• मंसिर १२ २०८१, बुधबार

लोकतान्त्रिक यात्रामा विरासतको लडाइँ

पुष ३ २०७८, शनिबार

नागरिक समाजमा प्रतिस्थापित रहनु पर्ने न्यायिक संबैधानिक राजनीतिक अधिकारमा आएको न्यूनता परिपूर्तिका लागि राजनीतिक लडाइँहरु हुने गरेको तथ्य जगजाहेर रहेको छ । प्रस्तुत राजनीतिक दर्शनको गतिशीलतामा नेपाल पनि अछुतो रहन सक्दैन ।

जब राजनीतिक लडाइँले सफलाउन्मुख लक्ष्य प्राप्ति गर्दछ, तत्पश्चात सम्बद्ध राज्य ब्यवस्थामा लोकतान्त्रिक शासन पद्धतिको विजारोपण हुने सफल लोकतान्त्रिक मूल्य मान्यताहरु हुन् । परिणामतः लोकतन्त्रको सुखानभूति दिलाउँदै अब्बल जीवनयापनको लागि नागरिक समाजलाई डोर्याएर लग्न सक्ने सुझबुझ सहितको सफल अगुवाको आवश्यकता पर्दछ ।
नेतृत्वदायी भूमिका निर्वाह सक्ने सक्षम एवम् सबल ब्यक्तित्व नै राजनेताको रुपमा गणना हुने राजनीतिक दर्शनसमेत हो भन्दा फरक नपर्ला । नेतृत्वदायी समुहमा आवद्ध रहन चाहने जो कसैले पनि ब्यक्तिगत वा समुहगत लाभहानीभन्दा माथि उठी विश्वप्रचलित लोकतान्त्रिक विधिहरुलाई आत्मसात् गर्न सक्ने प्रतिवद्धता जाहेर गर्नुपर्ने हुन्छ ।

विपरित अवस्था कायम राख्दै राजनीतिक नेतृत्वलाई वंशवादको अवधारणा अनुसार विरासत कायम राख्ने नाममा निरन्तरता दिन खोज्ने संस्कृतिलाई लोकतान्त्रिक विधि अनुरुपको पद्धतीय कार्य मान्न सकिंदैन । विरासदवादको निरन्तरता कायम राख्दा मूलतः दुई अवस्था प्रारम्भ हुनेछ ।

पहिलो अवस्था भनेको सम्बद्ध मुलुकको राष्ट्रिय राजनीतिमा पारिवारिक मूल्यमान्यतालाई प्रश्रय प्रदान गर्दै भावि सन्ततिको राजनीतिक स्थायित्वका लागि आवश्यक पर्ने नीति नियम देखिन अनेकन प्रपञ्च लगायतका षड्यन्त्रमूलक कार्यलाई प्राथमिकतामा राख्नु वा राख्ने प्रयास गरिनु हो ।

एवम प्रकार पुस्तान्तरको सिलसिलामा अघिल्लो पुस्ताले गरेको कार्यलाई सम्भव भए सम्बद्ध समूहको नामलाई समेत नगदको रुपमा रुपान्तरण गर्ने वा गर्न चाहने नियति नै विरासतीय पद्धतिका अनेकन रुपहरु हुन्, जसमा विशेषगरी राजनीतिक समूहको सन्तान भाइछोराका अतिरिक्त विवाह गरेर भित्र्याइएको अन्य सदस्यहरु पनि समाविष्ट हुन सक्ने देखिन्छ ।

किन कि कायमी विरासतलाई चिरकालपर्यन्त राख्ने चाहनाले मात्र पनि राजनीतिको क्षेत्रमा अहमताको अभिवृद्धिभई निरंकुशताको जन्महुन सक्ने प्रवल सम्भावनालाई मध्यनजरमा राखी सुझबुझका साथ अगाडि बढ्नु सफल राजनीतिक गन्तब्य मान्न सकिन्छ ।

