएको हुँ ।
म एकता हुँदाका बखत रविजन्द्रजीले संयोजक बनाएको पनि होइन । म एकता हुँदाका बखत स्वयम् विवेकशील दलको निर्वाचित अध्यक्ष हुँ । पार्टी भनेको विचार हो ।
४. भनेपछि तपाईं पार्टीमै हुनुहन्छ ?
हामीले विचार छोडेका छैनौ । पार्टी भनेको यसका कार्यकर्ता र सदस्यहरु पनि हुन् । अधिकांश सदस्यहरु अहिले पनि हामीतिर हुनुहुन्छ, त्यसैले कुन पार्टीबाट मिश्रजीले निकाल्नु भयो, त्यो मलाई थाह छैन ।
उहाँले त केवल उहाँभित्र रहेको आक्रोश पोखिरहनु भएको मात्र हो । एकताका बेला ६ महिनाभित्र महाधिवेशन गरिसक्ने भनेका थियौं । तर उहाँले महाधिवेशन गर्न पनि सक्नु भएन । शायद गर्न पनि चाहनु भएन ।
अहिले पार्टी एकता गरेको पनि पाँच वर्ष हुन थालिसक्यो, पार्टीको हालत यस्तो बनाउनु भएको छ । पाँच वर्षसम्म उहाँ आफूले आफैलाई टीका लगाएर अध्यक्ष भन्दै बस्नु भएको छ । अबका दिनमा पार्टी महाधिवेशन भयो भने उहाँ निर्वाचित भएर आउन सक्ने अवस्था पनि देखिदैन ।
महाधिवेशन गरौं भने मिलन पाण्डेले जित्ने भए भनेर यो सबै एकता विरोधी र अमर्यादित काम गरिरहनु भएको छ । उहाँले जे गर्न सङकेत गरिरहनु भएको थियो, यसलाई मैले यसले देश र जनताका लागि राम्रो काम गर्दैन भनेर सचेत गराइरहेको थिए ।
५. साझा पार्टीसँग एकता गरेर गल्ती भयो त्यसो भए ?
व्यक्तिगत रुपमा हुने अनुभूति के हो भने पार्टी एकता गरिनु आफैमा नराम्रो कुरा होइन । किनकि उस्तै खाले मुद्दा बोकेका २ वटा पार्टी एक्लाएक्लै भएर किन हिंड्ने ? एक ठाउँमा आएर बलियो भएर जाऔं न भनेर सदाशयताका साथ एकता गरिएको हो । त्यति बेलै हामीले यो व्यवस्था, संविधान र विचार बोकेको भनेर उहाँलाई स्पष्ट पारिसकेका थियौं । उहाँले मेरो विचार पनि त्यही हो भनेर लिखित प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
मैले यही धारमा राजनीति गर्छु राजनीति नै मेरो इमान हो भनेर उहाँले हामीसँग भनिसकेपछि हामीले विश्वास गर्यौं पनि । अहिले नै उहाँले इमान्दारिता नै गुमाउनु होला भन्ने कसलाई पो पत्यार थियो र ?
राजनीति भनेको इमान पनि हो । यसरी विचार गर्दा पार्टी एकता ठीक थियो, तर उहाँले गरेकामे प्रतिबद्धतामा विश्वास गरिरहनु गलत थियो ।
६. मिश्रजीको त आरोप छ नि तपाईले नेतृत्वविरुद्ध आक्षेप मात्र लगाउने र पार्टी हितविपरीत काम गर्दै जाने गर्नु भएको छ रे ?

