• मंसिर १२ २०८१, बुधबार

ओलीको बंकर भवन प्रवेशमा देउवाको साइत !

मंसिर १४ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा निर्मित बङ्कर सहितको अत्याधुनिक सरकारी भवनमा अब छिट्टै सर्दैछन् । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि भनेर उक्त अत्याधुनिक भवन शिलान्यास गरी निर्माण गर्न लगाएका थिए ।

प्रम देउवाको बसाइसराइ :

ढिलोमा मंसिर २४ गतेभित्र यो भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गरिने छ । त्यसपछि प्रधानमन्त्री केही दिनभित्रै मंसीरमा महिनामा नै उक्त भवनमा सर्ने योजना रहेको छ । निर्माण र रंगरोगन लगायतका सबै काम पूरा भैसकेकाले प्रधानमन्त्रीले साइत हेर्न र जुराउन मात्र बाँकी छ ।

सधैं ज्योतिषको सल्लाहअनुसार आफ्ना नयाँ र रणनीतिक महत्वका कामहरु गर्ने गरेका प्रधानमन्त्री देउवाले यसपटक पनि ज्योतिषको सल्लाहअनुसार शुभसाइत पारेर नयाँ भवनमा सर्ने विचार गरिरहेका छन् ।

चर्चामा ओली–बंकर :

प्रधानमन्त्री देउवाको नयाँ भवनमा बसाइसराइ भन्दा पनि ओलीले किन परिकल्पना गरेका थिए बंकर भवनको भन्ने जिज्ञासा अहिले आमजनताको चासो बनेर आएको छ । यसका पछाडि तात्कालीन र अहिले पनि नेपाली आकाशमा मडारिइरहेको एमसिसीको मुद्दाले काम गरेको देखिन्छ ।

ओली स्वयम् एमसिसीका पक्षधर हुन् । उनको कार्यकाल वासिंगटन–मैत्री रहेको थियो । चुच्चे नक्सा निर्माणका कारण दिल्लीसँग उनको दुरी टाढा हुनु स्वभाविकै थियो । दिल्लीसँग दुरी टाढा हुनुको कारणले त होइन, तर एमसिसी पारित हुने कुराले ओलीलाई बंकर भवन निर्माणको परिकल्पनातिर डोर्याएकोमा आशंका छैन ।

ओलीले एमसिसी संसदबाट पारित नगरिनहुने बाध्यताको बोध गरिरहेका थिए । साथै, यो अन्तर्राष्ट्रिय अन्तरविरोधलाई लिएर आफूले घरेलु खेल खेल्ने तयारी पनि गरिरहेका थिए । यस्तो बेला आन्तरिक र बाह्य दुवै हिसाबमा ओलीले नयाँ द्वन्द्वको अवस्था देखिरहँदा बंकर भवनको परिकल्पना र निर्माण स्वभाविकै रुपमा हुन गएको देखिन्छ ।

अमेरिका–चीन भिड्छन् भन्नेमा ओलीको विश्वस्तता :

तात्कालीन प्रम ओलीले अमेरिका र चीन बीचको संघर्ष नेपाली भूमिमा नै अवश्यंभावी भएको देखिरहेका थिए । उनले यो भिडन्त र रस्साकस्सी आफ्नै पालामा हुने आँकलन समेत गरिरहेका थिए । यसलाई अवसरका रुपमा प्रयोग गर्न निजी योजना निर्माण र कार्यान्वयनको तरखरमा पनि ओली विश्वस्तै भएर लागिपरिरहेका थिए ।

उनी हरेक कुरामा ढुक्क देखिन्थे । भित्रभित्र तयारीमा पनि लागिरहेका थिए । यो तयारीको आमजनताले देख्ने गरी आएको प्रतिफल भनेको प्रधानमन्त्रीको बंकर भवन हो । बंकर भनेको जमिनमुनी बनाइने सशस्त्र फौजी किल्लाबन्दी हो ।

युद्धका बखत यो किल्लाबन्दीमा आफ्नो सुरक्षा हुने उनले देखेका थिए । यो अस्वाभाविक पनि होइन । उनी त्यति नै बेला रातारात अध्यादेश ल्याएर आफ्नै पार्टीभित्र ‘को कुन शक्ति राष्ट्रतिर’ को कित्ताबन्दी र ध्रुवीकरण गरेरै अघि बढ्न चाहिरहेका पनि थिए ।

ओलीको आलकाचो निष्कर्ष :

ओलीले द्विपक्षीय युद्धको त परिकल्पना गरे । तर नेपालमा हुनसक्ने जुनसुकै पनि अन्तर्राष्ट्रिय तनाव, द्वन्द्व वा युद्ध सधैं त्रिपक्षीय हुन्छ र हुनेछ भन्नेमा ध्यान पुर्याउन सकेनन् । बरु उनले अन्तर्राष्ट्रिय महाशक्ति बीचको अन्तरविरोध पूर्णतः पाकेको वा परिपक्व रहेको सहज नजरअन्दाज गर्न पुगे ।

