(माओवादी केन्द्रले आगामी पुस ११–१३ गते ३ दिनसम्म काठमाडौंमा पार्टी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । यति बेला सबै राजनीतिक पार्टीभित्र ‘नेतृत्व नयाँ पुस्तामा’ भन्ने नारा निकै लोकप्रिय बनिरहेको छ । तर त्यसको व्यवहारिक कार्यान्वयन राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मात्र हुन गएको छ । एमाले १० औं महाधिवेशनबाट पुरानै नेतृत्व बोकेर हिँडिसकेको छ । काँग्रेस पनि त्यतैतिर सोझिएको देखिन्छ । यो बेलामा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट नेतृत्वबारे के गर्ला भनी यसैको सेरोफेरोमा रहेर माओवादी केन्द्रका नेता लिलामणि पोखरेलसँग गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको महत्वपूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. पार्टीको राष्ट्रिय सम्मेलनको तयारी कस्तो छ ?
पार्टी सदस्यता नवीकरण टुंगिएको छ । स्थानीय तहदेखि सम्मेलन सम्पन्न हुँदै आएका छन् । यी सम्मेलन पार्टीका भौगोलिक तथा गैरभौगोलिक दुवै क्षेत्रमा सम्पन्न हुँदै आएका छन् । पार्टीमा रहेका यी दुवै क्षेत्रगत संरचनाको सम्मेलन निकै उत्साहजनक रहेका छन् । वडा, पालिका र जिल्लासम्म सम्मेलन धमाधम सम्पन्न भैरहेका छन् ।
२. सम्मेलनका लागि कस्तोखाले कार्यविधि कस्तो बनाउनु भएको छ ?
महाधिवेशन वृहद रुपमा सम्पन्न हुन्छ तर राष्ट्रिय सम्मेलन त्योभन्दा केही निस्चित रुपमा तोकेर गरिन्छ । केन्द्रले प्रतिनिधि तोकेर पठाउँछ । अहिलेको राष्ट्रिय सम्मेलनमा हामीले दुईवटा मोडालिटी अपनाएका छौं । पहिलो, आयोजक समिति स्वतः सम्मेलनको प्रतिनिधि हुनेछन् । यसमा केन्द्रीय समिति, सल्लाहकार परिषद, आयोजक, विभागका तोकिएका प्रतिनिधि रहने छन् । दोस्रोमा निर्वाचित वा मनोनयन भएर आएका प्रतिनिधिहरु रहने छन् ।
३. विधान परिमार्जन पनि हो यसपटक ?
हो, हामीले संक्रमणकालीन विधानको व्यवस्था गरेका थियौं । यसलाई अन्तरिम विधानको संज्ञा दिइएको थियो । अब यसलाई सापेक्ष स्थायी र बृहद् बनाउने तयारीमा छौं ।
४. संगठनात्मक हिसाबले तपाईहरुको पार्टी कस्तो छ ?
सार्वजनिक भएका तथ्यांक अनुसार साढे सात लाख सदस्यसंख्या नवीकरण भैसकेको छ । सदस्य थपिंदै छन् र नयाँ पनि बन्दै छन् । नेपाली कांग्रेसले ९ लाख र एमालेले आठ लाख भनिरहेका छन् । ती कसरी बनाएका छन्, उनीहरुको कुरा हो ।
एकीकृत समाजवादीले पनि कति बनाएको छ, त्यो एमालेकै पार्टी सदस्य संख्या हो । तर हामीहरुले हाम्रो आफ्नै र बनिबनाउ सदस्य संख्या सार्वजनिक गरेका हौं । प्रतिनिधि छनौट गरिने भएकाले यसमा बढाइचढाइ गरिएको छैन ।
५. अहिले पनि वर्तमान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा त पार्टी कमिटी निर्माण हुने होला ?
लिडरसिप भनेको स्थापित व्यक्तित्व हो । यो संस्था पनि हो । संगठनको आरम्भमा जसको वैचारिक नेतृत्वमा पार्टी बन्छ, उसैको वरिपरि सबै गोलबन्द भएका हुन्छन् । विचारको प्रतिनिधि पात्रको वरिपरि निर्माण हुने हुन्छ, प्रक्रिया पनि यही नै हो ।
यसका साथै उत्तराधिकार निर्माण गर्ने क्रम पनि हुन्छ । यसलाई लिडरसिप विकासको क्रम मानिन्छ । त्यो नेतृत्वबाटै पुस्तान्तरण हुनेमा कुनै पनि आशंका छैन । समयक्रमसँगै त्यो हुँदै जान्छ ।
६. त्यसो भए यसैपालाबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण संभव छैन ?
यो आवश्यकताले तयार हने कुरा हो । पुष्पकमल दाहाल प्रचण्ड पनि हिजो एकाएक नेतृत्वमा आएको त होइन । उहाँभन्दा अघि अरु नेता र नेतृत्व हुनुहुन्थ्यो । ‘लिडरसिप ग्रुम’ गर्नका लागि पनि एउटा समय लाग्छ ।
७. पार्टी फुटेको फुट्यै छ, यसैको कारणले त होइन ? पुरानोले केही गर्न नचाहने, तर नयाँले केही त गरौं भन्ने ?
