मार्ग शुक्ल पञ्चमीमा मनाइने राम जानकी विवाह महोत्सव साताव्यापी रुपमा मनाउने क्रममा जनकपुरमा यही मार्ग १७ गतेदेखि आरम्भ भई २३ गते समापन पनि भइसकेको छ । बस्ती वृद्धिका कारण हिजोआज अयोध्या क्षेत्र, सरयु लगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या देखा परेको छ । पूर्वीय शास्त्रले प्रदूषणलाई पाप भनेको छ । धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्व पाएको नेपालमा जति घरहरु छन् यति नै मन्दिरहरु पनि । जनकपुर क्षेत्रमध्ये जनकपुरधाम, धनुषाधाम, जलेश्वरशिव, सिन्धुलीको कुशेश्वरशिव, दोलखाको भीमेश्वरशिव लगायत कालिञ्चोकदेवी जस्ता प्रसिद्ध शक्तिपीठहरू मुख्य हुन् । सन्दर्भ श्रीराम सीताको विवाह महोत्सव रहेकाले यसै सेरोफेरोमा चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ ।
मिथिलेति त्रिवर्णीयं श्रुतितोऽपि गरीयसी । मकारो विश्कर्ता च थकार : स्थितिपालकः ।।
लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोेऽभवन् । प्रणवेन समं सिद्धि : सर्वाघौघंनिवारणम् ।।
पौर्णमासीं विना चन्द्रो यथा पूर्णो नजायते । तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां विना ।।
मिथिलायां कृतं पुण्यमिहलोके परत्र च । अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम् ।। –विष्णु पुराण
मिथिलाक्षेत्र आफैमा महान छ । ३ अक्षर मिथिलाको मि माने विश्वको सृष्टि हो, थि ले रक्षा, संसारको पालन बुझिन्छ र ला ले लय, प्रलय भन्ने संकेत गर्छ । चन्द्रमा बिना पूर्णिमा अधुरो भए झैं मिथिला बिनाको तीर्थ अधुरो रहन्छ । मिथिलामा गरिएका कुनै पनि सुकार्यले इह र पर लोक दुबै सुध्रन्छ । राम सीताकै कारण त्यो क्षेत्र सायुज्य मुक्तिक्षेत्र नै हो । यस्तौ सौभाग्य बोकेको योक्षेत्र हाम्रालागि अहोभाग्यको विषय हो ।
विष्णु पुराण, स्कन्द पुराण आदि पूर्वीय शास्त्रहरूले जनकपुरधामका बारेमा विशद् वर्णन गरेका छन् । जनकपुर क्षेत्रलाई मिथिला क्षेत्र भनिन्छ । दार्शनिक तपस्वी राजा जनकको राज्य क्षेत्र भएकाले यसक्षेत्रको नाम जनकपुर रहेको हो । मिथिलाक्षेत्र निकै व्यापक छ । दक्षिणमा भागीरथी, पूर्वमा हिमालय क्षेत्र कौशिकी नदी र पश्चिममा गण्डकी नदीको बीच भाग मिथिला क्षेत्र हो । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् ३ वटाको समष्टि ॐ को केन्द्र मिथिला हो । सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकालीस्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो । पापनाशक मिथिलाक्षेत्र विश्वकै लागि उत्कृष्ट क्षेत्र हो ।
महिना भरमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी ब्रत, तीर्थ, पुण्यको पूर्णताको लागि मिथिलापुरीको दर्शन आवश्यक छ । मिथिलामा गरिएको पुण्य अन्यक्षेत्रमा तुलना हुन सक्दैन । अक्षय फल प्राप्त गर्न चाहने साधकहरूले जनकनन्दिनी सीताको क्षेत्र जनकपुरको भ्रमण गर्नैपर्ने हुन्छ । मिथिलाका १५ नामहरू शास्त्रहरूले बताएका छन् । १) मिथिला २) वैदेही ३) यज्ञक्षेत्र ४) जानकीजन्मभूमि ५) विश्वमङ्गला ६) क्रियापीठ ७) विकल्मषा ८) निरपेक्षा ९) नैमिकानन १०) रामानन्दकरी ११) स्वर्णलाङ्घन पद्धति १२) तैरमुक्ति १३) तपोवन १४) शाम्भवी १५) स्वर्णकानन ।