यो अनुमानमा अन्तरविरोध पहिचानका हिसाबले उनी गिजोलिएको अन्तरविरोध भन्दा पनि प्रमुख अन्तरविरोधको मुख्य पहलु अर्थात् अमेरिका–चीन सिधै भिड्ने र भारतले अमेरिकाको सहयोगी भूमिका मात्र निर्वाह गर्ने निचोडमा पुगेका थिए । चनाखो बन्ने नाममा यही हतारोले ओलीलाई बंकर निवास निर्माणतर्फ डोर्याएको देखिन्छ ।

कति मरे बन्दुकैले, कति मरे स्वरले’ :

एमसिसी संसदबाट पारित हुनासाथ अमेरिकी आगमनसँगै त्यति बेला नेपाल सन् २००१ को ‘अफ्गानिस्तानजस्तै’ बन्ने हल्ला पनि कम थिएन । तर कतिपय कुटनीतिज्ञहरुले नेपालले भारतको ‘बिप्पा’ र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ पनि पारित गरिसकेको कुरा पनि बिर्सिइसकेका थिए । यसको अर्थ हो, नेपालमा अमेरिका, भारत र चीनको त्रिपक्षीय स्वार्थ छ भन्ने कुरा बिर्सन खोज्नु ।

यही कुराको हेक्का नहुँदा ‘राजनेता’ हरु पनि ‘बन्दुकले नभएर स्वरले मरेको’ देखियो । यही पृष्ठभूमिमा बालुवाटारमा ‘बंकरवाले भवन’ बन्न पुगेको थियो ।

‘म प्रधानमन्त्री रहिरहन्छु’ भन्ने आँट :

 आफू सधैं राज्यसत्ताको हर्ताकर्ता रहिरहने छु’ भन्ने तात्कालीन प्रम ओलीको एउटा बिछट्टैको आँट वा सोच पलाएको देखिन्छ । उनको पालामा प्रधानमन्त्रीको निवासमा गरिएको भौतिक व्यवस्थापनले यो सारा कुराको पोल आफै खोल्छ ।

उनी त आवधिक रुपमा निर्वाचित प्रधानमन्त्री थिए । सकेमा पाँच वर्षका लागि नसकेमा त्योभन्दा अघि नै उनले बालुवाटार त छोड्नै पथ्र्यो । तर उनले बालुवाटारभित्र गरेको व्यवस्थापन निजी घरमा गरिएको भन्दा कम थिएन र छैन ।

यो सोच कहाँबाट पलाएको होला ? यसका बारेमा शान्ति प्रक्रियापछि बालुवाटार छिर्ने बित्तिकै ‘डेढ लाखको खाट’मा शयन गरेका तात्कालीन प्रम पुष्पकमल दाहाल प्रचण्डले पनि आश्चर्य व्यक्त गरिरहेका छन् । उनले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए– ‘ओलीजीले बालुवाटारमा संग्रह गरेका अति महंगा बिलासिताका सामान देखेर देउवाजी पनि चकित हुनुभयो ।’

अमेरिका–चीन द्वन्द्वले ओलीराज अजम्मरी बनाउथ्यो त ? :

अमेरिका–चीन द्वन्द्वले ओलीराज अजम्मरी बनाउथ्यो त भन्ने विषय अहिले ‘हाइपोथेसिस’ वा परिकल्पनाको विषय बनेको छ । किनकि, ओली बहिर्गमनपछि अहिले देउवा बालुवाटारमा छन् ।

यसका पछाडि धेरै खेलहरु भएका छन् । राष्ट्रिय रुपमा पनि र अन्तर्राष्ट्रिय रुपमा पनि । तर नेपालको घरेलु राजनीतिक परिस्थिति सधैं तरल हुने देखिएको छ । यसमा नेपाली शासकहरुमा अन्तरनिहित दलाल चरित्र र त्यसका वरिपरि रहेका तीन महाशक्तिको आआफ्नो कक्षमा गति आइरहँदा टाढा र नजिक हुने प्रक्रियामा तिनीहरुको गुरुत्व बलले तान्दा कहिले एकत्रित त कहिले छिन्नभिन्न गराउने प्रक्रियाले ठूलो काम गरिरहेको छ ।

यही आन्तरिक तथा बाह्य कारणहरुले गर्दा पनि ओलीको सत्तारोहण अजम्मरी हुन सक्दैनथ्यो ।

देउवाको साइत :

देउवाका ज्योतिषले उनलाई ओली बङ्कर भवनमा प्रवेशका लागि साइत हेरिरहेका छन् । शायद यो भवनमा देउवा यही मंसीर महिनाभित्रै सर्छन् होला । उनको तयारी पनि यसरी नै रहेको खुलासा हुन आएको छ । ज्योतिषको सल्लाहअनुसार भनिए पनि देउवा स्वयम् उक्त अत्याधुनिक भवनमा छिट्टै सर्नका लागि लालायित देखिएका छन् ।

तर प्रम देउवा उक्त भवनमा बसाइ सर्दा उनले भवन मात्र होइन, पूर्व प्रम ओलीले देखेको सपना र कल्पनाको पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता कायमै छ । त्यो हो, एमसिसी पारित गरी अमेरिका–चीनबीचको द्वन्द्व आफ्नै कार्यकालमा नेपाली भूमिमा ल्याइपुर्याउने ।