यसमा पार्टी र यसको लिडरसिप असक्षम भएकाले पार्टीका अन्य नेताहरु फुटेर गए भन्ने निस्कर्ष ननिकालौं । फेरि गएका नेताहरु सक्षम भएर गएका भन्ने पनि छैन । बरु ती असक्षम भएर गए । यदि सक्षम भएको भए ती यहाँ बसेर पार्टी हाँकेर अघि बढ्ने थिए ।
हामीले बादलजीलाई नेता मानेकै हो । तर उहाँको पछिल्लो अवस्थाले त बादलजी कहाँ हुनुहुँदो रहेछ भनेर हैसियत छर्लंगै देखायो । बाबुरामजी कहाँ हुनुहुँदोरहेछ भन्ने अहिले देखियो । उहाँ त कम्युनिष्ट आन्दोलन छोडेरै जानुभयो ।
८. यसको अर्थ उहाँहरुमा लिडरसिप गर्ने क्षमता नै थिएन ?
हो, उहाँहरुमा लिडरसिप गर्ने क्षमता कहाँ देखियो त ? उहाँहरु त हराउन पुग्नु भयो । लिडरसिपले विचारको मामलामा श्रेष्ठता हासिल गरेको हुन्छ । अर्को कुरा, उसले संगठन संयोजन गर्नका लागि सिर्जनात्मक भूमिका खेल्नसक्ने हैसियत राख्छ । ऊसँग त्यो उदात्त भाव पनि हुनु पर्छ ।
लिडरसिपले कुनै गुट वा व्यक्ति च्यापेर अघि बढ्दैन । उसले सिंगो पार्टी र साथीहरुलाई हेर्छ, उनीहरुका क्षमतालाई हेर्छ । ती क्षमता र व्यक्तिहरुको संयोजन गर्छ । यसो गर्न सकेन भने लिडरसिप थोरै व्यक्तिहरुको घेरामा पर्छ । असफल हुन जान्छ ।
९. एमालेले ‘कम्युनिष्ट लिगेसी’ बोकेको छ भन्छन् त ?
तपाईले एमालेका आँखाबाट नेपालको कम्युनिष्ट आन्दोलनका लिगेसीलाई हेर्न थाल्नु भयो भने त्यो वस्तुवादी र यथार्थ दुवै हुँदैन । नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न धाराहरु विभक्त छन् । कम्युनिष्ट हुनुका मूलभूत आधारहरु एमालेले ‘फलो’ गरेको छैन ।
हामीले अस्ति भर्खरको एमाले महाधिवेशनलाई हेरे पुग्छ । म पनि त्यही थिए, ओलीजीको एकघण्टा लामो भाषणमा एउटा पनि मार्क्सवादको कुरा गर्नु भएन । उहाँले मार्क्सवादको ‘म’सम्म उच्चारण गर्नु भएन ।
एमालेको बन्दसत्रमा पनि मार्क्सवादको कुनै पनि सैद्धान्तिक बहस र छलफल भएन । जुन पार्टीमा विचार र दृष्टिकोणका बारेमा छलफल र बहस हुँदैन, त्यो पार्टी कम्युनिष्ट पार्टी नै हुन सक्दैन ।
१०. के हो त कम्युनिष्ट र मार्क्सवाद भनेको ?
मार्क्सवाद डोग्मा (जड विचार) मात्र पनि होइन र प्राग्मा (व्यवहार) मात्र पनि होइन । यो भनेको आजको विकसित समाजमा आएका वा भएका परिवर्तनले निम्त्याएका अन्तरविरोधहरुलाई वैज्ञानिक ढंगले हल गर्ने विधि र पद्धति हो ।
मार्क्सवाद सिर्जनात्मक प्रयोगमा रहन्छ । तथापि त्यसका आधारभूत कुराहरु भने रहिरहेका हुन्छन्, जस्तै वर्ग, वर्ग संघर्ष, द्वन्द्वबाट विकास हुने कुरा आदि रहिरहेका हुन्छन् ।
११. मार्क्सवादको मन्त्र जपिरहने, ठूल्ठूला सैद्धान्तिक कुरा गरिरहने तर व्यवहारमा अघि बढ्नु पर्दैन ? व्यवहारमा त भ्रष्ट संसदीय पुँजीवादी नै छन् त कम्युनिष्टहरु ?
हो, यही अन्तरविरोधलाई हल गर्न हामीले सोच्नु पर्छ । सिद्धान्तमा कम्युनिष्ट व्यवहारमा पुँजीवाद नै अहिलेको प्रमुख अन्तरविरोध हो । यो कम्युनिष्ट आन्दोलनभित्र देखिएको विकृति हो । यसको समाधानका लागि व्यवहारिक रुपमा हामी रुपान्तरण हुन जरुरी छ ।
१२. आफूहरु सधैं सरकारमा पनि रहिरहने र पार्टीको शीर्षस्थानमा पनि रहिरहने अनि रुपान्तरण हुनु पर्छ भनेको चाहिं कसलाई हो ?
नेपालमा आमूल परिवर्तन ल्याउन कसैले पनि सकेन । पञ्चायत पनि टिकेन । कांग्रेस एक्लैले संसदीय व्यवस्था टिकाउन पनि सकेन । कम्युनिष्टहरुले साम्यवाद ल्याउन पनि सकेनन् । यो भनेको नेपालको विशिष्ट राजनीतिक शक्ति सन्तुलनको अवस्था हो ।
यो विशिष्ट शक्ति सन्तुलनको अवस्थामा हामी सरकारमा रहेर आएका छौं । अहिलेको उपलब्धी भनेको उदार पुँजीवादी व्यवस्थाभित्र प्राप्त गरेको उपलब्धी हो । हामीले आफैले संविधान निर्माण गर्यौं पनि । तर त्यही संविधानअनुरुप जनताका हितमा काम गर्न हामीले सक्नु पर्छ । यो पनि भैरहेको छैन ।