• मंसिर १२ २०८१, बुधबार

काँग्रेसको प्रदेश अधिवेशनमा त्रिपक्षीय भिडन्त : देउवा, पौडेल र सिटौलामध्ये को बलियो ?

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । सत्तारूढ दल नेपाली काँग्रेस पार्टी १४औँ महाधिवेशनको सम्मुखमा आइपुगेको छ । उसले केन्द्रीय अधिवेशन गर्नुपूर्व जिल्ला र स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । यसका साथै प्रदेश अधिवेशनका लागि पनि तयारी पूरा गरिसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उसले १६ गते प्रदेश अधिवेशनको उदघाटन गरेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले उक्त अधिवेशनको उदघाटन गरेका हुन् । यद्यपि देशमा संघीयता लागु तथा कार्यान्वयन हुनु पहिले काँग्रेसको प्रादेशिक सांगठानिक संरचना थिएन । यो पहिलो अभ्यास हो ।

१७ गते नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता, दाबी र विरोधको काम सकिएका छ भने १८ गते उक्त अधिवेशन हुँदैछ । १३औं महाधिवेशनसम्म आइपुग्दा प्रदेश संरचना बनेको थिएन । विधानमा उल्लेख भएअनुसार, ‘प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले मात्र भाग लिन पाउने छन् । देश संघीयतामा गएपछि २०७५ मा नवौं पटक विधान संशोधन गरेर प्रदेश संरचना बनाइएको छ ।’

सोहीबमोजिम प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन जारी छ । प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिका ७ जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ ।

निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार प्रदेशको अधिवेशनमा प्रदेश १ मा १ हजार ७ सय ७० र प्रदेश २ मा २ हजार ७० मतदाता छन् । बागमती प्रदेशमा २ हजार १ सय ३७, गण्डकी प्रदेशमा १ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा १ हजार ६ सय ४२, कर्णाली प्रदेशमा ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ८७ मतदाता छन् ।

कुन प्रदेशमा को बलियो ?

काँग्रेस पनि प्रदेश संरचनामा गएसँगै उसले नयाँ नेतृत्व छनोटका लागि प्रदेश अधिवेशन थालेको हो । प्रदेश अधिवेशनको निर्वाचनमा त्रिपक्षीय अर्थात् देउवा, पौडेल र सिटौला समूहबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

प्रदेश १ मा शेरबहादुर देउवा–सिटौला समूहबाट झापाका पूर्वसभापति उद्धव थापाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशन अझै केही ठाउँमा हुन बाँकी नै छ । प्रदेश अधिवेशनको लागि भने धमाधम सभापति पदका आकांक्षी देखिएका थिए । यद्यपि आकांक्षी देखिए पनि उम्मेदवारी सहमतिका आधारमा दर्ता गराइएको छ ।

जसमध्ये भौतिक पूर्वाधार विकास तथा प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी नेता विमलेन्द्र निधि निकट मानिन्छन् । त्यहाँ देउवा समूहबाट कृष्ण यादव उम्मेदवारका बलिया दाबेदार हुन् । प्रदेश सभापतिका आकांक्षी सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका महेन्द्र रायले रौतहटका कृष्ण यादवलाई समर्थन गरेको खण्डमा मन्त्री यादव कमजोर उम्मेदवार बन्नेछन् ।

बागमती प्रदेशमा भने देउवा समूहबाट पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ पौडेल समूहबाट नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले उम्मेदवारी दिएका छन् । केसीले आफ्नो पक्षमा जनमत भएको र आफूले निश्चित जित्ने दाबी गर्छन् । अधिवेशन हुनु अगावै देउवा, सिटौला समूहबीच सहमतिको बाटो खोजिए पनि सिटौला समूहका भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएपछि सहमति हुन सकेन ।

गण्डकी प्रदेशमा सभापतिमा अर्जुनप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् । उनी सभापति देउवानिकट मानिन्छन् । पौडेल समूहबाट भने कास्कीका पूर्वजिल्ला सभापति शुक्रराज शर्माले उम्मेदवारी दर्ता गराए ।

लुम्बिनी प्रदेशमा भरतकुमार शाहले सभापतिमा उम्मेदवारीमा दर्ता गरेका छन् । उनी देउवा समूहका हुन् । उनलाई गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणको सहयोग छ । पौडेल समूहबाट अमरसिंह पुनले उम्मेदवारी दर्ता गरेका छन् ।

कर्णाली प्रदेशमा देउवा समूहबाट संविधान सभा सदस्यसमेत भइसकेका जुम्लाका ललितजंग शाहीले उम्मेदवारी दर्ता गरेका छन् । पौडेल समूहबाट तरुण दलका महामन्त्रीसमेत रहेका कालीकोटका भूपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् भने निधि समूहका मोतीराज बमले उम्मेदवारी दर्ता गराएका छन् ।