• मंसिर ११ २०८१, मंगलवार

अवचेतन मनमा अंकुराउने मनोदशा

पुष ९ २०७८, शुक्रबार

चर्चित हिन्दी फिल्म ‘तारे जमीम पर’ मा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन् : सोलोमन आइल्याण्डका आदिवासीले रुख काँट्दैनन् । उनीहरु रुखको वरिपरि जम्मा भएर घण्टौंसम्म रुखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही हप्तापछि रुख सुखेर आफैं मर्छ ।

धेरैलाई यो कुरा साह्रै विश्वास नलाग्ला । प्रत्यक्ष देख्ने कतिपय मानिसले भने यसलाई दैविक चमत्कार मान्ने गर्दछन् । तर यो कुरा व्यवहारमा सही र प्रमाणिक पनि हो ।

यस सम्बन्धमा अनेक विद्वानको आआफ्नो तर्क छ । तर वैज्ञानिक डा. ब्रुस लिप्टनका अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । सानोतिनो होइन, तीन त्रिभुवन हल्लाउने शक्ति छ । खा“चो छ त सिर्फ यसको सदुपयोगको !

मनरुपी सफ्टवेयर :

मन र मस्तिष्क एउटै होइनन् । अलग अलग अङ्गहरु हुन् । तर, मन मस्तिष्कजस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर ।
मनको तीन स्तर हुन्छ । चेतन, अवचेतन र अचेतन अवस्था । यो वर्गीकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो ।

मनोविज्ञानका अनुसार चेतन मनको शक्ति १० प्रतिशत भन्दा कम छ, जबकि अवचेतन मनको शक्ति ९० प्रतिशत भन्दा बढी छ । तर प्रायः मानिसले चेतन मनको शक्तिले कार्य गर्छन् । अवचेतनलाई उपयोग गर्दैनन् ।

अवचेतन मन कहिल्यै सुत्दैन, आराम पनि गर्दैन । दिनरात क्रियाशील रहन्छ । श्वासप्रश्वास, रक्तसञ्चार, पाचन तथा उत्सर्जन क्रियामा अवचेतन मनको भूमिका रहन्छ ।

चेतन मन सक्रिय अवस्था हो । यसले सोचविचार तथा तर्कका आधारमा निर्णय लिन्छ । तदनुरुप कार्य गर्छ पनि । तर अवचेतन मन एक भण्डार जस्तो हो ।

यो अवचेतन मनमा विचार, अनुभव तथा धारणा सङ्ग्रहित हुन्छ । अवचेतन मन तर्क तथा सोचविचारले कार्य गर्दैन, अनुभव तथा धारणाको आधारमा स्वचालित तरिकाले कार्य गर्छ ।

चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रष्ट पार्न सकिन्छ । जब कुनै व्यक्तिले साइकल चलाउन सिक्दछ, उसलाई ध्यानपर्वूक साइकल नियन्त्रण गर्नुपर्छ । सुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ ।

तर जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नु पर्दैन, साइकल आफसेआफ नियन्त्रित हुन्छ । उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्छ ।

यो कसरी संभव छ ? सुरुआतमा जब व्यक्ति पहिलो पटक साइकल चलाउन सिक्दछ, तब उसले आफ्नो चेतन मन प्रयोग गर्छ । जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रहित हुन थाल्छ, अनि बिस्तारै बिस्तारै अवचेतन मनले चेतन मनको ठाँउ लिन थाल्छ ।

वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफसेआफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरु जस्तै : सास लिनु, मुटु धड्कनु, रक्तसञ्चार, पाचन तथा उत्सर्जन आदि कार्यहरु अवचेतन मनमा हुने गर्छन् । आदत तथा दैनिक दिनचर्याका कार्यहरुमा पनि अवचेतन मनको महत्वपूर्ण भुमिका हुन्छ ।

अवचेतन मन एक सफ्टवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिङ चेतन मनद्वारा हुने गर्छ । अवचेतन मनले स्वयम् राम्रो नराम्रो सोच्न सक्दैन । यो प्रोग्रामअनुसार स्वचालित तरिकाले कार्य गर्छ ।

