आजभन्दा तीन वर्ष अघि २०७६ साल माघ महिनामा मकवानपुरको दामन भन्ने पर्यटकीय गाउँमा रहेको अति चर्चित एभरेष्ट पानोरामा रिसोर्टमा निसास्सिएर ८ जना भारतीय पर्यटकको निधन भयो । यो नेपालको पर्यटकीय क्षेत्रका लागि मात्र नभएर सर्वसाधरणका लागि एक ठूलो सन्देश थियो कि हरेक घर, गोठ र तिनका कोठाकोठामा आवश्यक अक्सिजनको व्यवस्था हुनु पर्छ ।
यो अक्सिजन आउने ठाउँ वा घरगोठ वा कोठाभित्र हावा छिर्ने ठाउँलाई ‘भेन्टिलेसन’ भनिन्छ । हाम्रा पुराना घरहरुमा तल्लो तला, माथिल्लो तला र बुइगल तलामा खटप्वाल राख्ने गरिएको हुन्छ । यसैलाई भेन्टिलेसन भनिन्छ । यो खटप्वाल वा खोपाहरुबाट हामीलाई आवश्यक पर्ने अक्सिजन हामी सुतेको कोठाभित्रसम्म आइपुग्छ ।
कुरो त के पनि हो भने रातमा हावामा अक्सिजनको मात्रा कमी हुन्छ । विरुवाहरुले दिउँसो सूर्यको उपस्थितिमा ‘प्रकाश संश्लेषण’ वा फोटो सिन्थेसिसको प्रक्रियाद्वारा खाना पकाउँदा कार्वन डाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछन् ।
तर रातमा सूर्य अस्ताइसकेका हुनाले उनीहरुको खाना तयार गर्ने काम बन्द हुन्छ । यस्तो बेलामा उनीहरुले अक्सिजन लिन थाल्छन् बरु त्यसको सट्टामा कार्वनडायोक्साइड फ्याँक्छन् । यसले गर्दा रातमा अक्सिजनको मात्रामा कमी हुन आउँछ ।
यो बेलामा मानिस लगायत जीवका लागि हावाको मात्रा बढी नै आवश्यक हुन्छ । हावाको यो आवश्यक मात्राको परिपूर्ति हामीले भेन्टिलेसन भनिने खोपा, खटप्वाल, झ्याल र ढोकाका खुला रहेका स्थानहरुबाट प्राप्त गरिरहेका हुन्छौं ।
तर जाडो मौसममा शरीर चिसो हुने डरले प्रायः सबैले घरका यी खटप्वाल र भेन्टिलेसन थुन्ने वा टाल्ने गर्दछन् । यसले मानिसका लागि आवश्यक अक्सिजन आउन पाउँदैन र मानिस कमजोर हुने, थकाइ लाग्ने र कहिलेकाँही मृत्यु हुने पनि गराउँछ ।
अहिले जलवायु परिवर्तनका कारण निस्चित महिना र मौसममा सुरु हुने गर्मी, बर्षा र जाडो आदि ऋतुहरुमा हिजोको झैं भिन्नता हुन छाडेको छ । कुन ऋतु कहिले सुरु र अन्त्य हु्न्छ भन्न सकिने अवस्था छैन । धनी, गरिब, कमजोर र बलियो सबैमा समान रुपमा लागु हुने चिसो मौसमी वातावरणको प्रभाव मुख्यतः मानिसको शारीरिक तथा मानसिक स्थितिसँग जोडिएको हुन्छ ।
जाडोका कारण सबै कुरा बिर्सिए पनि आफूलाई न्यानो वा तातो राख्ने नाममा घर, गोठ वा कोठामा हावा छिर्ने प्वाल, खटप्वाल तथा आँखीझ्याललाई बन्द राख्नु हुँदैन । यसले मृत्युको मुखसम्म पुर्याउन सक्छ ।