• मंसिर ११ २०८१, मंगलवार

काङ्ग्रेसको इतिहासमा लोहियाको सेतु

मंसिर १२ २०७८, आईतवार

२३ वर्षको कलिलो उमेरमा अर्थशास्त्र “नुन सत्याग्रह” विषयमा प्रसिद्ध अर्थशास्त्री जामवार्टको शोधनिर्देशमा विद्यावारिधि गरेका डा. लोहियालाई समाजवादको मौलिक सिद्धान्तकारका रुपमा चिनिन्छ । राणा शासनको विरोधमा नेपाली काङ्ग्रेसको आह्वानमा दिल्लीमा आन्दोलन गरी गिरफतारी दिई उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी बनेका थिए ।

नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्तावनाको मस्यौदा तयार गर्दा वीपीसँग सहकार्य गरी र केन्द्रीय समितिमा पनि सशरीर उपस्थित भई पार्टीलाई दार्शनिक चिन्तन र संघर्षको गोरेटोमा लैजान उनी वीपीका सहयात्री र हिमायती रहेका थिए । गान्धीसँग वीपीलाई भेटाउन उनले खेलेको भूमिका वा सुन्दरीजलको अनशनमा वीपीको कष्टलाई मध्यनजर गर्दै मोहन समशेरमाथि नैतिक दबाब दिन गणेशमान र किशुनजीलाई गान्धीसँग भेटाउने व्यक्तित्व लोहिया नै थिए ।

वीपीको दर्शनमा डा.लोहियाको प्रभाव गहिरो देखिन्छ । व्यक्तिगत सम्बन्धमा उत्तार चढाव देखिए तापनि दार्शनिक कसीमा दुई विराट व्यक्रित्वहरूमा अधिक सामिप्यता देखिन्छ । अब प्रश्न उठ्छ लोहियाको सान्दभिकता किन ? खास गरेर बदलिदो परिवेशमा डा. लोहियाको राजनीतिक प्रस्तावना र दर्शनले नेपाली काङ्ग्रेसलाई कसरी लाभ दिन सक्छ ?

नेपाली काङ्ग्रेसको पहिलो राजनीतिक दस्तावेज तयार गर्दा वीपीलाई नेपालमा कृषि क्रान्ति गर्न उनले नै सुभाव दिएका थिए । नेपाल त्यतिखेर जमिनदारी प्रथाबाट चेपिएको थियो । कालान्तरमा वीपी कृषिसम्बन्धी नयाँ विचार र परिर्वतन ल्याउन पनि केहि हदसम्म सफल भए ।

लोहियाले कृषि सेनाको परिकल्पना गरेका छन् । कृषि सेनाको माध्यमबाट गाउँलाई सबलीकरण गर्न सकिन्छ भन्ने पनि गरेका छन् । भूमण्डलीकरण र विप्रेषण (रेमिटेन्स) को प्रभावले नेपालको प्रत्येक गाउँसहरमा निर्भर भएको छ भने प्रत्येक सहर काठमाडौंमा निर्भर भएको छ ।

काठमाडौं विदेशको मुद्रामा निर्भर रहेको छ । लोहियाको आग्रह नै यो निर्भरतालाई भत्काउनु हो । अर्थशास्त्री सुमाकरको सिद्धान्त “स्मल इज ब्युटिफुल”लाई डालोहियाले व्याख्या गर्दै गाउँलाई जोगाउन सानोसानो उद्योगको कल्पना गरेका छन् । गाउँको सिद्धान्तमा डा. लोहिया र वीपीको सामिप्यता देखिन्छ ।
सुमाकरले आफ्नो सिद्धान्तमा प्रष्ट भनेका छन् गरीबसँग असीम क्षमता हुन्छ । कुनै पनि कठिन घडीमा विचलित हुँदैनन् । सङ्कट आएको बेला धनी र सम्पन्न बिचलित र ध्वस्त हुन्छ ।