मैले व्यक्तिगत आक्षेप केही पनि लगाएको छैन । तर विचार भने गलत लिनु भएको भनिरहेको छु । कहिलेकाहिं आफूले सही कुरा गरिरहेको छु भन्ने लागे पनि त्यसले देश र जनताको हित गर्दैन । मैले भनेको थिए, तपाईले बोकेको विचार र मुद्दाले देशमा द्वन्द्व निम्त्याउँछ ।
राजनीतिक रुपमा प्रश्न नै नगर्ने हो र थपडी बजाउने मात्र हो भने लोकतन्त्रमा त्यो कसरी संभव हुन सक्छ । मैले ‘फटाह’ भनेर आरोप लगाएको पनि छैन । राजनीतिक रुपमा तपाईले लिएको बाटो गलत छ भनिरहेको छु ।
त्यो गाली दिएको होइन । हामीले ढोका थुनेर कुरा गर्नु पर्ने अवस्था पनि छैन । हामीलाई २ लाख भन्दा बढी मतदाताले मत दिनु भएको छ । हामीले मानेको प्रजातान्त्रिक विधि र प्रक्रिया हो । पार्टीको र राजनीतिको कुरा गरेको छु । वैयक्तिक आक्षेप कतै पनि लगाएको छैन ।
७. तपाई पाार्टीमा कुरा नराखेर बाहिर सञ्चार माध्यममा दौडनु भयो भन्ने आरोप पनि छ अध्यक्षको ?

हामी एकीकरणदेखि साथमा छौं । उहाँले विधान पनि संशोधन गरे भनिरहनु भएको छ । कसरी गर्नु भयो, त्यो थाह छैन । हामीले टेक्ने भनेको एकताको विधान हो, त्यो विधान त पार्टी राष्ट्रिय महाधिवेशनबाट मात्र फेरिन्छ वा संशोधन हुन्छ । अनि कहाँबाट फेरियो वा संशोधन भयो त्यो पार्टी विधान ? आश्चर्य छ ।
पार्टीको महाधिवेशन नहुँदासम्म पार्टीको अध्यक्ष र संयोजकले पार्टीको मिटिङ बोलाउने भनी विधानतः उल्लेख भएका बेला कहाँबाट उहाँले एकलौटी वैठक बस्नु भयो त ? मैले भनिरहेको छु र लेखेर पनि दिएको छु कि महाधिवेशन छिट्टै गरौं ।
उहाँले आफैले गलत गरेको छु भन्ने महसुस भएपछि वैठक बसाल्न पनि सहमत हुन सकिरहनु भएको छैन । उहाँले बोलाएको एकल वैठक कहाँ र कसरी भयो, यो त थाह हुने कुरा नै भएन ।
८. त्यसो भए अब सँगै बस्ने संभावना छैन ?
पार्टीमा नफुटौं भन्ने साथीहरु पनि हुनु हुन्छ र नफुटौं भन्ने साथीहरु पनि हुनुहुन्छ । फेरि हामीले किन पार्टी फुटाउने ? हामी त पार्टी एकता चाहन्छौं । बरु रबिन्द्रजीले पार्टी एकता चाहनु हुँदैन ।
उहाँले व्यक्तिगत रुपमा मनपरि गर्दै हिँडिरहनु भएको छ । एकता हुँदा जुनखाले पार्टीभित्र कार्य विभाजन गरिएको थियो, त्यसमा रविन्द्रजीले मनपरि गरिरहनु भएको छ । रञ्जु दर्शनालाई उहाँले कार्यक्षेत्रबाट नसोधिकनै अर्को कार्यक्षेत्रमा सरुवा गरिदिनु भयो । यो त पद्धतिमा मिल्दैन पनि ।
९. उहाँ त कार्यक्षेत्र हेरफेर गरिएको पो भन्नु हुन्छ त ?

