• मंसिर ८ २०८१, शनिबार

१६ घण्टामा एक वर्ष हुने अर्को ‘वृहस्पति ग्रह’ भेटियो

मंसिर १५ २०७८, बुधबार

काठमाडौं । पछिल्लो पटकको वैज्ञानिकहरूको ब्रह्माण्डीय खोजीमा नयाँ बृहस्पति ग्रह पत्ता लागेको छ । नयाँ नयाँ खोज र अनुसन्धान क्रममा यो ग्रह भेटिएको हो । वैज्ञानिकहरूले ब्रह्माण्डमा पत्ता लगाएको यो ग्रह जतातिरबाट हेर्दा पनि बृहस्पति ग्रहजस्तै छ ।

अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ । यसको स्वभाविक अर्थ हुन्छ, यो ग्रहले यसको केन्द्रमा रहेको तारालाई मात्र १६ घण्टामा एकपटक फन्को मारिसक्छ । अर्थात् १६ घण्टामा यसले परिक्रमण पूरा गरिसक्छ ।

पृथ्वीले सूर्यको परिक्रमण गर्दा ३६५ दिन लाग्छ । अथवा यसले सूर्यलाई एकफन्को लगाउन ३६५ दिन लाग्छ । यसैलाई आधार मानेर पृथ्वीमा ३६५ दिनको एक वर्ष मान्न थालिएको हो ।

वृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्न लगभग ४,३८० दिन लगाउँछ । त्यो भनेको वृहस्पति ग्रहमा एक वर्ष हुन पृथ्वीको लगभग १२ वर्ष हुन आउँछ  । पृथ्वीको १२ वर्ष बराबर वृहस्पति ग्रहमा मात्र एक वर्ष हुन्छ ।

अहिले पत्ता लागेको नयाँ वृहस्पति ग्रहमा भने जम्मा १६ घण्टाको एक वर्ष हुन्छ । पृथ्वीको मापदण्डलाई आधार मान्ने हो भने त्यहाँको एक महिना भनेको पृथ्वीको १ घण्टा ३४ मिनेट जतिमात्र हो । त्यसै गरी एक दिन भनेको ४४ सेकेण्ड जति मात्र हो ।

तर यो ग्रह हाम्रो सौर्यमण्डलको होइन । यो अन्तरीक्षमा रहेको अर्को ताराको ग्रह–समूहमा पर्छ । वैज्ञानिकहरूले यसको नाम टोइ–२१०९बी राखेका छन् । हासम्म पत्ता लागेकामध्ये यो ग्रह ब्रह्माण्डमा दोस्रो सबैभन्दा तातो ग्रह हो ।

यसको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । त्यसैले यसको नाम ‘अल्ट्राहट जुपिटर’ अर्थात् अतितप्त वृहस्पति भनेर पनि राखिएको छ । यसको ग्रह सतहमा विसाल ग्यास भण्डार रहेको छ ।

यो ग्रहको घनत्व हाम्रो सौर्य परिवारको वृहस्पतिभन्दा झण्डै पाँच गुणा बढी छ । यो बृहस्पति ग्रहजस्तै तातो छ । वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४ हजारभन्दा धेरै यस्ता ग्रह पत्ता लागिसकेका छन् । तर यस्ता ग्रहहरु सबै सौर्यमण्डलभन्दा बाहिर रहेका छन् ।

यी ग्रहहरुले पृथ्वीभन्दा हजारौँ प्रकाश वर्ष टाढा रहेका ताराको परिक्रमा गरिरहेका हुन्छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट अन्तरगत एमआईटी नेतृत्वको अनुसन्धान मिसनले उक्त नयाँ ग्रह पत्ता लगाएको हो ।