घामबाट मुस्कुराउँदै स्वागत गर्न आएका ती किरणहरु
मेरो निधारमा ठोक्किँदै जब आँखाहुँदै
ओठसम्म पुगेर नाच्न थाल्छन्
अनि, बल्ल गएर अरु ठाउँमा आसिन हुन्छन् ।
हरेक दिन मसँग ठट्यौली गर्दै मुस्कुराउँदै
निस्किने ती सूर्यका किरणहरु
एक्कासी आजै मसम्म आइपुग्न अक्मकाइरहेका छन्
आमा, थाहा छ ?
घामले पनि म छुई भएको कुरोको पत्तो पाएछ नि !
आमा, थाहा छ ?
घामले पनि म छुई भएको कुरोको पत्तो पाएछ नि !
गुट्मुटिएको सोंच र च्यातिएका टाला
अल्झिएका नियन र बाङ्गेका भाँडा
गाँठो बनाई पठाउँदैछौं आमा
मलाई फेरि त्यो छाप्रो जस्तो देखिने नर्कमा
आमा, थाहा छ ? मलाई अस्तिको पाली त्यो
छाप्रोमा सर्पले झन्डै डसेको नि !
आमा, थाहा छ ? हिजो भर्खर तल्लाघरे काकी
त्यही छाप्रोमा पुरिएकी थिइन नि !
आमा, सुन्नुस् न आमा, हप्ता पहिले साहिँला काका कि छोरीलाई बाघले सिकार झम्टे झैं रातभर
ती मान्छेजस्ता देखिने राक्षसहरुले पालैपालो
तन उधारेर उनको सास नै झम्टिए नि !
यस्तो हुदाँहुदै तिमी ती ढुङ्गा रिसाउँछन् भनेर
आफ्नी मुटुकी टुक्रालाई फेरि आज
त्यो गोठ पठाउन खोज्दै छौ
हेर त आमा मलाई, के म तिम्री छायाँ होइन र ?
बिहान बाईबाई मामु भनेर ठिकठाक स्कूल गएकी छोरी
भरे ४ बजे स्कुल छुट्टिएर ४ः१० सम्म घर आइनपुग्दै
ती मामु छागाँबाट झरे झैं हुन्छिन्
दश ठाउँमा फोन गर्छिन्, अनि गहभरी आँशु पार्दै
घरबाट खोज्न निस्किन्छिन्
र जब उनले आफ्नी छोरीलाई बाटोमा सकुशल पाउँछिन्
सायद, त्यस्तो ढुक्क र खुसीको क्षण
उनी संसारमा कहीँ कतै खोजेर पाउँदिनन्
यहाँ छोटा लुगालाई दोष दिइन्छ
यहाँ घर बाहिर निस्किनेलाई दोष दिइन्छ साथी हो
यहाँ रजस्वला हुदाँ शीला छोएकालाई दोष दिइन्छ
यहाँ दाइजो नल्याएकालाई दोष दिइन्छ साथी हो
यहाँ असहाय, अपाङ्गलाई दोष दिइन्छ
यहाँ गरिबी, धर्म अनि जातलाई दोष दिइन्छ
तर, हामी यहाँ कोही दोषी छैनौँ
दोषी हाम्रो सोंच हो, हाम्रो विचार हो
सक्दिन नभनौँ है साथी
सोच बदलौँ, आफैँबाट सुरु गरौँ
अनि समाज बदलौँ ।
राममन्दिर सामुदायिक बालक्लब, काठमाडौं ।