ही त हो कुरा ! उहाँले निकै मीठो भाषामा लेखेर अभिव्यक्त गर्नु हुन्छ । यस्ता कुरा कि जिम्मेवारीमा हेरफेर गरियो भनेर । कार्य विभाजनमा पुनर्विचार र कार्य क्षेत्र परिवर्तनका लागि कम्तिमा पनि वैठक त बस्नुुपर्ला । कसैले के कुरा गरिरहेको छ, त्यसको रिपोटिर्ङ लिनु पनि छैन, सोधपूछ पनि छैन । यसरी कसरी चल्छ पार्टी ?
रविन्द्रजीले कसैले नदिएको राजीनामा पनि स्वीकार गरेको छु भनिरहनु भएको छ । मनगढन्ते रुपमा यस्ता काम त गर्न भएन नि ! कसैले विचारमा असहमति राख्यो भनेर कार्वाही गरिएको छ भन्नु त भएन नि । मिटिङ पनि बसेको छैन, छलफल पनि भएको छैन । कसैले राजीनामा पनि दिएको छैन, के उहाँले पार्टीलाई भजन मण्डली बनाउन खोज्नु भएको हो ?
१०. तपाईहरुलाई पार्टीको नाम, लेटरहेड र झण्डा पनि प्रयोग गर्न नदिने भन्नु भएको छ, मिश्रजीले ?
यो भनेको विवेकशील साझा पार्टीमा पञ्चायत लागू गर्न खोजिएको जस्तो भयो । पञ्चायतमा पार्टीहरुमाथि प्रतिबन्ध थियो । महेन्द्र राजाले पञ्चायत लागु गरेका थिए । तर विपीहरु ‘ल त हजुर’ भनेर चूप लागेर त बसेनन् । अहिले त गणतन्त्र आएको छ । प्रजातन्त्र छ देशमा, हामी चूप लागेर त बस्दैनौ ।
राजनीति नगर भनेर कसैले गर्दैन र ? तात्कालीन अवस्थामा विवेकशील पार्टीले निकै राम्रो काम गरिरहेको थियो । गाउँगाउँमा जनताका बीचमा गएको थियो । त्यसै बेला उहाँ नेता हुन पाइन्छ कि भनेर साझा पार्टी खोलेर नेता हुन आउनु भएको हो ।
११. एकीकरण त गर्नु भयो नि, होइन र ?
एकीकरण गरियो, हामी एकता गरिएको पार्टीमा त छौं । एकीकरण पनि एक पटक हो र ? उहाँले एउटै पार्टी दुईदुईपटक एकीकरण गर्नु भएको छ । एकपटक उज्जवल थापासँग र अर्कोपटक मेरो नेतृत्वमा ।
एउटै पार्टी दुुदुर्ईपटक एकीकरण गरेर पनि उहाँ असफल नै हुनु भएको छ । अब त मिश्रजीले यसको नैतिक जिम्मेवारी लिनु पर्छ । पार्टी एकीकरणमा ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको छ । तर त्यो त उहाँले गर्नु नै भएन ।
उहाँ पत्रकार हुँदा तात्कालीन नेताहरुलाई प्रश्न गर्दा ‘तपाईलाई लाज लाग्दैन’, ‘नैतिकता छैन’ भनेर सोध्नु हुन्थ्यो । आज रविन्द्रजी नेता हुनु भएको छ, ‘के उहाँलाई लाज लाग्दैन’, ‘नैतिकता छैन’ उहाँमा ? राजनीतिमा इमान्दारिता र नैतिकता आधारभूत कुरा हो । यो नै त्यागियो भने त बाँकी के रहन्छ र ? मैले राजनीतिक इमान्दारिताको कुरा गरिरहेको छु ।
१२. यो जुँघाको लडाइँले तपाईहरुको पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा कसैले स्वीकार गर्ला ?

सोलोडोलो रुपमा यो आरोप लगाइयो भने अन्याय हुनजान्छ । वास्तवमा पार्टीलाई यो अवस्थामा पुर्याएको हो त कसले ? विगतमा धेरै साथीहरुले विवेकशील साझा पार्टी परित्याग गरिसक्नु भएको छ । तर हामीहरुले पार्टीलाई वैकल्पिक पार्टीका रुपमा स्थापित गर्न आफ्ना मत राखेर अघि बढिरहेका छौं ।

आमनागरिकसँग मेरो निवेदन के छ भने हामी पनि रविन्द्र जी पनि दुवै गलत त छैनौ होला । त्यसो भए गलत को छ त ? आखिर गलत उही छ, जसले पार्टी धानेर खान सक्दैन ।
मैले भनिरहेको छु, एकता गर्दाका बखत जारी गरिएको प्रतिबद्धता र दस्तावेज तथा विधान मानिदिए कुरा मिलिहाल्छ । पाँच छ वर्षसम्म राष्ट्रिय महाधिवेशन नै नगरिकन लट्काएर राख्ने अनि मनमौजी तरिकाले दस्तावेज यसो र उसो, पार्टी विधान यसो र उसो भनेर जान त एकता पार्टी विधानले कसैलाई छूट दिएकै छैन ।