प्रस्तुत सन्दर्भमा ऐतिहासिक पृष्ठभूमिलाई केलाएर अध्ययन गर्ने हेर्ने हो भने विरासतीय दृष्टिकोणबाट अभिप्रेरित रहँदै प्रधानमन्त्रीय वंश परम्परालाई नेपालको राष्ट्रिय राजनीतिमा एकछत्र कायम रहोस् भन्ने दुष्प्रवृत्ति हाबी गराई राणा प्रधानमन्त्री जङ्गबहादुरले षड्यन्त्रमूलक राजनीतिमा सहकार्य गरे वापतको पारितोषिक स्वरुप राणा प्रधानमन्त्रीय विरासतलाई भाई–भाइमा वशं परम्पराअनुरुप पद्धतीय ब्यवहारलाई क्रमबद्ध रुपमा स्थानान्तरण हुने परिपाटीको विकास गराएको पाइन्छ ।

विरासतको आडमा रहेको राजनीतिलाई बिमुख पार्नको लागि लोकतान्त्रिक समुहको प्रतिनिधित्व गर्न चाहने तात्कालिन युवागणले वि.सं. १९९७ सालमा सुषुप्त रुपमा प्रजापरिषद् नामको राजनीतिक संस्था दर्ता गरी सोको अगुवाईमा लोकतान्त्रिक अभ्यासलाई जारी राखेकै कारण अन्ततः वि.सं. २००७ मा मुलुकमा प्रजातन्त्रको सुत्रपात भएको हो ।
आरम्भमा राणा एवम् नेपाली नागरिक समुहको समान–समान प्रतिनिधित्व रहने गरी लोकतान्त्रिक अभ्यासको साथै केहि समयका लागि भए तापनि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासको चाहना गरे तापनि लोकतन्त्रको सुखानुभूति नेपाली जनमतले हासिल गर्न सकेन भन्दा फरक नपर्ला ।

तत्पश्चात वि.सं. २०१५ सालको लोकतान्त्रिक चुनावमार्फत् नेपाली काग्रेसले संसदको कुल सदस्य संख्या १०८ सिटमध्ये ७४ सिट सहितको दुइतिहाई मत प्राप्त गरी जननेता विपी कोइरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासमा अभ्यस्त रहने अवसर प्राप्त गरेको थियो ।

दुभार्गवश वि.सं. ०१७ को राजनीतिक परिवर्तनले नागरिक सम्प्रभुतामाथि हिलो छाप्ने दुष्प्रयास गरेको हँुदा लोकतान्त्रिक यात्रामा समेत क्रमशः ग्रहण लाग्न गई अन्तत दलमाथि प्रतिवन्ध लागेको हो । नेपालको राजनीतिमा कोइराला परिवारको विराससतलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा कालसम्म पनि राम्रै गतिशीलता हासिल गरेको देखिन्छ ।

योग्य एवम् दुरदर्शी राजनेताका साथ विरासत कायम रहने हो भने त्यसलाई कुनै पनि हालतमा अन्यथा मिल्दैन । अपवादबाहेक विपी कोइराला तथा गिरिजाप्रसाद कोइरालाले राष्ट्रको राष्ट्रिय राजनीतिमा गर्नु भएको अतुलनीय एवम् अमूल्य योगदानलाई कुनै पनि हालतमा अवमूल्यन गर्न भने मिल्दैन ।

यदि उहॉहरुको सवल नेतृत्वदायी भुमिकाको अभाव रहेको भए मुलुकमा लोकतन्त्रको सम्बद्र्धन, प्रबद्र्धन तथा विकासमा सफलता प्राप्त गर्न कठिन हुने थियो भन्न सकिन्छ । किनभने मुलुकमा राष्ट्रिय मेलमिलापको नीतिलाई अङ्गिकार गर्नुबाहेक अर्को कुनै उपयुक्त विकल्प तात्कलिन समयमा रहेको छैन भन्ने विपीको मनमा लागिसकेको थियो ।

यही राजनीतिक तथ्यलाई मनन गर्दै जननेता विपी कोइरालाले आफ्नो भारतीय निर्वासित जीवनलाई परित्याग गर्दै स्वदेश फिर्ता भएपश्चात् नेपालको राजनीतिमा तरङ्ग पैदा भई परिणाम वि.सं. ०३७ जेष्ठ १० गते का दिन बहुदलीय लोकतान्त्रिक पद्धति वा निरंकुश पञ्चायती ब्यवस्थामध्ये कुन चाहि पद्धतीय ब्यवहारलाई मुलुकमा समाहित गर्ने भन्ने सन्दर्भमा विश्वविख्यात जनमत संग्रहसम्बन्धी विधिलाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक उपभोग गर्न पाएको तथ्यलाई कुनै पनि हालतमा बिर्सन मिल्दैन ।