हाम्रो हर विचारले हाम्रो अवचेतन मनमा महत्वपूर्ण प्रभाव पार्छ । अर्को शब्दमा भन्ने हो भने हामी जेजस्तो सोच्छौ वा गर्छौ, त्यो सबै अवचेतन मनमा प्रोग्रामिङ हुन्छ, चेतन मनले कार्य गर्छ ।
अनि बिस्तारै बिस्तारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ ।  हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रुपमा अवचेतन मनद्वारा नियन्त्रित हुन्छ ।

अवचेतन मन रोगको भण्डार :

मानिसको अवचेतन मन चेतन मनभन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । यही अवचेतन मनले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिगार्छ । मानिसलाई स्वस्थ बनाउँछ । मानिसलाई रोगी बनाउँछ ।

जब व्यक्तिले नकारात्मक भावना अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दि“दैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्त हुन्छ, अनि तनाब, चिन्ता, हृदय रोग तथा अल्सर आदिजस्ता रोगहरु पैदा हुन्छन् । वास्तवमा रोगहरुको भण्डार भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो ।

आदत परिर्वतन सम्भव :

अवचेतन मनद्वारा नियन्त्रित आदत परिवर्तन गर्न गाह्रो छ । तर असम्भव चाहिं छैन । चेतन मन र अवचेतन मनको मनोवैज्ञानिक अवधारणालाई बुझ्ने हो भने मानिसले जीवनका ठूलो परिवर्तन गर्न सक्छन् ।

कैयौं मानिसले गरिरहेका पनि छन् । अवचेतन मनका कारण नै मानिसले चेतन मन लगाएर आफ्ना खराब आदत परिर्वतन गर्न भरमग्दुर कोशिश गर्दा पनि सक्दैनन् । त्यो किनभने आदत अवचेतन मनमा यति मजबुतसँग प्रोग्रामिङ भएको हुन्छ कि त्यसलाई चेतन मनको कोशिशले कुनै असर पार्दैन ।

आदत बदल्न अवचेतन मनमा ‘इन्स्टल’ भएका खराब आदतलाई हटाएर त्यसमा सकारात्मक कुराहरु स्थापित गर्नुपर्छ । ‘दि बाइलोजी अफ बिलिफ’का लेखक डा. ब्रुस लिप्टनका अनुसार यसरी नै जब सोलोमन आइल्याण्डका मानिस रुखलाई गाली दिन्छन्, तब रुखको माइण्डले नकरात्मक तथा खतरनाक विचारलाई ‘इन्स्टल’ गर्छ ।

यसका कारण रुखको ‘मोलेकुलर’ संरचना बिग्रन्छ । अनि रुख सुकेर मर्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागु हुन्छ ।

बारम्बार एउटै कुरा दोहोर्याउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिला महात्मा बुद्धले भनेका थिए, ‘तिमीले जस्तो सोचका थियौ, त्यस्तै भएका छौ ।’

निष्कर्षमा :

संसारमा जति पनि हिंसा, डर, क्रोध, घृणा, इष्र्या तथा बदलाका भावना छन्, त्यसको मूल कारण हो, अवचेतन मनमा छिपेको नकारात्मक भावना । चिन्ता, भय, तनाव तथा निराशाले हृदय, फोक्सो, आमाशय तथा आन्द्रा आदिको समान्य कार्यप्रणालीको गतिमा अवरोध सिर्जना गर्छ ।

अनि मानिसलाई रोगी र दुःखी बनाउँछ । रोग र शोकबाट बच्न, जीवन स्वस्थ र आनन्दित तुल्याउन सकारात्मक जीवनशैली आवश्यक हन्छ । त्यो किनभने स्वस्थ र सकारात्मक आचार-विचारले अवचेतन मनको नकारात्मक हट्छ । अनि जीवनमा सुख, स्वस्थ र शान्ति प्रकट हुन्छ ।