काठमाडौँ । एउटा पुरानो गीत ‘काफल कम्ला’ फेरि रेकर्ड भएर भिडियोसहित सार्वजनिक भएर संगीत बजारमा आएको छ । करिब १५० वर्ष पुरानो दाबी गरिएको ‘काफल कम्ला’ भाका नेपालको डोटी र भारतको कुमाउ जिल्ला वरिपरि प्रचलित रहेको विश्वास गरिन्छ ।
सो गीतको भारतको कुमाउपट्टीको ‘कम्ला’ भाका धेरै वर्ष पहिले ललित मोहन जोशीको आवाजमा रेकर्ड भएको मानिन्छ भने यता नेपाल डोटी पट्टीको ‘काफल’ भाका चर्चित देउडा सर्जक तथा गायक नन्दकृष्ण जोशीको आवाजमा ठाडी भाकामा रेकर्ड भएको थियो ।
यसरी ‘काफल’ नेपालको महाकाली क्षेत्रमा वर्षौंदेखि चर्चित रहेको ठाडी भाका मानिन्छ भने उता ‘कम्ला’ भारतको कुमाउ क्षेत्रमा पनि वर्षौंदेखि चर्चामा रहेको लोकभाका मानिन्छ । देश फरक भए पनि नेपाल भारत सीमानाका केही गाउँ र ठाउँहरुमा लोक संस्कृति एउटै भएको पाइन्छ ।
अहिले रेकर्ड भएर आएको ‘काफल कम्ला’ बोलको गीतमा पनि नेपाल भारतका केही सीमानाका ठाउँहरुमा बोलिने भाषा र शब्दहरुलाई मिसाइएको छ ।
नेपालको सुदुर पश्चिम र मध्यपश्चिम र भारतको कुमाउ र गढवाल जिल्ला वरिपरि बोलिने शब्दहरुलाई मिसाएर सो गीतलाई अहिले तयार पारिएको छ भने यहि भाका र गीतका पहिले भएका रेकर्डहरुमा पुरुषको मात्र आवाज रहेको पाइन्छ । तर अहिले आएको सो गीतमा महिला पुरुष दुवैको आवाज रहेको छ ।
गायिका अस्मिता अधिकारी र जनक ताम्राकारको आवाजमा रहेको सो गीतका शब्द र संगीतको सिर्जना भने महेश ताम्राकारले गरेका हुन् । उदयराज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन् ।
समिर थापाले गीतको भिडियो उत्पादनलाई व्यवस्थापन गरेका छन् भने असिम साहले गीतको भिडियोलाई निर्देशन गरेका छन् । आसिफ साहले उक्त गीतको सो भिडियो निर्माणमा सिर्जनात्मक निर्देशन दिएका छन् ।
सौरभ लामिछानेले सम्पादन गरेको सो भिडियोका दृश्यहरुलाई लामिछानेले नै क्यामरामा कैद गरेका हुन् । नायिका स्वस्तिमा खड्काको मुख्य अभिनय तथा नृत्य रहेको सो गीतको भिडियोमा विशेष उपस्थितिको रुपमा कलाकार निश्चल बस्नेत समेत छन् ।
जी–२१ डिजिटलको युटुव च्यानलबाट सार्वजनिक गरेको दुई दिनमै सो भिडियोलाई यो सामग्री तयार पार्दासम्म करिब ६ लाख मानिसले हेरिसकेका छन् । नेपाली युट्युवको ट्रेण्डिङमा सो गीतको भिडियो उकालो लागिरहेको छ ।
‘पुरानो भाकालाई नयाँ पुस्तामा पुर्याउने आफ्नो सानो पहल’ भनेर यसको व्यवस्थापन तथा निर्माण पक्षले बताएको छ भने जति हेर्यो उति हेरौँ लाग्ने ५ मिनेट ३९ सेकेण्डको सो गीतको भिडियो एकचोटी हेर्न थालेपछि दर्शकलाई भिडियो सकिएको थाह नै हुँदैन ।
हेरौं भिडियो :⇓