बालाचतुर्दशी आफैमा एउटा ठूलो पर्व हो । बालाचतुर्दशीमा ईन्द्रायणी माताको जात्रा मनाइन्छ । त्योभन्दा अघिल्लो दिन त्रयोदशीमा काठमाडौंको त्यौडस्थित देवघर थकु चोकबाट जात्रा गर्दै ईन्द्रायणी अजिमालाई मन्दिरमा ल्याई पुर्याइन्छ ।
थकु जुजु मल्ल थकालीले रात्रीमा गुह्य तान्त्रिक पूजा गरिसकेपछि कोटिहोम सुरु हुन्छ । कोटीहोम अजिमाको प्रतिमा अगाडि गरिन्छ । कोटिहोमको होमकुण्डमा लप्का छुटाएर आगो बालिन्छ ।
बलिरहेको कोटिहोमको यो आगोमा जीवित पंक्षी तथा सिरसृपलाई आहुती दिइन्छ । बलिरहेको आगोमा पहिले जीउँदो भंगेराको एक जोडीमध्ये एउटालाई आगोमा होमिन्छ । आगोमा होमिएको बाहेक अर्को भँगेरालाई आकाशमा उडाइन्छ ।
यसले पृथ्वीमा रहने हरेक जीवको मृत्यु एक साथ हुँदैन । कालक्रमका हिसाबले अघि र पछि हुन्छ । कोही अघि मर्ने र कोही पछि मर्ने हुन्छ भनी सन्देश खिन खोजिएको देखिन्छ । जीवनमा हुने बिछोडको पीडा पचाउनका लागि मानवमा यो चेतना र धैर्यता प्राप्ति होस् भनेर नै यसो गरिएको देखिन्छ ।
त्यसै गरी माछाको जोडी लिएर एउटालाई आगोमा र अर्कोलाई पानीमा छाडिन्छ । जोडी सरिसृपका रुपमा लिइएका दुई सर्पमध्ये एउटालाई आगोमा र अर्कोलाई जंगलमा छोडिन्छ ।
त्यसै गरी कीराफट्याङग्राको प्रतिनिधिका रुपमा जोडी फट्यांग्रालाई लिएर एउटालाई होममा आहुती दिइन्छ भने अर्कोलाई छोडिदिइन्छ । त्यसै गरी प्रेम प्रतिकका रुपमा रहेका परेवा जोडीलाई पनि एउटालाई होमको आगोमा र अर्कोलाई आकाशमा छोडिदिने चलन छ ।
एउटालाई आहुती दिने र अर्कोलाई छाडिदिने यो क्रममा फट्याङग्रालाई पृथ्वी, माछालाई जल, भंगेरालाई आकाश, परेवालाई वायु र सर्पलाई अग्निका रुपमा लिइने गरेको देखिन्छ । तर पनि यसलाई सर्पाहुति कोटी होम भन्ने चलन व्यापक छ ।
परापूर्वकालदेखि चल्दै आइरहेको यो होम ईन्द्रायणी अजिमाको खट जात्रामा नेवारी संस्कृतिको आफ्नैपनको विशेषताले भरिएको देखिन्छ । सर्पाहुति होम गर्दा देशमा शुभ मंगल भई बालीनाली पनि सप्रिने धार्मिक मान्यता रहिआएको छ ।