• मंसिर ८ २०८१, शनिबार

अन्तरिक्षमा भेटियो बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह

मंसिर २३ २०७८, बिहीबार

सान्टियागो । चिलीका वैज्ञानिकहरूले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन् । उक्त ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ। यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किलो ताराको परिक्रमा गरिरहेको छ। यसलाई बी–सेन्टाउरी नाम दिइएको छ। यसले विश्वभरका वैज्ञानिकलाई आश्चर्यमा पारेको छ । यो खोजपछि अब ग्रहहरुको निर्माण र विकासको प्रचलित मान्यतालाई चुनौती दिन थालेको छ ।

बी सेन्टाउरी ग्रह पृथ्वीबाट करिब ३२५ प्रकाश वर्ष टाढा छ। ग्यासले भरिएको यो ग्रहको कक्ष बृहस्पतिको कक्षभन्दा १०० गुणा फराकिलो छ। आझै रहस्यमय त के छ भने बी सेन्टाउरी ग्रह त्यहीँ नै बनेको प्रतीत हुन्छ । नेचर जर्नलमा बुधबार प्रकाशित यस अध्ययनमा खगोलविद्हरूले आफ्नो खोजको पूर्ण विवरण दिएका छन् । हाम्रो सूर्यभन्दा तीन गुणा ठूलो ताराको वरिपरि ग्यासले भरिएको ग्रह फेला परेको यो पहिलो पटक हो।

मार्कस जोन्सन र उनको टोलीले चिलीको युरोपेली टेलिस्कोपबाट यो ग्रह पत्ता लगाएको हो । जोनसनले भने, ‘मैले सोचेँ कि ताराहरूको वरिपरि कुनै ग्रहहरू छैनन् जुन रोचक हुनेछ तर यसको वरिपरि धेरै सम्भावित ग्रहहरू छन् जुन अझ रोचक हुन सक्छ।’

यो टोलीले सर्वेक्षण सुरु गरेको छोटो समयमा कुनै ग्रह फेला पार्दा आश्चर्यचकित भएको छैन तर यसको विशेषताले अचम्ममा परिरहेका बताएका छन्।

बी सेन्टाउरी प्रणालीमा दुई ताराहरू छन् : बी सेन्टाउरी ए र बी सेन्टाउरी बी। यदि यी दुईलाई जोड्ने हो भने तिनीहरू सूर्यभन्दा ६ देखि १० गुणा ठूलो हुन सक्छन्। दुवै धेरै ताता छन्।

यो नयाँ खोजले ग्रहहरूको गठनका बारेमा हामीले अहिलेसम्म थाहा पाएका कुरालाई परिवर्तन गर्न सक्छ। यो ग्रहका बारेमा अहिलेसम्म प्राप्त जानकारी धेरै अनौठो भएको उनले बताए।