ब्रह्मज्ञानी जनकबाट व्यासपुत्र शुकदेव स्वामीले भागवतको अध्ययन गरेका थिए । ९ वालयोगीश्वरहरू- कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्लायन, आविर्हाेत्र, दु्रमिल, चमस, करभाजनले राजा जनकलाई ब्रह्मज्ञान सिकाएका थिए । महाज्ञानी महर्षि याज्ञवल्क्य राजा जनकका गुरु थिए । संसारका ज्ञानी, महात्मा, पुण्यात्माहरू जनकसँग वेदान्तको ज्ञान सिक्न आउँथे । अध्यात्म ज्ञानका शिखरपुरुष राजा जनकलाई विदेह महाराज भनिन्थ्यो । देह भएर पनि देहबाट मुक्त, संसारमा रहेर पनि सांसारिक विषयबाट मुक्त राजा जनकको दरवारमा योग शिक्षा सिकाइन्थ्यो । अध्यात्म क्षेत्रका स्रोत व्यक्तिहरूको सभा, सम्मेलन भइरहन्थ्यो । भनिन्छ, जनकपुर क्षेत्रका पशु, पंक्षी, वृक्ष, वनस्पति सबैले वेदको भाषामा कुराकानी गर्थे । सम्पूर्ण वायुमण्डल वेदमय बनेको थियो । सर्वत्र पूजित व्यक्तित्वहरूको संगम क्षेत्र मिथिला विश्वको सर्वोत्कृष्ट ज्ञान र विज्ञानको स्रोत रहेको थियो ।
मैथिली भाषाका कवि श्रीविद्यापति कोकिलको शालिकसमेत भएको यो क्षेत्रमा मिथिला साहित्यको भरपूर विकास भएको छ । पावन नदीहरूले सेचन गरेको मिथिला भूमिमा भगवती आद्या शक्ति स्वरुपिणी महामायाले धर्तीमा अवतरित हुने निधो गर्नु भयो । एकदिन सुनको हलोले यज्ञभूमि जोतिरहेको बेला वसन्त ऋतु, वैशाख शुक्ल नवमीको पुण्यतिथिमा पृथ्वीको गर्भबाट जगत्जननी जानकीको उदय भयो । अति राम्री कन्या प्राप्त गरेका राजा जनकले महारानी सुनैनालाई छोरीको रूपमा लालन पालन गर्न आज्ञा दिनुभयो । सीताको उदय दिन भने वैशाख शुक्ल नवमी हो ।
अघि सृष्टिकर्ता ब्रह्माजीको अंगबाट उत्पत्ति भएका स्वायंभू मनु र रानी शतरूपाले सर्वेश्वर श्रीहरिको तपस्या गर्दा श्रीहरि प्रसन्न भई वरदान माग्न भन्नुभयो । स्वायंभू मनु र शतरूपा महारानीले एकै स्वरमा “तपाईं जस्तै पुत्र प्राप्त गर्न सकौं” भनेर वरदान मागेकाले भगवान्ले “तथास्तु” भन्नु भएको थियोे । एक पटकमात्र होइन तीन पटकसम्म युग युगपिच्छे आफू पुत्र भएर धर्तीमा अवतरण हुने भगवानको वचन थियो । त्रेतायुगमा पृथ्वीका दुष्ट शासकका विरुद्ध भू–भार हरण गरी लोकहित र लोककल्याण गर्न श्रीहरिले राम अवतार लिने निधो गर्नु भयो । मनुष्यको रूपमा अवतरित हुने क्रममा अघि वरदान प्राप्त स्वायंभू र शतरूपा अयोध्या नगरीमा राजा दशरथ र रानी कौशल्याको गर्भमा आपूm रहने बिचार
गर्नुभयो । भारतको अयोध्या नगरीमा राजा दशरथ पुत्र श्रीहरि श्रीरामका रूपमा अवतरित हुनु र श्रीलक्ष्मीले जनक नन्दिनी सीताको रूपमा अवतरित हुनु केवल संयोग मात्र नभएर पूर्व योजना नै थियो ।
