जीवन एउटा सिर्जनात्मक अभिव्यक्ति हो । जीवन हेर्ने पद्धति हो । जन्मेदेखि मर्ने अवधि बीचको सिर्जनालाई उत्कृष्टतातिर लगेर ज्यूनु नै मानव जीवन हो ।
जस्तै बालक अवस्था चाँदी, जवानीको अवस्था सुन र बृद्धावस्था हिराजस्तो हुनुपर्छ। त्यसको लागि जीवन निरन्तर सिर्जनात्मक हुनुपर्छ । जीवनशैली राम्रो भएर उमेरसँगै अहोभाव आउनुपर्छ । त्यो जीवन जिएको परिभाषा हो ।
मानव जीवनको महत्वलाई निश्चित परिधि र घेरामा हेर्न सकिन्न । यो असिमित छ । अर्को जीवन आउँछ, आउँदैन भन्नेमा विवाद छ । सम्पूर्णतामा उपयोग गर्नु नै जीवन हो । शारीरिक मानसिक र अध्यात्मिकतामा हरक्षण उन्नत गराउँदै लैजानु जीवनको कार्य हो ।
मलाई लाग्छ मानवीय दुःखीको कारण जीवन जिउन नजानेर हो । मानिस जहिले सुख खोज्छ । जे पनि खोज्छौँ सुखको लागि भनेर तर झन् झन् दुःखी भइरहेका छौं । यो हुनु सुखको मूल्य चिन्न नसक्नु र बेहोश जीवनशैलीको कारण हो ।
चेतनाको नजिक हरक्षण रहयौं भने सुखी हुन्छौं । वस्तुमा सुख खोज्यौं त्यसकारण दुःख पायौं । परिवार, घरवार पैसा केले सुख पाइन्छ ? वस्तुले सुविधा दिन्छ, सुख दिँदैन । जीवनभित्रबाट बग्ने सुख, आनन्दमा डुबुल्की मार्न सकेनौं । ज्युन सिक्यो भने सुख छ ।
काममा सफल बन्न यी कुरामा ध्यान दिनुपर्छ अहङकार, महत्वाकंक्षा र प्रतिस्पर्धालाई छोडेर लगातार निस्काम कर्मयोग गर्ने मान्छे संसारमा सधैँ सफल हुन्छ । प्राप्तिलाई पहिलो उद्देश्य सोच्नु हुँदैन । साक्षीभाव भएर काम गर्नुपर्छ । काम गर्दा न त त्यसमा टाँसिने न त त्यसबाट उछुट्टीने नै । असल हुनुपर्छ । सफलताको कुञ्जी असफलताबाट सुरु हुन्छ ।
काममा पाँचवाट गुण (श्रम, सिप, समय, सदाचार र साधना हुनुपर्छ ।) शारीरिक रुपमा गृहस्थ र रुपमा सन्यास हुनुपर्छ । शरीर गृहस्थको जस्तो सदा श्रमशिल, मन सन्यासीको जस्तो कुनै कुरामा पनि नटाँसीएर अगाडी बढेको हुनुपर्दछ । आफ्नै अन्तर अध्ययन गर्नुपर्दछ । चिन्ता आफैं जान्छ भन्ने सोच्नु पर्दछ । सुरुका दिनमा चिन्ता पर्दा ध्यान र योगका पाटाहरुमा लगाउनु पर्दछ ।
(योग एवं प्राकृतिक चिकित्साका विज्ञानका वरिष्ठ विशेषज्ञ डा.हरिप्रसाद । मान्सग्नी प्राकृतिक चिकित्सालय भीमसेनगोला, काठमाडौं ।)