डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय स्वयम् सेवा दिवसको रुपमा हेर्ने चलन छ । संस्कृत शब्द स्वयमको अर्थ हुन्छ आफै अर्थात् आफैले गर्ने सेवा स्वयम सेवा, पर सेवा अर्काको सेवा, समाज सेवा, राष्ट्र सेवा जे भने पनि आफू खटेर गरिने अरुको सेवा हो । पूर्वीय धर्म, दर्शनमा परोपकार पुण्याय पापाय परपीडनम् भनिएको छ । सेवा नै धर्म हो, उपकार नै ईश्वर सेवा हो । परोपकार भनौँ सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरु सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भन्नु भएको छ ।
अष्टादश पुराणेषु व्यासस्य वचनं द्धय । परोपकार पुण्याय पापाय परपीडनम् । अर्थात् सवै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरुलाई पिडा दिनु नै पाप हो । ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तर ह्रदयमा बस्छु । मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरिर मेरो मन्दिर हो, तिमीले बनाएको सुनको गजुर सहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिर बाहिर बस्ने मेरै रुपका दीन, दुःखी, असहाय, अपाङ्ग, पीडितलाई तिमी लत्याउँछौ, प्राणीको गला रेट्छौ’ । यही बुझेर होला महाकवि देवकोटाले भने, ‘हाडहरुका सुन्दर खम्बा मांस पिण्डका दिवार, नसा नदीका तरल तरंग मन्दिर आफै अपार’ ।
सबै प्राणीप्रति हाम्रो दयाभाव हुनु पर्छ, अपांग, असहायप्रति झन् बढी । हरेक वर्ष डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रुपमा हेर्ने गरिएको छ । आधुनिक समयको अन्तरालमा धेरै मानिस अपाङ्ग छन् । सन् १९९२ देखि हरेक वर्ष यस दिनलाई दिवसका रुपमा मानिन थालिएको हो । अघिल्लो वर्ष दिवसको नारा कोभिड–१९ पछिको उत्कृष्ट पुरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने रहेको थियो हाल सन् २०२१ को ३०औं दिवस मनाइरहँदा पनि नाराले सार्थकता पाएको भने देखिन्न ।
कोरोना कालमा यहाँ ४० प्रतिशतले आफ्नो रोजगारी गुमाए । नेपालमा नीति धेरै छन् तर परिवर्तन पनि भइरहन्छन् । अपाङ्ग अधिकार सम्बन्धी ऐन २०७४, नियमावली २०७७ पनि छ । तर तिनलाई दैनिक जीवनमा सहजता भएको छैन । सिपमूलक तालिम, अपाङ्गमैत्री भौतिक संरचना, यातायात, शौचालय, विद्यालय चाहेका छन् तिनले । ऐनको परिभाषामा आप्mनो सम्पति नभएका, स्याहार सुसार गर्ने नभएका, परिबार सदस्य, संरक्षक नभएका, आफै रोजगारी सिर्जना गर्न नसक्ने, जीविकोपार्जन गर्न नसक्ने, शारिरिक, मानसिक, बौद्धिक अशक्त, कार्यगत सिमितता भएका, अन्य व्यक्ति सरह सजिलै जिविका चलाउन असमर्थ व्यक्ति भन्ने परिभाषा गरिएको छ ।
उनीहरु साहस चाहन्छन्, धनकुटाकी झमककुमारी घिमिरे विकलाङ्ग भएर पनि चर्चित बनेकी छन् । उनको कृति ‘जीवन काँडा कि फूल’ले वि.सं २०६८ मा मदन पुरस्कार नै पायो । २७ वर्षअघि ताप्लेजुङमा जन्मेका रमेश प्रसाई रोल मोडल बने । जन्मदै २ हात नभएका ३७ वर्षीय फिलिपिनो अमेरिकन कक्स तेक्वाण्डोको ब्ल्याक बेल्ट पैले अपाङ्गता भएको लाइसेन्स पाइलट बनिन् । जन्मदा हात खुट्टा नभएका २७ वर्षीय अष्ट्रेलियन नागरिक निक भ्वइचिच आज संसारमा प्रसिद्ध छन् । हाम्रो अपाङ्ग संरक्षण कल्याण नियमावली २०५१ मा अपाङ्गलाई काममा प्राथमिकता दिने भनिए अनुसार स्थानीय निकायमा गएका यस्ता सरकारी कर्मचारीलाई जनप्रतिनिधिबाटै राम्रो व्यवहार नगरिएको गुनासो थियो । जनगणना २०६८ अनुसार १.९४ प्रतिशत जनता अपाङ्ग रहेको तथ्यांक छ ।
