• मंसिर १३ २०८१, बिहीबार

‘डिजिटल अस्पताल’का घडेरी खोज्दै स्वास्थ्य मन्त्रालय

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै स्थानीय तहमा ५ देखि १५ शय शैय्या सम्मका आधारभूत अस्पतालहरुको एकैपटक स्वीच थिचेर उद्घाटन गरे । यसले सबै नेपालीमा कौतुहलता र जिज्ञासा दुवै सिर्जना गरायो । कोरोना महामारीको बिगबिगी भैरहेका बेला उनको पहलको विज्ञसमूहद्वारा स्वागत पनि गरियो ।

सबैलाई लाग्यो ७५३ वटा स्थानीय सरकारमा कहीं न कहीं त अस्पताल बन्दै होला । हाम्रो पालो पनि आउला । तर पालो आएन । पालो आयो अर्के कुरा सुन्नु पर्ने १ त्यो हो, ती सबै अस्पताल कोठाभित्र रिमोट समातेर स्क्रिनमा मात्र उद्घाटन गरिएका थिए ।

अहिले कोरोना महामारीको नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट संसारभर फैलँदो क्रममा छ । नेपालमा पनि यसको प्रवेश भैसकेको पुष्टि भएपछि अबका दिनमा आमजनताको जनस्वास्थ्यका लागि ती उद्घाटित ५०० भन्दा बढी अस्पतालहरुको खोजी भैरहेको छ । तर ती कहीं पनि फेला परिरहेका छैनन् ।


हालका स्वास्थ्य मन्त्री विरोध खतिवडा भन्छन् ‘अघिल्लो सरकारले ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थानीय तहमा सञ्चालन ल्याउने भनेर धमाधम उदघाटन गरेको थियो । ती आधारभूत अस्पतालहरू हावामा उद्घाटन गरिएका थिए ।’

तात्कालीन ओली सरकारले बजेट व्यवस्था नै नगरी बालुवाटारको बन्द कोठामा स्विच थिचेर धमाधम अस्पतालको उद्घाटन गरेको थियो । कोठाभित्र बसेर उद्घाटन गरेका ती अस्पतालको न त संरचना छ, न त नापनक्सा नै ।

डिजिटल उद्घाटनको ‘घानमा परेका’ ती अस्पतालहरूको न जमिन छ, न डिपिआर गरिएको नक्सा नै । पैसाबिना उद्घाटन भएका अस्पताल कतै पनि छैनन् । तर पूर्व प्रम ओली ‘मैले स्थानीय तहमा ५०० भन्दा बढी अस्पताल निर्माण गरिसकेको छु’ भनेर जनताका माझामा बोल्दै हिंडिरहेको जनताकै माझमा गुनासो छ ।


अस्पताल निर्माण हुनु राम्रो कुरा हो, तर ती अस्पताल निर्माणका लागि लाग्ने पूर्वाधार खर्च अहिले छैन । विना बजेट उद्घाटनमा परेका ती आधारभूत अस्पतालका बारेमा सामान्य कन्सेप्ट पनि स्थानीय निकायमा पठाइएको छैन ।

स्वास्थ्य मन्त्री खतिवडाको टाउको दुखाइको विषय बनेको आधारभूत अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रारम्भिक तयारीमा लागेको छ । यसले जनसंख्याका आधरमा स्थानीय तहमा लालपुर्जासहितको जमिनको व्यवस्था गर्ने, लिज लिने, तोकिएको सात आठ रोपनी जमिन हुनुपर्ने, त्यसपछि डिपिआर नक्सा तोकिएअनुसार बनाउनु पर्ने र त्यसपछि मात्रै पूर्वाधार निर्माणका लागि टेन्डरमा जान अनुमति दिनुपर्ने मापदण्ड बनाएको छ ।
ओली सरकारका पालामा गरिएको ‘मकैभट्मास जसरी पैसा बाँडेर दुरुपयोग गर्न नदिने’ वचनबद्धता जाहेर गरेका मन्त्री खतिवडा स्थानीय तहमा अस्पताल तयार भएपछि मात्रै अस्पतालको उद्घाटन गर्ने अडानमा रहेका देखिएका छन् ।

 

निर्माणका सम्पूर्ण कार्य पूरा गरेपछि मात्रै यहाँ अस्पताल बन्ने भनेर लालपुर्जा तयार गर्ने र जग खनेर इँटाढुङ्गा राखी शिलान्यास गर्ने सोचमा मन्त्रालय पुगेको छ । हालसम्म उद्घाटन गरिएका मध्ये ७० वटा अस्पताल निर्माणको क्रममा छन् ।

यस लगत्तै लगभग दुई सय अस्पतालको निर्माण सम्झौताको क्रममा रहेको सरकार अन्य अस्पताल निर्माणका लागि जमिनको खोजीमा छ । सरकारले स्थानीय तहलाई चाँडोभन्दा चाँडो जमिन खोज्न, डीपीआर तयार गर्न प्रोत्साहन गरिरहेको छ ।

ओमिक्रोन महामारीको सन्त्रास फैलिइरहेका बेला स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको रफ्तारलाई गति दिन सरकार लागिपरिरहेको मन्त्री खतिवडाको दाबी छ ।