काठमाडौं । नेपाल मदिरामैत्री देश हो । तर केही समय पहिलेसम्म धर्म र कर्मकाण्डअनुसार जनैधारीहरुले मदिरा खान त के छुन पनि हुँदैन थियो । कहिलेकाँही नाकमा गन्धसम्म परेमा सुनपानी र पातीले धोएर नाकमुख सफा गर्नु पर्दथ्यो ।
यसलाई चोखिने भन्ने चलन थियो । तर अहिले दैनिक कुखुराको सपेटाले दाँत माझ्ने र मदिराले कुल्ला गर्ने दिन आइसकेका छन् । नेपाल कानुनी रुपमा लाइसेन्सवाला विदेशी रक्सीको खुल्ला बजार बनिसकेको छ । भित्रभित्र भने घरेलु उत्पादनको बन्द बजार पनि कायमै छ ।
राजनीतिक दलहरुको घोषणा पत्र, सरकारका ऐन कानुन, संघ/संस्थाहरुको नीति र कार्यक्रम कतै न कतै मदिरा विरोधी हुन्छन् । तर नेता, मन्त्री र संस्थाका मानिसहरु तिनै मदिराले आफूलाई दैनिक शेचन गरिरहेका हुन्छन् ।
ओली सरकारका पालामा सिंगो राज्यसत्ता नै होलिवाइनमा चुर्लुम्म डुबेर तीन दिनसम्म सिंहदरवारका काम हेडक्वाटर नै सारेर होटल सोल्टीबाट सञ्चालन गरिएको थियो । तर संविधानतः र कानुनतः नेपालमा मदिरा निषेधित छ ।
मदिराका लागि नेपाल अन्तर्राष्ट्रिय बजार हो । यहाँ डलर तिरेर ल्याइएका विभिन्न लेबलका रक्सीहरु जहाँतहिं पाइन्छन् । यसको खुल्लमखुल्ला बिक्रि वितरण गरिन्छ । यसबाट आएको राजस्वले सरकार पाल्ने काममा सघाउँछ । तर स्थानीय रक्सी प्रतिबन्धित छ, किनकि यसले सरकार पाल्ने काममा सघाउँदैन ।
विदेशी डलरवाले रक्सी खुल्ला गर्न र घरेलु रक्सी प्रतिबन्ध लगाउन आन्तरिक राजस्व विभागका हातमा डण्डा सुम्पिएको छ । यसलाई जिल्लाका सन्दर्भमा सिडिओसाप आफैले प्रशासनिक तवरले हेर्ने गर्दछन् ।
तर मदिराको विज्ञापन खुल्लमखुल्ला आइरहेका छन् । यी विज्ञापन प्रिन्ट मिडिया, सोसल मिडिया र डिजिटल मिडियामा छाएका छन् । अब त जाडो याम पनि सुरु भैसकेको छ । यसले पनि डलरवाले मदिराको खपतमा बढोत्तरी ल्याउँदै गरेको छ ।
देश अब आर्थिक रुपमा धराशायी हुँदैछ । डलरमा मदिरा किनेको ट्याक्सले सरकार चल्ने बेलामा मदिराको मूल्यमा खर्चिएको कूल पुँजीले देशको अर्थतन्त्र फेलर हुने अवस्थालाई ठूलो सहयोग पुर्याइरहेको छ । यसका बारेमा चारैतिर चिन्ता पनि व्यक्त गरिएको छ ।
अहिले कोरोना महामारीको संक्रमण फेरि बढ्दो छ । ओमिक्रोन नामक नयाँ उत्परिवर्तित भेरियन्टले विश्वमा तहल्का मच्चाएको छ । नेपालमा एउटा अज्ञानताले ठूलै काम गरेको छ । त्यो हो, रक्सिले स्यानिटाइजरको काम गर्छ, त्यसैले पनि रक्सी पिउने मानिसलाई कोरोना संक्रमण हुने संभावना कम हुन्छ ।
तर कोरोना संक्रमित बिरामीले रक्सी पिइदियो भने उसलाई महामारी संक्रमण अति जटिल हुन गै भेन्टिलेशनसम्म पुर्याउनु पर्ने त्यहाँबाट फर्कने सम्भावना कमै हुन्छ । नेपालको जनस्वास्थ्यमा यो चेतना निकै कमी छ ।
सरकारले पनि ट्याक्स हेर्ने होइन, बरु रक्सीका कारण बिग्रन गएको जनस्वास्थ्यका कारण राज्यले वर्षेनी कति खर्चनु परिरहेको छ र जनतामा रहेको पैसा कहाँ पुगिरहेको छ । यसको गम्भीर रुपमा हेक्का राख्नु पर्छ । यसका लागि शरीर, सम्पत्ति र स्वास्थ्य पहिलो कुरा हो भनेर जनतालाई बुझ्ने भाषामा सिकाउनु पर्छ ।
रक्सी सेवनले राज्य र उपभोक्तालाई घुमाउरो रुपमा ठूलो मार परिरहेको छ । रक्सी आफैमा रोगको कारण बनिरहेको छ । लाइसेन्सधारी डलरवाला रक्सीले असर नपुर्याउने र स्थानीय रक्सीले मात्र असर पुर्याउने भन्ने हुँदैन ।
नेपाल विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र हो । विश्व स्वास्थ्य संगठनले मदिरा निषेधको नीति लिएको छ । त्यसैले करको लोभमा जनतालाई रक्सी खुवाएर देशमा राजस्व उठाउने नीतिमा सरकारले पुनर्विचार गर्नु जरुरी छ ।