• मंसिर १३ २०८१, बिहीबार

कसैलाई पनि प्रतिबन्ध लगाउने ‘नियत’ नरहेको अमेरिकी राष्ट्रपति बाइडनको स्पष्टोक्ति

मंसिर १५ २०७८, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कुनै पनि देशलाई आफूहरुले नाकाबन्दी लगाउने नियत नरहेको स्पष्ट पारेका छन् । कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोनको उत्पत्तिस्थल दक्षिण अफ्रिकासँग विश्वका सबै देशहरुले स्वास्थ्य सतर्कताको दुरी कायम गरेपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले अमेरिका, युरोपलगायतका देशहरुले अफ्रिकामा अघोषित नाकाबन्दी लगाउन खोजेको संकेत गरेका थिए ।

रामापोसाले कोभिड–१९को नयाँ उत्परिवर्तन ओमिक्रोनको त्रासभन्दा पनि ‘अफ्रो–फोबिया’का कारण युरोप अमेरिकालगायतका देशहरु आफूहरुबाट टाढा हुन चाहेको बताएका थिए । त्रास स्वास्थ्यको होइन, छालाको रङको हो भन्ने रामापोसाको कडा टिप्पणी आएपछि बाइडनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओमिक्रोन अहिलेसम्मका कोभिड उत्परिवर्तनहरुमा सबैभन्दा कडा रहेको भन्दै अमेरिका तथा युरोपीय देशहरुले स्वास्थ्य संकटकाल र लकडाउनको घोषणा गरिरहेका छन् । देशमा यस्तो अवस्था निम्तन आइपुग्दा यी देशहरुले अफ्रिका र मूलतः दक्षिण अफ्रिकासँग केही समयका लागि आफ्नो हवाइ उडान समेत बन्द गरेका छन् ।

तर राष्ट्रपति रामापोसाका अनुसार ओमिक्रोनका बारेमा अहिले नै त्यति विधि आतंकित भैहाल्नु पर्ने अवस्तथा सिर्जना भएकै छैन । किनकि, यो उत्परिवर्तनका बारेमा खोज तथा अनुसन्धान अझै पनि जारी छ । विश्व स्वास्थ्य संगठनले पनि यसका बारेमा आधिकारिक धारणा बनाइसकेको छैन ।

 

तर पनि यो उत्परिवर्तनको प्रभावबाट बच्नका लागि एशियाका देशहरुले समेत लकडाउन गर्न थालिसकेका छन् । पहिलेका उत्परिवर्तनभन्दा चार गुणा बढी बिस्तार र प्रभाव रहेको मानिएको ओमिक्रोनका बारेमा विश्व स्वास्थ्य संगठनले पनि प्रारम्भिक अवस्थामै गम्भीर चिन्ता व्यक्त गरी सतर्कताका लागि अनुरोध गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कुनै पनि देशले आफूमात्र बच्ने उपायको खोजी गरेर ढुक्क हुन चाहिरहेको छ भने त्यो उसको मूर्खता मात्र हुने कुरामा पनि सचेत गराएको छ । अहिले कोभिड महामारीका विभिन्न उत्परिवर्तनहरु विकास हुनुको पछाडि विकसित देशहरुले विकास गरेका खोपहरुको विश्व मानव जगतमा समान वितरण हुन नसकेकाले पनि ठूलो भूमिका खेल्न पुगेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

तर विकसित देशहरुले विश्व स्वास्थ्य संगठनको यो चेतावनीलाई अहिलेसम्म त्यति बढी गम्भीरताका साथ लिइरहेका छैनन् । अमेरिकी राष्ट्रपति बाइडन पनि खोपको समान वितरण गर्नेमा केही कुरा पनि बोलेका छैनन् ।