• कार्तिक ८ २०८१, बिहीबार

भो मलाई चाहिन्न जन्मदिनको शुभकामना

पुष ३ २०७८, शनिबार

भो मलाई चाहिंदैन
जन्मदिनको शुभकामना
भो मलाई चाहिंदैन
जन्मदिनको शुभकामना ।
भो कसैले नदिनू
मलाई मेरो जन्मदिनको शुभकामना
वर्षौं वर्ष शुभकामना पाएँ
लाखौंलाख शुभकामना खाएँ
पटकपटक फेसबुक भराएँ
र खातैखात खादा लाएँ र उपहार पाएँ
तर खै त ?
तर खै त किन
झन् पछि झन् विचल्ली भै
विरह, वेदना र व्यथाले व्यथित भएँ
त्यसैले म त भन्छु
भो मलाई चाहिंदैन
जन्मदिनको शुभकामना ।
भो कसैले नदिनू मलाई
मेरो जन्मदिनको शुभकामना
गतसाल मात्रै स्वस्थ र सुखी रहनू भनी
कति धेरै शुभकामना पाएको थिएँ
तर यसै साल म त झन् सख्त बिरामी पो परें
र पाउनुसम्म दुख पाएँ
त्यसैले म त भन्छु
भो मलाई चाहिंदैन जन्मदिनको शुभकामना
भो कसैले नदिनू मलाई
मेरो जन्मदिनको शुभकामना ।

शुभकामना मनबाट नभएर मुखबाट आएर हो ?
वा हार्दिकताका साथ न आएर हो ?
अथवा औपचारिकतावस आएको भएर हो ?
त्यति धेरै शान्ति–समृद्धिका कामनाहरु पाएर पनि
कलह र सलहले तन, मन र धन झन् सिद्धिएको छ
र दिनप्रतिदिन ऋण र दीन पो
झन् झन् वृद्धि भएको छ
त्यसैले त म भन्छु
भो मलाई चाहिंदैन जन्मदिनको शुभकामना
भो कसैले नदिनू मलाई
मेरो जन्मदिनको शुभकामना ।
भो मलाई चाहिंदैन मुखको लोलोपोतो
भो भो चाहिंदैन खाना र नानाको पोकोसोको
दिने भए मलाई दिल देऊ र दिमाग देऊ
सद्भाव देऊ र सहारा देऊ
अन्यथा
अन्यथा
भो मलाई चाहिंदैन जन्मदिनको शुभकामना
भो कसैले नदिनू मलाई
मेरो जन्मदिनको शुभकामना ।

(कविको भोली ४ पौषको जन्मदिनको सन्दर्भमा ।)