काठमाडौं । हाल देशमा देखिन थालेको आर्थिक तरलतालाई केन्द्र बनाएर अर्थक्षेत्रमा चलिरहेको बहस अब अर्थमन्त्रालय र राष्ट्र वैंकका बीचमा सिधासिधा चल्न सुरु गरिसकेको छ । अर्थमन्त्री र गभर्नरका बीचमा देशको अर्थतन्त्रलाई लिएर अभिव्यक्त गरिएको आभिव्यक्ति भिन्न मात्र होइन, ठीक विपरीत हुन थालेपछि अर्थमन्त्रीको व्याख्यालाई ‘राष्ट्र बैंकको काउन्टर–अर्थतन्त्र’ भनी व्याख्या गर्न थालिएको छ ।
गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा भएको पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफलमा ‘पुँजीगत खर्चको स्थिति कमजोर रहेको कुरा साँचो’ तर ‘अन्य सूचकहरु सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला’ भनी मन्त्रीहरुलाई आश्वस्त पारेका थिए । अर्थमन्त्रीले यसलाई ‘भ्रम छर्न खोजिएको’ संज्ञा पनि दिएका थिए ।
तर त्यसको ठीक दुई दिनपछि बुधबार सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा रहेको नेपाल राष्ट्र बैंकले अर्थमन्त्रीले भन्ने गरेका ‘भ्रमपूर्ण सूचक’ को सत्य, तथ्य र तथ्यांक सार्वजनिक गर्यो ।
आर्थिक पत्रकारहरुको माझमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक रहेको पुष्टि गरेको छ । राष्ट्र बैंकले समस्याका चाङ छन् तर ती विगतदेखि थुप्रदै आएको पनि स्पष्ट पारेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले परनिर्भरताकै कारण बढ्दो आयातले देशको अर्थतन्त्रमा चुनौती थपिएको बताएका छन् । अकल्पनीय रुपमा आयात बढ्न जाँदा बाध्य भएर आयातजन्य कर्जामा रोक लगाउनु परेको पनि गभर्नर अधिकारीले प्रष्टिकरण दिएका छन् ।
देशको निर्यात सक्दै जाने र ‘आयात उच्च हुँदै जाने गरेकाले तरलता अभाव हुँदै गएको अधिकारीको भनाइ रहेको छ । अहिले त देशमा शोधनान्तर घाटा हुने देखि विदेशी मुद्रा सञ्चितिमा समेत निकै गिरावट आएको’ गभर्नर अधिकारीको प्रष्टिकरण रहेको छ । यो समस्यालाई थोररै भए पनि सन्तुलनमा ल्याउनका लागि ‘केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिनु परेको’ अधिकारीको दाबी छ ।
अर्थतन्त्र पुनरुत्थानको क्रममा विदेशबाट आयात र स्वदेशमा कर्जा वृद्धिदर उच्च हुन गएपछि तरलता अभावमा झनै बल पुग्न गएको हो । पछिल्लो समय निर्यातको मात्रा केही बढ्न गएपनि आयातको मात्रा अति उच्च रहेको, यो बीचमा रेमिट्यान्स नबढेको, यसले चालु खाता घाटा गराएको र शोधानान्तर घाटाको स्थिति निकै उच्च विन्दुमा पुगेको राष्ट्र वैंकले बताएको छ । समय क्रमसँगै विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ ।
राष्ट्र वैंकले पेस गरेको यी सबै सूचकलाई अर्थमन्त्री शर्माले ‘भ्रमपूर्ण प्रचार’ को संज्ञा दिएलगत्तै राष्ट्र वैंकले यी सबै सूचक तथ्य र तथ्यांक सहित सार्वजनिक गरेको थियो ।