प्रस्तुत तथ्यलाई आधार बनाइ राजनीतिक लडाइँ जारी राखेकै कारण वि.सं. ०४६ को राजनीतिक परिवर्तन एवम् ०४७ को संवैधानिक राजतन्त्र एवम् बहुदलीय प्रजातान्त्रिक संविधान प्राप्त गर्न सक्षम भएको हो । जसमा विशेष गरी कोइराला परिवारको विरासतको अतिरिक्त सर्वमान्य नेता गणेशमान सिंह तथा मनमोहन अधिकारीको भूमिकालाई नेपाली जनमानसले सधैं सम्झिरहने छ ।

तत्पश्चात् सशक्त द्वन्द्वरत पक्ष नेकपा माओवादीलाई शान्तिप्रक्रियामार्फत् सम्मानपूर्वक अवतरण गराउँदै लोकतान्त्रिक प्रक्रियाप्रति वचनबद्ध रहँदै प्रतिस्पर्धात्मक राजनीतिमा समाहित गराउनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकालाई कम आकंलन गर्न पनि मिल्दैन ।

यद्धपि आगामी निर्वाचनको सन्दर्भमा विरासतकै आधारमा रहने परम्पराको विकास गर्ने हो भने सफल लोकतान्त्रिक परीपाटीको विकास नहुन पनि सक्दछ । किनभने सबै योग्य पिताका योग्य पुत्र रहन सक्छन् भन्ने कुरामा द्विविधा उत्पन्न हुन सक्ने भएकै कारण विरासतको भूमिकालाई क्रमशः न्यून गर्दै दुरदर्शी राजनेताको छनौट गर्नु आजको आवश्यकता हो ।
प्रस्तुत नकारात्मक प्रभावको जालोमा नेपाली काग्रेस मात्र नभई अन्य लोकतान्त्रिक समुह पनि अछुतो रहन सकेको पाइँदैन । लोकतन्त्रको विकासमा विरासतको प्रणाली कायम राख्ने हो भने सफल लोकतान्त्रिक यात्रामा मुलुक अगाडि बढ्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठनेछ ।

यस प्रकारको ब्यवहारको विकास हुनुमा मूलतः शैक्षिक एवम् राजनीतिक जनचेतनको अभाव तथा प्रलोभनको आधारमा योग्य राजनेताभन्दा पनि हाम्रो मान्छेलाई चुनावमा विजयमाला पहिल्याउने संस्कृतिले निम्ताएको सबैभन्दा खराब परिसूचकको रुपमा यस प्रकारको क्रियाकलापलाई लिन सकिन्छ ।

यस अतिरिक्त अवस्था हेरी राजनीतिक रङ्ग बदल्दै अवसरवादीतालाई कायम राख्ने प्रवृति विकासले सम्बद्ध क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सक्दैन । राजनीतिमा विरासदलाई हावि गराउने पद्धति नेपालमा मात्र नभई भारतमा समेत कायम रहेको तथ्यहरुले प्रमाणित गरिसकेको छ ।

प्रस्तुत ब्यवहारको विकासमा कुनै कारणवश ब्यवधान सिर्जना भए हिंसाजन्य परिस्थितिको निर्माण हुने हँुदा स्वस्थ्य राजनीतिक प्रतिस्पर्धामा समेत गतिरोध उत्पन्न हुने देखिन्छ । जसका कारण धेरैहदसम्म नगदजन्य ब्यवहारको अभिवृद्धि भई जनहितभन्दा ब्यक्तिगत स्वार्थपूर्तिका लागि राजनीतिलाई उपयोग गर्ने परम्पराको विकासले विरासतको राजनीतिमा पारिवारिक आपसी मनमुटावको बृद्धि भई एक अर्को समूह प्रति अविश्वासको मात्रा बढ्न गई राजनीतिक उग्रतामा नागरिक समाज पिल्सिने सम्भावना पनि जीवन्त रहन्छ भन्दा त्यति अत्युक्ति नहोला ।