• मंसिर १२ २०८१, बुधबार

अर्थपूर्ण छ रामचन्द्रको वनबास !

मंसिर २६ २०७८, आईतवार

सभापतिका दावेदारका रुपमा रहेका रामचन्द्र पौडेल नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा एकाएक हराए । काठमाडौंको भृकुटीमण्डमा शुक्रवार आयोजित उद्घाटन सत्रमा चित्तलाग्दो मन्तव्य दिएका उनी एकदिन पछाडि शनिवार भएको उमेदवारी दर्ताका दिन देखा नै परेनन् ।

उनीहरुभन्दा कनिष्ठ नेताहरुले नेपाली काँग्रेसको सभापतिको पदमा दावा गर्न पुगे । उमेदवारी दिए । त्यसपछि प्रचार प्रसारमा लागे । उमेदवारी दिएकाहरु महाधिवेशन प्रतिनिधि खोज्न र भेट्न हिँडे । तर महाधिवेशन प्रतिनिधिहरु भने रामचन्द्रलाई खोज्न र भेट्न हिँडे ।

आश्चर्यको कुरा ! उमेदवारी दिएकाहरुले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई भेटेर बारम्बार नमस्कार गरिरहेका छन् । उनै उमेदवारले गणेशले शिवपार्वतीको वरिपरि फेरो लगाए झैं घुम्दै र पुनः नमस्कार गर्दै हिंडिरहेका छन् । तर प्रतिनिधिहरुले खोजेका पौडेल कहिं पनि फेला परिरहेका छैनन् ।

बजारमा, चोकमा, आकाशे पुलका रेलिङमा, रुखमा, भित्तामा र बाटाघाटामा नमस्ते गर्नेहरुकै बडेमाका फोटाहरु एक अर्कालाई उछिन्ने प्रतिस्पर्धामा टाँगिएका छन् । तिनै फोटाका वरपर भँगेरा टाउके अक्षरमा भोट दिन बिन्तिभाउ बिसाइएका छन् । खोजी गरिरहेका महाधिवेशन प्रतिनिधिहरुका माझमा अहिले हल्ला चलिरहेको छ– ‘रामचन्द्र त वनबास लागे !’

ठीकै छ, त्रेता युगमा त राम वनबास गए, गए । त्यसपछि महाभारतको त्यति ठूलो प्रतिनिधित्व गर्ने द्वापर युग पनि आयो, गयो, सकियो । कलियुगको सुरुआत भएको मानिएका राजा परिक्षितको काल उहिल्यै समाप्त भएर आज हामी यहाँ आइपुगेका छौं ।

तर आठौं आश्चर्य ! आजको यो बेलामा पनि आफूलाई प्रजातान्त्रिक भनेर नथाक्ने नेपाली काँग्रेसभित्र नेता रामचन्द्रको भागमा फेरि पनि वनबास नै किन पर्नुपर्ने ?!
त्रेता युगका रामचन्द्रले आफू वनसास जाँदा राजदरवारमा राख्नका लागि आफ्ना खराउ दिए । जोडी खराउलाई उनका भाइ भरतले विनम्रताका साथ स्वीकार गरे र उनी नआउँदा सम्म गद्दीमा खराउ राखेर रामचन्द्रको आगमनको प्रतिक्षा गरे ।

अहिले आफू वानवास जाँदाका बखत नेपाली काँग्रेसका रामचन्द्रले एउटा विज्ञप्ति दिए र भने, ‘महाधिवेशनले पार्टीलाई स्पष्ट नीति र एकताको सन्देश देओस् ।’ त्यसको भने न त पोष्टर बनाइएको छ, न त पर्चा ! न त कुनै मानितो राखिएको छ, न त चर्चा !! विज्ञप्तिको खराउजत्ति पनि महत्व राखिएको छैन ।

तर त्रेता युगमा भरतले वनबासी रामचन्द्रको खराउ लिएर फर्कदा कैकेयीका दुस्वप्न हरण गर्नसक्ने उच्च नीति र नैतिकता बचेको थियो । अहिले भने नेपाली काँग्रेस कैकेयीको दुस्वप्नले कूटकूटमा भरिभराउ छ ।

काँग्रेसी रामचन्द्र, त्यसैले पनि, स्वयम् स्वीकार गर्छन्, ‘मैले काँग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो काँग्रेसमा बिचलन आइसकेको अनुभव मैले गर्नु परिरहेको छ … चौधौं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु … पार्टी सत्ताको भर्‍याङमा सिमित नहोस् ।’

तर वनबासी रामचन्द्रलाई प्रजातन्त्र, नीति र नैतिकताको ‘गम्भीर बोध’ हुँदा कैकेयीमय महाधिवेशनमा रमाइरहेका सबैमा सत्ता प्राप्तिको ‘गहिरो भोक’ जागिरहेको छ ।