• मंसिर १३ २०८१, बिहीबार

‘ओमिक्रोन’ कि ‘अफ्रो–फोबिया’ ? : राष्ट्रपति रामापोसाको अमेरिकालाई प्रश्न

मंसिर १३ २०७८, सोमबार

काठमाडौँ। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले अमेरिका, युरोपलगायतका देशहरु कोभिड–१९को नयाँ उत्परिवर्तन ओमिक्रोनको भन्दा पनि अफ्रो–फोबियाका कारण त्रसित हुन गएको बताएका छन् ।

ओमिक्रोनको आगमनसँगै अफ्रिकी देशहरुबाट मानिसहरु आआफ्ना देशमा आउन नदिने र अफ्रिकालाई नाकाबन्दी गर्ने कार्यका पछाडि अफ्रोफोबिया कारण रहेको उनको दाबी छ । अफ्रिकी काला जाति प्रति ‘रंगभेदको नीति’ले यसमा बढी काम गरेको तर्फ उनको प्रत्यक्ष संकेत रहेको छ ।

अमेरिकी सहर न्युयोर्कमा स्वास्थ्य संकटकालको घोषणा, बेलायत लगायतका युरोपेली देशहरुका अफ्रिकी नागरिक आवतजावतमा प्रतिबन्ध, अफ्रिकाका लागि सामान ओसार पसारमा रोकलगायतका विश्वका ओमिक्रोन केन्द्रित गतिविधि अफ्रिकी देशहरुलाई थप संकटमा धकेल्ने र असयोग गर्ने नीति अन्तर्गत रहेको कुरामा रामापोसाको जोड रहेको छ ।

अहिलेसम्म राष्ट्रपति रामापोसको उक्त भनाइको खण्डन कुनै लक्षित देशहरुले गरेका छैनन् । तर पनि सत्य कुरा के हो भने अहिले सिंगो अफ्रिकी महादेश र त्यसमा पनि दक्षिण अफ्रिका ओमिक्रोनको ज्वालाभित्र छ ।

उसलाई अन्तरदेशीय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ । तर यति नै बेला कोरोनाको नयाँ उत्परिवर्तनको खतरा देखाउँदै उसमाथि अघोषित नाकाबन्दीको अवस्था सिर्जना गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यसप्रति गम्भीर चिन्ता जनाएको छ । यस्तो बेलामा सहयोगी हातहरु अफ्रिकामा पुग्नु पर्ने र त्यहाँका जनतासँग भावना साटासाट हुनु पर्नेमा पनि आशय व्यक्त गरिएको छ ।

विश्वमा कुनै पनि देश अछुतो वा एक्लो रहेर बाँच्न सक्ने स्थिति नरहेकाले सबैले अफ्रिकाको नयाँ उत्परिवर्तित भाइरसप्रति चासो देखाउनु पर्ने र आवश्यक खोप तथा अन्य सहयोग गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

 

खोपको मात्रा गरीब तथा विकासशील देशहरुमा पुग्न नसकेको र विकसित तथा अतिविकसित देशहरुले खोपको समान वितरण पनि गर्न नसकेको कुरा अहिले संसारभर लुकेको छैन ।

 

अमेरिका, युरोप वा अन्य विकसित देशहरुले आफूहरुले मात्र खोप लिएर सुरक्षित रहेको भ्रममा परे पनि अहिले अफ्रिकालगायतका देशहरुमा कोभिड–१९ को नयाँ उत्परिवर्तन हुँदा आफ्नै देशमा लकडाउन गर्नु परिरहेको छ ।

मानिसले आफूलाई जति बाठो, छुचो वा जानेको वा छली र कुटनीतिक भएको दावा गरे पनि कोभिडको नयाँ नयाँ उत्परिवर्तनले मानिसका ज्ञान, क्षमता र सीप तथा कुटको सीमा सबैले छर्लंगै देख्ने गरी सार्वजनिक गरिदिएका छन् ।

संसार ‘मेरो हुकुमभन्दा वरपर जान नसक्ने’ भनी हुंकार गर्ने विकसित र अति विकसित देशहरु अहिले नांगानांगै सतहमा देखा परेका छन् ।

यो यथार्थतालाई मनन् गरी राष्ट्रपति सिरिल रामापोसाको भावनात्मक अभिव्यक्तिको स्वास्थ्य सहयोग मार्फत् सम्बोधन गर्न विकसित देशहरुले ढिलाइ नगर्दा राम्रो मात्र होइन, उत्तम हुने देखिन्छ ।