• मंसिर ११ २०८१, मंगलवार

राम-सीता विवाह र नेपाल भारत सम्बन्ध

मंसिर २३ २०७८, बिहीबार

राम जानकीको विहे उत्सव मार्ग २२ गते अविष्मरणीय दिन अर्थात् मंसिर शुक्ल पञ्चमी तिथि । हरेक मानवका लागि गृहस्थ जीवन सुन्दर मानिएको छ, त्यसकोलागि विवाह बन्धनमा बाँधिने गरिन्छ । मानव रुप लिई धर्तीमा अवतरित श्रीरामले हाम्रो वैदेही नगरी धनुषाधाम भनौँ जनकपुरमा सीता अर्थात् धर्ती माता जानकीसँग विवाह गरेको दिन, त्रेतायुग भनौँ आजभन्दा साढे १२ लाख वर्षअघिको कुरो र पनि अहिलेसम्म ताजै छ र त साताव्यापी मनाइने यो उत्सवको भव्य तयारी भइसकेको त्यहाँका महन्तले बताउनु भएको छ ।

साताव्यापी कार्यक्रमको पहिलो दिन यही १७ गते राम सीताको झाँकीले नगर परिक्रमा, क्रमशः दोस्रो दिन पहिले रामले सीतालाई पूmलबारीमा दर्शन दिएको स्मरणमा पूmलबारी लिला, तेस्रो दिन जनकको शर्त अनुसार धनुष यज्ञको आयोजना, चौथोदिन राम र सीताका अलग महन्तहरुले गर्ने तिलक महोत्सव, पाचौँ दिन विवाह मण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व सम्पन्न भइसकेको छ । छैठौँ दिन बाह्र बिगाहा क्षेत्रमा रामजानकीको डोलालाई स्वयंबरमा सरिक गराइँदै साँझ भव्य विवाह बन्धनमा बाँध्ने परम्परा र सातौँ दिन जसलाई राम कलेवा भनिन्छ, जन्तीहरु विदाइ गरिने, उपहार, कोसेली दिंदै उत्सवको समापन गरिने दिन मार्ग २३ गते पनि विदा भइसकेको छ अहिले ।
छोरी विदाइ गर्दा कुन बाबुआमाको आँखा नरसाउला र त सत्य युगमा छोरी शकुन्तलालाई भरतसँग विदाइ गर्दा बाबु कण्वले दिल दुखाएको प्रसंगः
‘हुन् माल छोरी अरुलाई दिने राखी धरौटी सरी जानी लिने, आनन्द छु आज गरी बिदाइ हल्का भए झैं अऋणी कहाइ’

भनी काव्यकारहरुले प्रशंसा गरेका छन् । अयोध्याका राम र नेपालकी सीताको विहे परम्पराले दुबै देश बीचको अकाट्य र बेजोड सम्बन्धको परिचय दिन्छ । अहिले हामी सिमा विवादमा छौँ । सम्झनै नसकिने क्षण, नेपालको सबैजसो व्यापार उतै भारततिरै हुने र अहिले पनि बीसौँ लाख नेपाली उतै छन् रोजगारी वा अन्य कारणले । भरखरै भारतले चिया निकासीमा उल्झन ल्याएको छ । पूर्वतिरबाट निकासी हुने गरेको पाम आयल निकासीमा यसै डिसेम्बरको अन्त्यदेखि प्रतिबन्ध लगाउने समाचार बाहिर आएको छ । यसअघि पनि धेरै विषयमा दुई देशका बीचको मुद्दाहरु पाखा लागेका छैनन् । भारत नेपालको सम्बन्ध रोटीबेटीको मात्रै होइन यहाँको धर्म, संस्कृतिदेखि अथाह जलभण्डार सँगको पनि हो । दुबै देशबीच वादविवाद नभई दैवी परम्परालाई पनि हेरिनु पर्ने हो जसले दुवै देशको अर्थ राजनीति समेत बलियो हुन सक्थ्यो कारण भारतको उत्पादनको निकासी सजिलो स्थल पनि नेपाल नै हो ।

गत वर्ष हाम्रो लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता पश्चिमी क्षेत्रहरुलाई समेटी भारतले आफ्नो  नक्सा सार्वजनिक गरेपछि नेपाल भारतको सौहाद्रतामा चिसोपन आएको र नेपालले पनि  आफ्नो संविधान नैै संशोधन गरी सोे भूभाग  आफ्नो नक्सामा गाभेपछि २ देशकाबीच फाटो बढेको र हालैको जन गणनामा असर परेको छ । २ वर्ष अघि भारतका र यहाँका प्रमले जानकी विहेकै दिन संयुक्त रुपमा जनकपुरमा विशेष कार्यक्रम नै राखेका थिए । त्यसो त जनकपुरमा जानकी विवाह हरेक वर्ष भव्यताका साथ मनाइन्छ । पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर छ । परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रुप लिएर चित स्वरुपमा रहेको र जगत्मा सगुण, साकार स्वरुप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरुले ब्याख्या गरेका छन् ।

