• मंसिर ११ २०८१, मंगलवार

‘भ’ माने भकारी भरौँ र योमरी खाऊँ

बाह्रखरी पढ्दाको याद आउँछ ‘भ’ माने भकारी तर अहिले भकारीमा धान छैन, अबको पढाइ भनेको ‘भ’ माने भरिया भई ‘ख’ माने खाडीमा जाउँ भन्ने हो, र त देशको अर्थतन्त्र विप्रेषणमा चलेको छ, पेट भने विदेशको चामलमा । कोरोनाले विश्वलाई डल्लो पार्दा नघटेको विप्रेषण यो आवको पहिलो त्रैमासिकमै ओरालो लाग्यो । उब्जनीमा ओरालो त पहिले नै लागेको हो, धान, गहुँ, मकै सबैलाई चाहिने विदेशी रासायनिक मल हो, दुई तिहाईको सरकारले मल आपूर्ति गर्न सकेन, कहिले बंगलादेशबाट अ‍ैँचो, पैँचो भनिदियो, कहिले त आफै कारखाना खोल्ने पनि भनिदियो, देशमा नीति प्रधान नभई नेता प्रधान भएपछि सबैजसो उद्योगधन्दा बत्ती बालेर खोज्नु पर्ने बेलामा मलको कारखानाबाट उत्पादन आउने भनेको मेलम्चीबाट काठमाडौँ धुने भन्ने उखानभन्दा कम हुन्न ।

जिटूजिबाट भारतबाट खरिद गर्दा पनि रेलबाट मल आउन २ सय २६ दिन लाग्छ रे, त्यतिबेला त नेपालीका खेतीमा गहुँ पाक्ने बेला भइसक्ला । कोरोनाको अर्को भेरियन्ट ओम्रिकन जस्तो पत्तै नपाई यहाँ आएर बस्ने होइन र त यो वर्षका लागि सरकारले १५ अर्ब रासायनिक मल अनुदानका लागि बजेट तोकेछ, तर अन्तर्राष्ट्रिय बजारमा भाउ तेब्बर भए पछि १३ अर्ब कृषि मन्त्रालयले अर्थ मन्त्रालयमा पैसा माग गर्दा खासमा दिने रकम त पूरै ३० अर्बको तर यत्रौ पैसा जुटाउने कसोरी ? किसान त चिल्लै हुने भइ हाले ।

भकारी भर्ने बेला मंसिर हो, लगत्तैको पुस भरिलाई धनको महिना भनिन्छ, पशुपतिमा धनुर्मास यतिबेलै मनाइन्छ भने धनको गाथा गाइदै मनाइने विशेष पर्व धान्यपूर्णिमा नेपालीहरुले धनलक्ष्मी भनौँ धान्य पूर्णिमा मनाउँछन्, यसपालि परेको छ पौष ३ गते र ४ गते जुन दिन कृषि कार्यमा सहयोग गर्ने पशु, गोठपूजा गैंडु पूजाको दिन, धनकै महिमा भनौँ काभ्रेको धनेश्वर मेलादेखि उधौली पर्व पनि यसै दिन परेको छ र प्राय नेवारी समूदायले बडो उल्लासका साथ मनाउने पर्व चामलको पिठोमा मरमसला हाली योमरी बनाउने, खाने दिन अर्थात् यो पूर्णिमाको अर्को नाम हो योमरी पुन्ही नेवारी भाषामा ।

मीन अर्थात् माछालाई पनि जाडो हुने, ५० दिनसम्म जाडोको संकेत मीन पचासको समय, घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भित्र्याई वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने दिन मार्ग शुक्लपक्ष पूर्णिमा, हाम्रो धार्मिक र साँस्कृतिक अनुपम धरोहर, ढुंगा देखे पनि पूजा गर्ने हाम्रो संस्कृति विश्वकै अनुपम । लामो समयदेखि नेपालीहरुले धानको भकारी भर्न पाएका छैनन्, कृषि उब्जनीमा लाग्ने हातहरु खाडीतिर, खुट्टाहरु राजनीतिको झोला बोकी महाधिवेशनतिर लागेका छन्, र त देशमा हरेक दिन चुनावी माहोल बन्छ, खेती र किसानी माहोल बन्दैन, कुनैबेला हामी धान चामल निर्यात गथ्यौँ, अहिले राजनैतिक दर्शनहरु, आप्mनो माटो सुहाउँदो दर्शन यहाँ छैन र त यहाँ विदेशीहरु खूब घुम्छन् ।