धेरै कारणले व्यक्ति अपाङ्ग हुन सक्छ, कोही जन्म जात, गर्भमा धेरै औषधि सेवनमा परेका आमाहरुको गर्भका कारण, क्रोमोजोम, वंशानुगत, प्राकृतिक प्रकोप, संक्रमण, गर्भावस्थामा आमाको खान पान, हेरचाहमा कमी, दुर्घटना आदि । सन् २०११ को युएनओको प्रतिवेदन अनुसार विश्वमा पछिल्लो समयमा १५ प्रतिशत मानिसहरु अपाङ्ग छन् । यस्तो संख्या विकसित भन्दा विकासोन्मुख देशहरुमा बढी देखिएका छन् । यति धेरै संख्यामा रहेका मानिसहरुलाई छायाँमा राखेर आजको संसारले विकासको अवधारणा पूरा गर्न सक्दैन न लोक कल्याणकारी राज्यको सपना पनि ।
आज संसारलाई कोरोनाले डल्लो पारेको छ । विज्ञानको चमत्कारहुँदा पनि डेढ वर्षमा ५० लाख मानिसको इहलिला समाप्त भयो । हाम्रा २ छिमेकीबाट निस्केको कोरोनाको मुस्लोले हजारौँ हाम्रै नेपालीलाई निलिसक्यो । अहिले हामी लगभग बेसहारा भइसकेका छौँ । ओमिक्रोन भाइरस कोरोना भन्दा ५ गुणा बढी शक्तिशाली भएको र यो पनि भारतमा समेत देखिएको भनिएको छ र यहाँ पनि सावधानीका ऊर्दीहरु जारी हुन थालिसकेका छन् । राजनैतिक कार्यक्रमका भीडमा कसैले केही नभन्ने, आर्थिक कार्यमा उठ्न नदिइने हाम्रो नियति भएको छ । उपकारको आदर्श भन्नु नै हर प्राणीप्रति दया हो । ईश्वरप्रतिको याद बिना दयाको अर्थ रहन्न । मुखमा रामराम बगलीमा छुरा भने झैं आदर्श बोक्नेहरुले नै पीडाको घाउमा मलम लगाउन नसक्दा नेपालीहरु स्वदेश विदेश दुबैतिर छट्पटिएका छन् । कहिले भूकम्प, कहिले चट्याङ, कहिले हुरीबतास, कहिले आगलागी र बाढी पीडित, कहिले सशस्त्र द्धन्द त कहिले झाडावान्ता, कहिले कोरोना के के हो के के नेपालीमाथि परेको संकट भनौँ पीडा ! जब जब संकट आउँछ, यसैमा दाऊ हान्नेहरुको भीड पनि कमी छैन देशमा ! अभिभावकको भूमिका समेत नदेखिएको अवस्थामा आदर्शका कुराले रोग, भोक, शोक त टर्दैन तथापि मनको बह कहँदा, सुन्दा, पढ्दा केही हलुको सम्म हुन्छ ।
विश्व युद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न प्mलोरेन्स नाइटिङ्गेलको नाम नसुन्ने सायदै कोही होलान् । मलम लगाउ आर्तहरुको चहर्याइरहेको घाऊ, यही त हो मानवीयता भनौँ समाजको सेवा । दे उताको नाम देवता हो, जोे आप्mनो स्वार्थका लागि मात्र बाँच्छ ऊ जीउँदै मरेतुल्य हुन्छ । सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौँ उसको सञ्चित धन ! त्यसैले त हाम्रा अग्रजहरुले भने दया हो पृथ्वीको भव जलधिको मुख्य तरणी । कोरोना उपचारमा कमिसन, ठेक्का पट्टा, आपूm आफन्त मोटाउने अरुप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै थुनिएर, निसासिएर मर भनेको अवस्थाले हामीले अभिभावक नपाएको महशुस हुँदैछ अहिले, विगतका दिनहरुमा पनि यस्तै चर्को अवस्थाबाट दिनहरु गुज्रेका हुन् हाम्रा !
हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रुपमा हेरेको हो तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छर्किएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीनदुःखी, गरीब, विपन्न, वृद्धवृद्धाको हालत त झन् खराब छ । आर्थिक रुपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै छ । अपाङ्ग, एकल, बालबालिका, किशोर, किशोरीको दुर्दशा हरिविजोग छ ।
अन्तर्राष्ट्रिय संघ–संस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धी, महासन्धी कति छन् कागजमा, कति छन् पुस्तकालयहरुमा । सरकारी निकाय मात्र होइन गैरसरकारी निकायहरुले नेपाली मुद्रा मात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा ! वर्षै पिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परि नै रहन्छन् । लैंगिक, जातीय छुवाछुतको अन्त्यहुनु पर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य हुनु पर्ने हो । युवा परिचालनबाट मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपण जस्ता व्यवहारिक कार्यक्रम सञ्चालन हुनु पर्ने हो । हिंसा पीडित महिलाहरुको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनःस्थापना केन्द्रहरुबाट उचित लाभ प्राप्ति हेतु लक्षित कार्यक्रम सञ्चालन गरिनु पर्ने हो । महिला विरुद्ध हुने हिंसा अन्त्य हुनु पर्ने हो ।
बालविवाह, तिलक, दाइजो प्रथा, छाउपडी एवं बोक्सी जस्ता कुरितिको अन्त्य हुनुपर्ने हो । सामूहिक उन्नयनमा सरकार पछि नहट्नु पर्ने हो । बालश्रमको अन्त्य हुनु पर्ने हो । सबैको, श्रमको महत्व र मूल्यांकन हुनु पर्ने हो । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नु पर्ने हो । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्नु पर्ने हो । मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपाङ्ग व्यक्तिहरुको हेरचाह र सुरक्षा अझ बढी जरुरी हुनु पर्ने हो, समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनु पर्ने हो । लोक कल्याणकारी राज्यको यही परिकल्पना हो ।
पूर्वीय धर्म–दर्शनले जुन सभामा वृद्धहरुको उपस्थिति हुँदैन । त्यो असलमा सभा हुनै सक्तैन भनेको छ । त्यस्तोे परिवारलाई राज्यले, समाजले सम्मान दिनु पर्ने हुन्छ । परित्यक्त, हिंसा पीडित, शारीरिक र मानसिक रुपले अशक्तहरुको अझ विशेष ख्याल गरिनु पर्ने हुन्छ । विपद् जोखिम, भुकम्प, वाढी पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनु पर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालन जस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मान जनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ, यो राज्यको दायित्व हो ।
हामीकहाँ अशक्त हरुको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरुको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यवसायिक तथा सीपमूलक तालीमका प्रावधानहरुलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि पेशागत भौतिक संरचनाहरुलाई अपाङ्ग मैत्री बनाउन सकेको छैन । (कोटेश्वर, कलंकी सडकमा यसको उदाहरण हेर्दा हुन्छ ) । दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरुप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपाङ्गता भएका व्यक्तिहरु सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।
उपकारमा नै अमृतको वास हुन्छ । उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रीय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाज भित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुझ्नु पर्ने हुन्छ । जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ ।
कायेन, मनसा, वाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनु पर्ने हुन्छ । नदी जसरी सलल वगेको हुन्छ । ज्ञान र वैराग्यरुपी बालुवामा भक्तिरुपी गंगाको प्रवाह भए झैं जीवनलाई प्रवाह गर्न सकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन् – ईश्वर वस्तछ गहिराइमा खोजी हिँड्छौं कुन पुर ? वेत्ता वा विद्धान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफू को हुँ आफ्नो श्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आफ्नोबाटो आफैंले निर्माण गर्नु जरुरी छ । सत्संग नै एउटा बाटो निर्माणको थालनी हो । निस्वार्थ कार्य बाटो निर्माणको थालनी हो । कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो ।
ज्ञानको उदात्तभावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन । “असतो मा सत् गमय, तमसो मा ज्योर्तिगमय, मृत्यो मां अमृतम् गमय” भनेको त्यही हो । अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरुप, पूर्णब्रह्म परमात्मा परमेश्वर आफैँ भित्र हुनुहुन्छ । चितस्वरुपबाट हामी चलायमान हुन सक्छौं । ईश्वरको अस्तित्व जीवबाट मेटिँदा ऊ मुढ बन्न पुग्छ । नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित्त र आनन्द स्वरुपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य संचिति बिना मानव देह प्राप्त नै हुँदैन । सत् ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञान झैं तुरुन्तै त्यसको असर पनि मिल्छ, अर्थात् परिणाममुखी हुन्छ । रेडक्रस, परोपकार, अपाङ्ग जे भने पनि दिवसहरुको सार्थकता यही हो ।