• मंसिर १२ २०८१, बुधबार

कहिले बस्ला कांग्रेसमा विचार र पद्धतिको परिपाटी ?

मंसिर २४ २०७८, शुक्रबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटी मण्डपमा शुक्रवारदेखि सम्पनन हुन गैरहेको छ । देशभरका महाधिवेशन प्रतिनिधि यो महाउत्सवमा सहभागी भएका छन् । उनीहरुको चाहना छ, यो महाधिवेशनले नेपाली कांग्रेसमा उर्जा र जीवन्तता ल्याओस् ।

तर नेपाली कांग्रेस विचार र पद्धतिको गम्भीर संकटबाट गुज्र्रिइरहेको छ । यसले महाधिवेशनका बेलामा यो समस्याको चर्कै अनुभूत गरिरहेको छ, त्यो पनि पार्टी बाहिरबाट । नेपाली कांग्रेसमा विचार र पद्धतिको कुरा जिम्मेवार नेताहरुका माझ उठेकै छैन ।

राजनीतिक विश्लेषक, शुभचिन्तक र समर्थक तथा पत्रकारहरुका बीचमा जति गम्भीरताका साथ नेपाली कांग्रेसले विचार र पद्धति विकास गर्न नसकेको गुनासो छ, त्यो भन्दा बढी नेपाली कांग्रेसका नेताहरुमा त्यसको बारेमा आलस्यता छ ।

केको विचार केको पद्धति ? मात्र भोट हालेपछि प्रजातन्त्र जोगिइहाल्ने र भोट हाल्ने प्रक्रिया लागू गरेपछि प्रजातान्त्रिक प्रक्रिया भैहाल्ने । वास्तविक कुरा त के हो भने केका लागि भोट हाल्ने ? कुन विधि र प्रक्रिया पुर्याएर भोट हाल्ने ?

विचार र विधिको विकास नगरेकै कारण नेपाली कांग्रेसको महाधिवेशन एक राष्ट्रिय उत्सव हुनुको सट्टा कुन लबी वा गुटका फगत नेताहरुलाई जिताउने भन्ने भाले भिडन्त बन्न पुगेको छ । कोही पनि सभापतिको उमेदवारले दाबी गरेको छैन कि मेरो फलाना विचार रक्षाका लागि मलाई भोट दिनुहोस् भनेर ।

नयाँ पुस्ताको कुरा उठाइएको छ । पुस्तान्तरण सुन्दा केही चाखलाग्दो कुरा त हो, तर यो पनि नयाँ नेता कि पुराना नेता भन्ने मात्र हो । यो पनि नेता छनौटको कुरा मात्र हो । नयाँ पुस्ता छनौटका लागि नयाँ विचार लिएर आउनु पर्छ र मात्र संसार आकर्षित हुन्छ । विचार र पद्धति नयाँ छैन भने नेता फेरिएर हुनेवाला केही पनि छैन ।

विचार र पद्धति नभएकै कारणले हो, देउवा पुनः जस्केलाबाट सभापतिको उमेदवार बन्न सफल भएको पनि । पार्टी विधानमा स्पष्ट प्रावधान छ, जो कोही पनि दुई वर्षभन्दा बढी पार्टी सभापति बन्न पाउँदैन । पद्धतिको विकास गरिएको छैन, पाइयो ।

कुरा त्यति मात्र होइन, विचार छैन नेता छान्ने हो, भोट हाले भयो । नेपाली कांग्रेसजस्तो आफूलाई प्रजातान्त्रिक भनेर दाबी गर्ने पार्टीमा यो सुहाउँदैन । शक्तिको भरमा प्रजातन्त्रको दुहाइ दिएर आफू बाँच्दासम्म पार्टी र सरकारको शक्ति भरपूर उपयोग गरेर पार्टी सभापति हत्याइरहने छूट कसैलाई पनि छैन । अर्कोतिर सरकार र पार्टीमा कमजोर उपस्थितिका कारण सधैं हात धोइरहनु पर्ने स्थिति पनि आफैमा प्रजातान्त्रिक होइन ।

प्रजातन्त्र भनेको उदात्त भावका साथ सबैले समान रुपमा प्रतिस्पर्धा र सेवा गर्ने अवसर पाउनु हो । प्रजातन्त्रको अर्थ एउटाले जीवनभर खाइरहने अर्काले हेरिरहने पनि होइन । साथै, प्रजातन्त्र ‘जो जित्छ,उही मेरो भाले’ पनि होइन । प्रजातन्त्र, वास्तवमा, आफैमा समान प्रजातान्त्रिक अभ्यास र व्यवहार हो ।

यसको कुनै गुन्जायस नरहेको नेपाली कांग्रेसमा गुटगत चलखेल र समीकरणले सीमा नाघिसकेको छ । यसले प्रजातन्त्र र प्रजातान्त्रि अभ्यास र प्रक्रियालाई कसरी बलियो बनाउने भन्दा पनि कसले कसलाई ढाल्ने र हराउने भन्ने खेल चलिरहेको छ । एक पटक ओहदा हत्याएपछि जीवनभर नछाड्ने परिपाटी प्रजातान्त्रिक परिपाटी होइन ।

प्रजातन्त्र भनेको विचार, नीति, विधि र पद्धति हो । चुनावको ढोंग रचेर जीवनभर एकछत्र ‘राजशाही’ चलाउने व्यवस्था पनि होइन प्रजातन्त्र । नेपाली कांग्रेस यही विचार, नीति, विधि र पद्धति बसाल्न चुकिरहेको छ ।

एक लामो कालखण्ड कोइराला परिवारको एकलौटी राइँदाइँ चल्दै आएको नेपाली कांग्रेस अब देउवाको बिर्ताजस्तो देखिन थालेको छ । सहकर्मीहरुको योगदानको कुनै मूल्यांकन छैन । नेता कार्यकर्तालाई सही स्थानमा जिम्मेवारी पनि दिइएको छैन । प्रजातन्त्र भोट खसालेको कभरमा मनपरितन्त्र होइन । यस विषयमा नेपाली कांग्रेसले गम्भीर समीक्षा गर्नु जरुरी छ ।