काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा फेरि पनि पारिश्रमिक बिबाद निम्तिएको छ । यस पटक निम्तिएको पारिश्रमिक बिबाद पहिलेका भन्दा केही जटिल पनि छ । यसको कारण हो यसमा आर्थिक मात्र होइन, मनोविज्ञानले पनि काम गर्न पुगेको छ ।
नेपाल क्रिकेट संघको नेतृत्व र खेलाडीका बीचमा सिर्जना भएको यो अन्तरविरोध दुवै पक्षका कारण जटिल बन्न गएको छ । खेलाडीहरुले अझैसम्म पनि ‘सेन्ट्रल कन्ट्रयाक्ट’ नगरिएकोमा आपत्ति जनाइरहेका छन् । उत्कृष्ट खेलाडीहरुसँग यो सहमति गरिदै आएको छ ।
‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा १८ जना उत्कृष्ट खेलाडीहरुलाई छनौट गरिन्छ । यो सहमति अनुसार ती खेलाडीहरुलाई तीन तहमा वर्गीकरण गरिन्छ । वर्गीकृत खेलाडीहरुमध्ये पहिलो तहमा परेकालाई मासिक ५० हजार, दोस्रो तहमा परेकालाई ४० हजार र तेस्रो तहमा परेकालाई ३० हजार पारिश्रमिक सहयोग दिइन्छ ।
यसबाट खेलाडीहरुमा उत्प्रेरणा मिलोस् र खेलमा उत्कृष्टता हासिल होस् भन्ने ध्येय राखिएको हुन्छ । तर अहिलेको विवादमा क्यानको नेतृत्वले खेलाडीहरुमा अनुशासन कायम हुन नसकेको र खेलाडी अराजक हुन गएको आरोप लगाइरहेको छ । खेलाडीले अनुशासन नै बिर्सेको नेतृत्वको आरोप छ ।
तर खेलाडीहरु भने नेतृत्व संकीर्ण र मनोगत हुँदै गएको आरोप लगाइरहेका छन् । अनुशासन नभएर नेतृत्वले शासन गर्न खोजिरहेको उनीहरुको आरोप छ । व्यवस्थापन उल्टै अस्तव्यस्तता सिर्जना गरेर आफ्नो असक्षमता लुकाउन खोजिरहेको आरोप उनीहरुको छ ।
दुबैका आरोप एकअर्काका विरुद्धमा छन् । व्यवस्थापनले अनुशासनहीनताको आरोप लगाइरहँदा खेलाडीहरु भने आफ्नो योगदानको मूल्यांकन हुन नसकिरहेको कुरा उठाइरहेका छन् । खेलाडीले ‘गभर्निङ बडी’ जिम्मेवार भैदिनुपर्यो भनी आफ्नो आवाज निरन्तर उठाउँदै आएका छन् ।