• मंसिर १२ २०८१, बुधबार

नेपाली कांग्रेसमा नयाँ पुस्ता

पुष ६ २०७८, मंगलवार

हेर्दा सामान्य लागे पनि गम्दा भने साचै केही हेरफेर त भएको छ भन्ने जो कसैलाई पनि अनुभूत हुने पार्टी महाधिवेशन हो– नेपाली कांग्रेसको १४ औं महाधिवेशन । यो नेपाली कांग्रेसको इतिहासमा पार्टी भित्रको केही ठूलो हेरफेर अवश्य हो ।

अहिले मनग्यै रुपमा आवाज उठाउन सक्ने युवा नेताहरु नेपाली कांग्रेस पार्टीको नीति निर्माण गर्ने तहमा आइपुगेका छन् । यहाँसम्म आइ पुग्नका लागि पार्टी नेतृत्वले कमै ध्यान दिएको थियो । तर कार्यकर्ताहरुले यसमा केही गरेर देखाइ दिए ।

पुस्ता हस्तान्तरणको मुद्दा उठाएर नेपाली कांग्रेस नेतृत्वमा नयाँ पुस्ता क्रमशः जम्दै जान थालेको छ । यो नयाँ पनको आभाष पनि हो । २००७ सालसम्म आइपुग्दा तात्कालीन अवस्थामा प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गरेको नेपाली कांग्रेसमा पुराना पुस्ताका नेताहरुको रजगज रहेको थियो ।

कतिपय अवस्थामा त ‘कोइराला परिवार’को पारिवारिक लिगेसीका कारण पनि यसले अरुलाइृ मुन्टो उठाउन दिएको थिएन । यो लिगेसीका विरुद्ध हालका निर्वाचित पार्टी सभापति र तात्कालीन युवा नेता शेरबहादुर देउवाले ‘रिस्क’ नै मोलेका थिए ।

उनले गिरिजाप्रसाद कोइरालासँगको टक्करमा पार्टी नै फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्न पुगेका थिए । फुटाइएको पार्टीलाई प्रजातान्त्रिक भनिनुको अर्थ नेपाली कांग्रेसमा ‘प्रजातन्त्र’ र ‘प्रजातान्त्रिक अभ्यास’ छैन भन्ने आशय लुकेको थियो ।

त्यति बेला नेपाली कांग्रेसले संसदमा हासिल गरेको ११४ सिटमध्ये ३६ शेरबाहादुर देउवाको पक्षमा र ७४ सिट गिरिजाप्रससाद कोइरालाको पक्षमा थियो । यसलाई बाहिर फेर ‘३६ से’ र ‘७४ रे’ भनेर संबोधन पनि गरिन्थ्यो । पछि पार्टी एकता भयो र कोइराला परिवारको पारिवारिक लिगेसी सुशील कोइरालासम्म आएर बिराम लागेपछि देउवा संस्थापन पक्षका रुपमा अघिल्तिर आए । तर उनकै पालामा पनि ‘प्रजातन्त्र’ र ‘प्रजातान्त्रिक अभ्यास’को कुरा उत्तिकै जोडतोडका रुपमा उठ्दै आयो । अहिलेको १४ औं महाधिवेशनमा आएर बल्लतल्ल यसको बारेमा केही बाँध फुट्यो । कोइराला परिवार रहँदा ‘पारिवारिक लिगेसी’ भनी उच्चारण गरिने शब्दाबली फेरिएर नेतृत्वको ‘पुस्ता हस्तान्तरण’ मा आयो ।

यो कार्यान्वयनमा आयो पनि । अहिले नेपाली कांग्रेसमा उपसभापति, महामन्त्री, केन्द्रीय समितिमा युवाहरुको मनग्यै उपस्थिति देखिएको छ । महामन्त्रीमा निर्वाचित युवा द्वय गगन थापा र विश्व प्रकाश शर्मा युवा तथा नयाँ पुस्ताका बाहक हुन् । उनीहरुमा पार्टी विधानले दिएको अवधिबाहेक थप लालसा नजागोस्, आउँदा दिनमा ।

केन्द्रीय समितिमा पनि नयाँ अनुहार उदाएका छन् । उदाएका ती व्यक्तिहरुमा पारिवारिक लिगेसी त देखिदैन । तर भोलिका दिनमा एकातिर ‘कोइराला परिवार’ र अर्कोतिर ‘देउवा परिवार’ भनी हुन सक्ने पारिवारिक लिगेसीमा यी नयाँ पुस्ता टाँसिन थाले भने वास्तवमा प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यास नहुन सक्ने पनि देखिनेछ ।

अबको पुस्ता यस मानेमा सचेत रहनु र तदनुरुप व्यवहार गर्नु जरुरी हुन गएको छ । के अबको पुस्ता लिगेसीको लिग नसमाएर स्वतन्त्र अघि बढ्न सक्ला रु यसका लागि आगामी धेरै अधिवेशनहरु कुर्नु र हेर्नु पर्ने जरुरी छ । तर यसका लागि पहिलो शर्तका रुपमा नयाँ पुस्तामा समयसापेक्ष विचार र संस्कारको विकास हुनु जरुरी छ ।