हाम्रा श्रुति (वेद) हरुले परमतत्व जीवात्मामा आराम तत्व लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरुले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरु अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् । परमेश्वरका अनेक अवतारहरुमध्ये त्रेता युगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भको दिन स्मरणस्वरुप चैत्रशुक्ल मध्याह्न बाह्रबजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रुपमा मानिएको छ । अयोध्याका नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरुपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रुपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरु प्रशस्त पाइन्छन् । उनै रामसँग सीताको विवाह प्रसंग नै विवाह पंचमी हो ।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए । मरामरा भन्ने नाम जप्दा रामराम भन्ने शब्द उच्चारण हुुन पुगी तपश्वी साधकका रुपमा श्रीरामका पावन कथा प्रसंगहरुको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखवाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रुप लिएका प्रसंगहरु पनि यत्रतत्र भेटिन्छन् । सबै मानिसका लागि वेद सरल र सहज छैन परंन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुदै संसारभरि फैलिएको छ । रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो, भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ । आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ ।

शोक, भय, चिन्ता, ब्याकुलतामा परेकाहरुको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरुको संकीर्तन नै हो । ब्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्य समेतले रामायणको चर्चा गर्न छाडेका छैनन् । अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरुको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय बासनाहरु समेत मोहित बन्न पुग्छन् । धर्तीमा रहेको प्रदुषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरुको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई भने रामनवमीको नामले पुकारिन्छ ।

दशरथले राममा पाएको पितृस्नेह, पत्नीब्रत धर्म अर्धाङ्गिीनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानव जीवनको यथार्थपरक आस्था हो । ब्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, ऐस आरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन संचालन गर्न सबैलाई संस्मरण गराउँछ । रामबस जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन् । जीवनका लागि यो भन्दा ठूलो त्याग के पाइन्छ । बाबुको बचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतिक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाई र आदर्श राजा समेत हुन् । सदाचारको आदर्श र ब्यवहार प्रयोगको असल नमूना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ठ र सर्वाेत्तम शास्त्र हो ।

नेपालभूमि, जानकीको जन्मभूमि जनकराजाको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार जनकपुर क्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षी नारदसँग भगवानको अवतार प्रसंगबारे प्रश्न राख्दा भगवानका अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो । पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिको उषाकालमा मरिचि आदि ऋषि मुनिहरुलाई अशांशका अवतारका रुपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार, कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकता अनुसार अवतार लिने बारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भगवत् गीतासम्ममा चर्चा भएको पाइन्छ ।

शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरु सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि संचालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखा पर्छ । हिरण्यराजले उपद्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेब प्रह्लादलाई बचाउन नृसिंह, समुद्रमन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सांख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरुबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ । दुष्ट राजाहरुको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्धअवतार लिने प्रसंग पनि शास्त्रहरुमा वर्णित छ । त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्किअवतार लिने पनि भविष्यवाणी गरिएको छ ।

रामायणको विविधता अनुसार पायसको चर्चा पनि फरक फरक भएको देखिन्छ । रानी कौशल्या र कैकेयी नजिक रहेकी र सुमित्रा पछि आइपुगेकीले दुईभागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिंदा सुमित्रामा २ गर्भ रही लक्ष्मण र शत्रुघन २ पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघन भएकाले स्वभाव पनि उस्तै उस्तै राम र भरतसँग मिल्दोजुल्दो भनिएको छ । पायस वितरणको प्रसंगले हनुमानको उदयको चर्चा पनि जोडिन पुग्छ । रानीहरुले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चील आएर सुमित्राको हातको पायस टपरी लिएर गयो । आफ्नो पायस उडाएर लैजाने चील भने देवसभाकी अप्सरा भएकी र इन्द्रसभामा नृत्य प्रस्तुत गर्दागर्दै खुसी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाई दिंदा ब्रह्माले यो देखेर रिसाएर चीलले सिनो झम्टेर लिए झैं माला लिएकीले चील योनीमा जन्महोस् भनी श्राप दिएपछि देवताहरुको आग्रहमा चीलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनि छुट्ने बचन ब्रह्माजीले नै दिएकाले सुमित्राको पायस लिने यही चीलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलिसामु राखिदियो ।

कौशल्याको प्रसूति कक्षमा श्रीराम प्रकट हुँदा २० फिट लामो आकार, हातमा शङ्ख, चक्र, गदा, पद्यसहित, श्यामवर्ण, पीताम्बरधारी, मुकुटको पहिरन साथ हुनु भएको मातालाई यो अद्भूत दर्शनले चकित तुल्याएको, माताको आग्रहमा वाल्यभावमा प्रस्तुत भएपछि कोठामा बच्चा रोएको आवाज आएको तुरुन्तै अन्य रानीहरुका कोठाबाट बच्चाको रोदन सुन्न थालिएको, राजप्रासाद हर्षले विभोर भएको, अनेकौं शुभकामना आदानप्रदान, गोदान, नान्दीमुखीश्राद्ध आदि कर्म भएको, अयोध्यामा जात संस्कार कार्यमा प्रचुर धनदान भएको प्रसंग सन्त तुलसीदासले वर्णन गर्नु भएको छ । यस्तो प्राचीन परम्परा बोकेको दुई देशको संस्कृति अन्यत्र पाइँदैन, त्यसैले नेपाल भारतको सम्बन्धमा थप मिठासता ल्याउन जरुरी छ ।