• मंसिर १८ २०८१, मंगलवार

लिन प्याओ को थिए ? जो माओको हत्या गर्ने योजना बनाइरहँदा हेलिकोप्टर दुर्घटनामा आफै मारिए

पुष ३ २०७८, शनिबार

चीनमा भएको राजनीतिक परिवर्तनमा त्यहाँ भएको जनयुद्धले निकै ठूलो भूमिका रहेको छ । चीन आजको विश्व राजनीति, अर्थनीति तथा शसस्त्रिकरणमा पनि सोही जनयुद्धले ठूलो भूमिका खेलेको कुरामा दुविधा छैन । चीन आजको विश्वमा जुन नेतृत्वदायी अवस्थामा रहेको छ यसमा माओ त्सेतुङको नेतृत्वमा भएको जनयुद्धको सफलताका पछाडि त्यहाँ स्थापना भएका आर्थिक लगायतका आधारहरु नै हुन् । त्यसकारण चीन र चीनियाँ जनताको सयौं वर्षको कष्टकर जीवनबाट सुविधा सम्पन्न जीवनमा रुपान्तरण हुनुमा त्यहाँका नेताहरुको के कस्तो भूमिका रह्यो भन्नेमा धेरैलाई उत्सुकता जाग्नु स्वभाविकै हो ।

यसैबीच आजको अंकमा हामीले चीनका सर्वमान्य नेता माओ र उनका उत्तराधिकारी लिन प्याओबीच भएका आपसी षड्यन्त्र र मारामारका बीच पनि कसरी त्यहाँको राजनीति आज विश्वको सर्वशक्तिमान ठानिएको अमेरिकालाई समेत माथ गर्नेगरी विकास गर्यो ? उनीहरुका बीचमा के कस्ता विवाद र लडाइँहरु भएका थिए त ? भन्ने बारेमा जानकारी दिने प्रयास गरिनेछ । लिन प्यायो चिनियाँ जनमुक्ति सेनाका धेरै कमान्डरमध्ये एक थिए । उनलाई चिनियाँ जनमुक्ति सेनाभित्र चु तेह र पेङ्ग तेहुई पछिको तेस्रो प्रभावशाली व्यक्ति मानिन्छ ।

लिन प्याओले कोमिन्ताङ्ग शासन विरुद्धको निर्णायक लडाइँमा लालसेनालाई नेतृत्व गर्दै राजधानी पेकिङ्ग कब्जा गरेका थिए । त्यस्तै उनले याङ सी नदि तर्दै तटीय क्षेत्रबाट च्याङ काइ सेकका सेनाहरुलाई दक्षिणी चीनको तटीय क्षेत्रतिर लखेटेका थिए । लिन प्याओ युद्दको सुक्ष्म योजना नबनाई हतारमा आक्रमण गर्न मान्दैन थिए । एकचोटी माओले भनेका थिए बरु,‘म गाईलाई उफारेर पर्खाल नघाउन सक्छु तर लिन प्याओलाई कतै आक्रमण गर्न मनाउन सक्दिन ।’ लिन प्याओले कोरिया युद्धमा चीनले भाग लिने कुराको सुरुमै बिरोध गरेका थिए । उनले कोरियामा चिनियाँ जनमुक्ति सेनाको नेतृत्व गर्न समेत अस्वीकार गरे । जसका कारण त्यहाँ मार्शल फङ तेहुई जानु पर्यो ।

दुब्ला, पातला र रगत नभएको जस्तो सेतो अनुहार भएका लिन प्याओ अनेक किसिममा रोगबाट ग्रसित थिए । उनलाई जापान बिरुद्धको मुक्तियुद्दको क्रममा आफ्नै सेनाले झुक्किएर गोली हानेको थियो । जसले उनको टाउकोलाई छुँदै गएको थियो । घोडामा चढेका लिन प्याओ नराम्रोसँग भुइँमा बजारिए र उनको ढाडमा गम्भीर चोट लाग्यो । त्यस्तै लिन प्याओ टीबी रोगबाट पनि ग्रसित भएका थिए । त्यससमय उनको उपचार सोभियत संघमा गरिएको थियो ।