राम र सीताको विवाहमा स्वयं ब्रह्माजी समेत आउँदा जनकपुरको वैभव देखेर आफ्नो रचनामा आश्चर्य मान्नु भएको थियो । त्यसबेला जनकपुरमा देखिएको स्वर्ण मण्डप, अलौकिक कला कौशलता, भव्य महलहरू हेर्दा सृजनाकी स्रोत महामाया देवीको कृपा प्रसाद भनेर सहजै भन्न सकिन्थ्यो । जनकपुरको मध्ये बजारक्षेत्रमा जानकी मन्दिर रहेको छ । भारतकी टीकमगढकी महारानी वृषभानु कुँवरले सम्वत् १९६८ मा नौलाख रूपैयाँ खर्च गरी बनाएको यो मन्दिरलाई नौलखा दरब र पनि भनिन्छ । मुगल शैलीमा बनेको यो मन्दिरलाई शीशमहल भन्ने गरिन्छ ।
मन्दिरको गर्भगृहमा राम र सीताका भव्य मूर्तिहरू छन् । सदैव रामसीताको दर्शन गर्न भीड लाग्ने यो मन्दिरको चारैतर्फ दुई र चार तला गरी महलका बुर्जाहरू बनाइएका छन् । जनकपुरको राम जानकी मन्दिर परिसरको पश्चिमपट्टि सुनयना–जनक मन्दिर छ, जहाँ अंगरागसरबाट झिकाइएका राम, सीता, लक्ष्मण एवं जनक राजा परिवार सहितकै मूर्तिहरू स्थापित छन् । मन्दिरको पश्चिमपट्टि राम–जानकी विवाह मण्डप छ । नेपाली मण्डप शैलीमा बनेको यो मण्डपमा राम–सीताको विवाहमा आएको ऐतिहासिक झाँकी र देवदेवी एवं महर्षि गणहरूको सुन्दर मूर्तिहरू स्थापित गरिएको छ । मण्डप परिसरमा भव्य पुष्प उद्यान रहेको छ ।
जानकी मन्दिर पूर्वतर्फ श्रीराम मन्दिर छ । लक्ष्मी-नारायण ईश्वरका दशै अवतारका मूर्तिहरू, हनुमान मन्दिर, देवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, दशरथ मन्दिर, संकट मोचन, रत्नसागर क्षेत्र र जनकपुरको पवित्र तलाउ हेर्न लायक छन् । राम मन्दिरदेखि पूर्वपट्टि राम्रा दुई तलाउहरू छन् । यिनलाई धनुष सागर र गंगा सागर भनिन्छ । अघि महर्षि वशिष्ठबाट श्राप प्राप्त गरेका राजा निमिका सन्तान थिएनन् । सन्तति नभएका राजाको शरीर मन्थन गर्दा मिथि नामक एक बालक पैदा भए । मिथि नामक बालकको नामबाट त्यो क्षेत्र मिथिला रहने भयो । याज्ञवल्क्य आदि अन्य गुरुहरूले मन्थन गरेको र मृत शरीर मन्थन गर्दाको प्रायश्चितबाट उनीहरू शुद्ध हुनु पर्ने थियो । महर्षि, मुनिहरूलाई ब्रह्माण्डमा रहेका सम्पूर्ण तीर्थक्षेत्रहरूलाई त्यहाँ आह्वान गरियो ।
गङ्गा आदि पुण्य नदीहरू, सम्पूर्ण समुद्रहरू, सारा तीर्थक्षेत्रहरूको अंश स्वरूप गङ्गासागरको रूपमा यसक्षेत्रमा आएर रहने भए । यहीं स्नान गरेर ऋषि मुनिहरू आपूm शुद्ध भए । अहिलेसम्म पनि आफ्नो पापको प्रायश्चित गर्न चाहनेहरू त्यहाँ स्नान गर्न जान्छन् । तलाउको वरिपरि घाटहरू छन् । राम जानकीक्षेत्र जनकपुरमा सदैव मेला लाग्ने गर्छ । तर पनि चैत्र शुक्लनवमीमा विशेष मेला लाग्छ । ‘श्रीराम जन्मोत्सव’ को रूपमा मनाइने रामनवमी पर्वमा यहाँ देश परदेशबाट दर्शनार्थीहरू भगवान्को दर्शन गर्न आउँछन् । त्यस्तै वैशाख शुक्ल नवमीका दिन जानकीको उदय भएको यस दिन भक्त जनहरूले विशेष उत्सवको रूपमा मनाउँछन् । भजन, कीर्तन, कथावाचन, गीत नृत्य गरी विशेष रूपमा मनाइन्छ यो पर्व ! यस्तोक्षेत्र हाम्रो भूमिमा हुनु, हाम्रो देशको गौरव हो, त्यसैले त यो देश मुक्तिक्षेत्र हो । आफैले आफ्नो महत्व नबुझ्नु हाम्रै कमजोरी त हो ।