जनता सुक्ने नेता फुक्ने दर्शन छ यहाँ । एउटै दलको महाधिवेशनमा ३० करोड खर्च भयो रे ! अर्को पर्व पनि छ हाम्रो यसै दिन दत्तात्रय जयन्ती, भक्तपुरमा युगिन इतिहास बोकेको यसको मन्दिर पनि छ यहाँ ठूलै मेला लाग्छ । साँच्चै हामी त छोटा मोटा कपडा लगाएर  आफूलाई सभ्य र पारदर्शी पनि बनाउँन रुचाउँछौ । यहाँ अनौठो प्रसंग छ, अंग प्रदर्शनसँग जोडिएको विषय, कुरा सत्य युगको हो । संसारको कार्यकारी शक्ति आफ्नै हातमा लिएका लक्ष्मी, सरस्वती र पार्वतीका बीच एकपटक इष्र्या भएछ,  आफू भन्दा पतिव्रता पृथ्वीमा ऋषि अत्रि पत्नी अनुसूयाको चरित्र देखेर र ती तीन जनाले नै आआप्mना पतिदेवहरुलाई भनेछन्, अनुसूयाको पतिव्रता परिक्षण गरेर आउनू भनेर । पत्नीले भनेपछि एस म्यान हुने चलन हाम्रो सत्ययुग देखिकै हो, कैकेयीको प्रसंगमा दशरथले रामलाई बनबास, उठिबास लगाएकै हो ।

विश्व अधिपति ब्रह्मा, विष्णु, महेश अनुसूयाको आँगनमा पुगे, योगीको भेषमा र भने भवति भिक्षा मे देहि । पतिदेव आश्रममा थिएनन्, ढोकामा आएकालाई केही नदिई नपठाउनू भन्ने हाम्रो धर्म हो । भिक्षा लिएर आइन् उनी, तर ३ योगीले एकै स्वरमा भने, ‘दिने भए आधा जीउ नाँगो गरेर भिक्षा देऊ, नदिने भए फिर्ता जान्छौँ’ अनुसूयालाई आपत् परिहाल्यो, सोचिन् तुरुन्तै र भनिन्, ‘भित्र आउनूस् योगीहरु, सकेको भिक्षा तपाइँहरुको चाहना अनुसारै दिन्छु’ । उनले थालको भिक्षा भूइँमा राखिन्, आश्रममा रहेको लोटाको पानी छम्कँदै भनिन् ‘यी तिनै जनालाई बच्चा बनाऊ हे भगवन्’ । पतिव्रताको आदेश मान्नु पर्ने ईश्वरको कानुन हो, ती ३ जना नै बच्चा भई च्याहाँ च्याहाँ गर्न थाले, भिक्षाका नाममा अनुसूयाले अर्धनग्न भई स्तनपान गराइन्, अहिले पनि बच्चाहरुले आमाको स्तन पान गर्दा हेर्दै पान गर्छन् र अर्को हातले स्तन समात्ने गर्छन् । पतिहरु बच्चा भई स्तनपान गर्दै रहेको खबर ३ देवीहरुकहाँ पुग्यो र पृथ्वीमा झरेर उनीहरुकै आग्रहमा ३ देवता यथावत फिर्ता भए तर तिनको अंश अर्थात् त्रिदेवको स्वरुप हो दत्तात्रय र यिनकै नाममा जन्म जयन्ती मनाइन्छ ।

ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त नाम हो भगवान दत्तात्रेय । अत्रि पत्नी अनुसूयाको तपोवल र सतीत्वको बलले त्रिदेवले दत्तात्रयको रुप लिनु परेको हो । यिनको शिक्षा अवधूत गीताले आज विश्व वजार पाएको छ भने गुरु दत्तात्रेयद्धारा व्यास पुत्र शुकदेव परमहंस बनेका थिए, जसले कलिको आरम्भमै राजा परिच्छितलाई भागवत श्रवण गराएर मुक्ति दिलाए । दत्तात्रयकै देनले वीर सहश्रार्जुन राजा चक्रवर्ती बने, भरतखण्ड भारतवर्षमा ! कृषि, गोरक्षा, पशुहरुको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको यस पूर्णिमामा नेपालीहरुका अधिकांश गाउँघरमा गोठपूजा गरिन्छ । साहृा जीव जन्तु ईश्वरका सन्तान हुन्, मनु महाराजका अंस र वंश हुन्, कागदेखि सर्पसम्मलाई सम्मान गर्छन् र त धान रोपाइँ गर्ने दिन खेतको आलीमै कपासको प्यूरी समेत राखेर नागको पूजा गर्छन्, सहकालका देवता भन्दै मत्स्येन्द्रनाथको पूजा गर्छन्, नागपोखरी, सुन्धाराका नागदेवता, टौदहको नागदह, पशुपतिको बासुकी नाग, शिवगलाको नागमणि सबैलाई पूजा गर्छन् । किसानहरुले धान भित्र्याएपछि धानको भकारीमा कुवेरको प्रतीक बिमिरो राखी धान्यलक्ष्मीको पूजा गर्थे पहिले ।