यसका साथै लिन प्याओ अनेकांैं किसिमका फोबियाबाट ग्रसित थिए । उनलाई पानी, हावा र चिसोको फोबिया थियो । लिन प्याओलाई पानीको आवाजले पनि पखाला चल्न थाल्थ्यो । आफ्ना यस्ता रोगका कारण लिन प्याओ अन्तर्मुखी स्वभावका थिए । उनको टाउको सधै दुखिरहन्थियो । उनी आफ्नो अधिकांश समय अँध्यारो कोठामा बिताउँथे र पुराना चिनियाँ औषधि शास्त्रका किताब पल्टाएर त्यहाँ आफ्नो लागि नुस्खाको खोजि गर्थे ।

माओ त्से तुङ्गले चीनको विकास गर्न सन् १९५८ मा लामो फड्को भन्ने अति महत्वकांक्षी योजना अगाडी सारेका थिए । तर त्यो सोचे अनुरुप सफल भएन । सन् १९५९ मा लुसानमा भएको सम्मेलनमा कमाण्डर फङ तेहुईले माओको यो योजनाको चर्को आलोचन गरे । जसकारण फङ तेहुईलाई रक्षामन्त्री लगायतका सबै पदबाट बर्खास्त गरियो । लिन प्याओले लुसान सम्मेलनमा माओको पक्ष लिएका थिए ।

यसपछि लिन प्याओ रक्षामन्त्री बने । त्यसपछि लिन प्याओले चिनियाँ जनमुक्ति सेनालाई माओ विचारधारा अनुरुप ढाले । लिन प्याओले माओका उक्तिहरुको संकलन प्रकाशन गरे । जसको आवरण कडा रातो रंगको प्लास्टिकको हुन्थ्यो र जुन चिनियाँ जनमुक्ति सेनाको गोजीमा अट्न सक्थ्यो । जुन रेड बुकको नामले प्रख्यात भयो । यो पछि आमरुपमा छापियो र वितरण गरियो । त्यस्तै लिन प्याओले माओको तस्विर अंकित ब्याजहरु व्यापक रुपमा छापे र वितरण गरे । माओको देवत्वकरण र व्यक्तिपूजामा लिन प्याओको ठूलो भूमिका थियो । लिन प्याओले यिनै कामका कारण माओ लिनसँग धेरै खुसी थिए । जसका कारण माओले तत्कालिन चिनियाँ राष्ट्रपति लिउ साओ चीलाई अपदस्त गरे र पछि लिन प्याओ पार्टीका उपाध्यक्ष र माओ पछिका नम्बर २ नेता बने ।

सन् १९६६ मा माओ त्से तुङ्गले साँस्कृतिक क्रान्ति सुरु गरे । यो साँस्कृतिक क्रान्तिमा लिन प्याओ र सेनाले ठूलो साथ दिएको थियो । तर जब रेड गार्डहरुको उद्दण्डता बढ्दै गयो तब माओले लिन प्याओको साथ लिएर त्यो उपपद्रवलाई शान्त पारे । जसका कारण सेनाको र लिन प्याओको भूमिका र शक्ति धेरै नै बढ्यो । एकातर्फ माओ पनि भित्रभित्रै लिन प्याओको असिमित शक्तिको कारण उनीसँग सशंकित हुन थालिसकेका थिए भने अर्को तर्फ लिन प्याओ र साँस्कृतिक क्रान्तिको बामपन्थी धार (जसको नेतृत्व माओकी पत्नी च्याङ चिङ्गले गर्थिन्) बीचको सम्बन्ध पनि खराब हुन थालिसकेको थियो ।

लिन प्याओ कि पत्नी ये गुन पनि कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य थिइन् । उनी अति महत्वाकांक्षी महिला थिइन् । लिन प्याओ, ये गुन र च्याङ चिङ्गको त्रिकोणात्मक संघर्ष चलिरहेको थियो । सन् १९६९ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको नवौं केन्द्रिय कमिटीको बैठकबाट माओ र लिन बीचको सम्बन्ध बिग्रिन थालेको थियो । यहि क्रममा सेप्टेम्बर १३, १९७१ मा सोभियत संघतर्फ भाग्दाभाग्दै जेट दुर्घटनामा परेर मंगोलियामा लिन प्याओ र उनको परिवारको मृत्यु भयो ।

चीनको सरकारी रिपोर्ट अनुसार लिन प्याओले माओ त्से तुङ्गको हत्या गर्ने र सत्ता कब्जा गर्ने योजना बनाएका थिए । सन् १९७१ मा हुन लागेको कम्युनिस्ट पार्टीको अर्को सम्मेलनमा माओले लिन प्याओलाई कारबाही गर्ने थाहा पाएर उनले माओ त्से तुङ्ग चढेको रेलमा आक्रमण गरेर उनको हत्या गर्ने प्रयास गरेका थिए । तर अन्तिम समयमा आफ्नो बाटो परिवर्तन गरेर माओ बाच्न सफल भएको थिए । जसमा असफल भएपछि उनी सोभियत संघ तर्फ भाग्दा प्लेन दुर्घटना भएर उनको मृत्यु भयो भनी सो रिपोर्टमा उल्लेख गरिएको छ । लिन प्याओको सो षड्यन्त्रको नाम ‘प्रोजेक्ट ५७१’ राखिएको थियो ।

तर यसले उत्तर कम र प्रश्न ज्यादा जन्माउँछ । लिन प्याओ जस्ता कुशल रणनीतिकारले यस्तो फितलो योजना कसरी बनाए होला ? फेरि लिनलाई माओको हत्या गर्ने आवश्यकता नै किन पर्यो होला ? जब कि, त्यसबेला माओ ७८ वर्ष पुगिसकेका थिए र बिरामी पर्न पनि थालिसकेका थिए । माओ भन्दा लिन १३ वर्ष कान्छा थिए । माओपछि स्वभाविक रुपमा लिन नै चीनका शक्तिशाली नेता बन्नेवाला थिए । चीन सम्बन्धि अध्ययन गर्नेहरुको राय छ कि, यो योजना लिनले नभएर उनकी पत्नी ये गुन र उनका छोरा लिन लिगुओ (जो चिनियाँ वायुसेनाका उपनिर्देशक थिए) बनाएको हुनसक्छ ।

मंगोलियामा सो प्लेन दुर्घटनास्थलबाट सोभियत संघका सेनाले लिन प्याओको शव बरामद गर्यो । गोलीले टाउकोमा बनाएको गहिरो घाउ र क्षयरोगले दाहिने फोक्सोमा पारेको दागबाट सोभियत गुप्तचरले लिन प्याओको पहिचान गरे । अहिले पनि लिन प्याओको खप्पर सोभियत आर्काइवमा सुरक्षित छ ।

चिनियाँ नेता तथा जनमुक्ति सेनाका कमाण्डर लिन प्याओको मृत्यु भएको पचास वर्ष पुगिसकेको छ । तर पनि बेलाबखत माओवादी आन्दोलन भित्र र चीनको इतिहासका बारेमा अध्ययन गर्नेहरुका बीचमा उनको बारेमा चर्चा भैरहन्छ । केही समय अगाडि भारतमा एउटा नक्सलवादी समूह थियो । यो समूहको नेतृत्व महादेव मुखर्जी र अजिजुल हकले गर्थे । यो समूहले आफूलाई लिन प्याओवादी भनेर दावी गर्थ्यो । पछि यो समूह भाकपा माओवादीमा विलय भयो तर यो एकता हुनुभन्दा अगाडि सो समूहले आफ्नो लिन प्याओवादी विचार परित्याग गरेको थियो ।

नेपालमा पनि बेलाबखत षड्यन्त्रकारी व्यक्तिको रुपमा लिन प्याओको चर्चा भइरहन्छ । तर लिन प्याओ षड्यन्त्रकारी व्यक्ति मात्र होइन त्यसबाहेक अरु पनि केहि थिए । अचेल चीनमा उनको जापान बिरोधी मुक्तियुद्ध र गृहयुद्ध ताका उल्लेखनीय भूमिका खेलेको व्यक्तिको रुपमा फेरि सम्मान गर्न थालिएको छ ।