हिजोआज खेतको खलाबाटै मोलतोल गरी बजारमा पठाइने गर्नाले धान भनौँ लक्ष्मीको सह भएको छैन र २ किलो चामल बजारबाट झोलामा प्याक् गरी त्यो पनि स्कुटीमा राखेर कोठामा ल्याउने गरिन्छ । नाङ्लो, डालो, खेत, बारी, भकारी, नाम्लो, डोको, ढिकी, जाँतो, घट्ट, चोया, निगालो, बाँस, बाबियो, गोठ, गहुँत, गोबर आदि शब्द अब शब्दकोषमा सीमित छन् । लक्ष्मी र गणेशको पूजा गरी धान्य पर्वत दान गर्ने समेत चलन भएको यो दिनलाई कसले सम्झने ! यसै दिन सामूहिक रुपमा मान्छेको उचाइ बराबर मौलो राखी वरिपरिबाट धानको पहाड लगाउनाले धनको वर्षा हुने मान्यता रहेको कसले बुझ्ने ?

नेवारी समुदायमा योमरी पुन्हीको नामले प्रचलित यो चाडमा आफन्तहरु बोलाउने, आ–आफ्ना धनसारमा धानको थुप्रोमा चामलको पिठोको लक्ष्मी, कुमार, गणेश बनाई पूजा गरी योमरी चढाउने गरिन्छ । योमरी बनाउँदा शंख आकारले बनाइन्छ । भित्रपट्टी शख्खर, मास, तिल, मुगी, केराउ पिँधेर चामलको पिठोमा हालिन्छ । केटाकेटीहरुलाई योमरी माग्न पठाउने गरिन्छ । योमरी दिनेलाई आशीर्वाद दिइन्छ–‘चुच्चो भएको योमरी देऊ’, ‘खूब मिठो मानी  खान्छौं’, ‘शक्ति सम्पन्न भई सँधै तिमी तरुनी भइरहनु’ भन्ने आशीर्वाद दिन्छन् । वर्षैपिच्छे बच्चाहरुको जन्म दिन योमरीको माला पनि आमाहरुले लगाइदिने चलन छ ! योमरीलाई देवदेवी सम्झी चार दिनसम्म धानको भकारीमा राख्ने गरिन्छ । जाडो मौसममा योमरी भित्र रहेको मासु, तिल, सक्खर, चाक्कु, मुगी, केराउ यी पदार्थले स्वभावैले गर्मी जगाउँछन् ।

हाम्रो शरीर पृथ्वीको ऊर्जा सन्तुलनबाटै संचालन हुने हो । योमरीको आकार दुईतिर चुच्चो हुन्छ, पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धको प्रतिक । गोलाकारलाई पृथ्वीको रुपमा हेरिन्छ । यस भित्र रहेको तिल र चाकुदेवी शक्तिको प्रतिक मानिन्छ । मासुचाहिँ गणेशको र मासलाई कुमारको प्रतिक मानिन्छ । माछा मासु नखानेहरुले तिल, मास, केराउ, चाकु आदि राख्ने गर्छन्, कृषि पेशासँग सम्बन्धित हो यो । धानको भकारी भर्ने बेला अहिले नै हो । धेरै पहिले हाम्रो काठमाडौँ उपत्यकामा खनजोत गर्नुहुँदैन, गरेमा अनिष्ट हुन्छ भन्ने विश्वास अनुरुप केही उब्जनी गरिंदैनथ्यो । एकजना आँटिलो लठेब्रो, परिवार कोही नभएको व्यक्तिले जे पर्ला भनी खनजोत गर्न थालेछ । बाली राम्ररी उब्जाएछ । उसलाई केही भएनछ । वीर उसको मृत्युपछि उसको नामै बलभद्र राखी उसको मूर्तिमा योमरी चढाउने गरिएकाले योमरीको चलन चलेको हो ।