अर्को शब्दमा भन्ने हो भने कोरनाको कहरमा नेपालका गाउँले नेपालीलाई जोगाए । प्रतिरोधात्मक क्षमता गाउँका मान्छेहरूमा अपेक्षाकृत सहरभन्दा बढि हुन्छ । डा. लोहियाले कृषिलाई सानो यन्त्रको प्रयोग गरेर सहरको विकृतिबाट गाउँलाई जोगाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसले गाउँसम्बन्धी मुद्दालाई राजनीतिको केन्द्रविन्दु बनाउँदै आएको छ ।
समाजवादको प्रस्थान विन्दु नै गाउँको निर्माण हो । संसदको बजेटको स्वरुपमा प्रतिवाद गर्दै समाजवादी चिन्तक प्रदीप गिरीले यही मनोभावलाई जाहेर गरेका थिए । नेपाली काङ्ग्रेसले नेपालको सामाजिक रुपानतरणमा जोड् दिनु पर्दछ ।
डा.लोहियाले आफ्नो कृति “मिसिङ्ग प्वाइन्ट इन माक्र्सिज्म”मा मार्क्सवादको आग्रहलाई भारतको सन्र्दभमा खारेज गर्दै के भनेका थिए कि भारतीय समाज वर्गीय रुपमा मात्र विभाजित भएका छैन । भारतीय समाज जातीय रुपमा विभाजित छन् । अर्थात् जातीय अन्तरसंघर्षलाई निर्मुल गर्न जातविहिन समाज निर्माण गर्न डा.लोहियाले आग्रह गरेका थिए ।

तथाकथित भनिएका तल्लो जातिको लागि विशेषाधिकारको आवाज उठाउने राजनीतिक वृत्तमा डा.लोहिया नै थिए । सायद नेपाली काङ्ग्रेसले समयमा नै यो दार्शनिक पुँजीलाई प‘ुँजीकृत गरेको भए नेपालले १७,००० मान्छेको हत्या बेहोर्नु पर्ने थिएन ।

माओवादीको आकर्षणको सिद्धान्त समाजिक रुपान्तरण नै थियो । दुर्भाग्यवश कम्युनिष्ट समस्या उठानमा सिपालु भए तापनि समाधानमा कमजोर हुने गर्दछन् । माओवादी यसको उदाहरण हुन् । डा.लोहियाले जातीय रुपान्तरण र विद्रोहको प्रयोग भारतीय राजनीतिमा प्रयोग गरे ।

ग्वालियरको महारानीको विरुद्धमा एक दलित (मेहत्तर्नी) महिलालाई आफ्नो पार्टीबाट टिकट दिए । चुनावी मुद्दामा “महरानीको विरोध मेहत्तरर्नी” थियो । यो साङ्केतिक जातीय समानताको परिसूचक थियो । आज नेपालको सबभन्दा महत्वपूर्ण समस्या नेतृत्व वर्गको जीवनशैली र भष्टाचारी कार्यशैली हो ।
जनताको जीवनस्तर र नेतृत्वको जीवन स्तरमा कुनै तादात्मयता छैन । यसै सन्र्दभमा ६ डिसेम्वर १९६३ मा डा.लोहियाले भारतको संसदमा इतिहासिक भाषण दिएका थिए । प्रतीकात्मक रुपमा प्रधानमन्त्रीको खर्च र साधारण भारतीयको खर्चको लेखाजोखा गरेका थिए ।

त्यतिखेर साधारण भारतेलीले दैनिक खर्च तीनआना गर्थे भने देशले प्रधानमन्त्रीको दैनिक खर्चका लागि पच्चीस हजार ब्यय गर्नु पथ्र्यो । डा.लोहियाले यसलाई राष्ट्रिय बहसको मुद्दा बनाए । आज नेपाली काङ्ग्रेसका ऊर्जावान कार्यकर्ताहरूले आफ्ना नेतृत्व वर्गसँग मितव्ययी हुने अपिल गर्नु पर्दछ ।

नेतृत्वको जीवन पारदर्शी नहुन्जेलसम्म पार्टी बलियो हुन सक्दैन । डा.लोहियाले के भन्ने गर्थे भने फोहर पानी गंगोत्रीबाट सफा गर्नु पर्दछ । न कि गङ्गाबाट । अर्थात् नेतृत्व पंक्ति परिमार्जित नहुन्जेलसम्म साधारण कार्यकर्तामा चारित्रिक परिर्वतन सम्भव छैन ।

डा.लोहियाले समाजवादिहरूको चरित्रमाथि बेला बेलामा कटाक्ष पनि गर्थे । उनी भन्ने गर्थे कि समाजवादी सिद्धान्त र गफमा चतुर भए तापनि संगठनमा कमजोर हुन्छन् । वास्तवमा आज नेपाली काङ्ग्रेसको संगठन नेताहरूले गरेका होइनन्, नेपाली काङ्ग्रेसको संगठन प्रजातन्त्र र खुला समाजमा भरोसा गर्ने सचेत नेपालीले गरेका छन् ।

नेपाली काङ्ग्रेसले महिला हकहित र महिला नेतृत्वलाई अगाडि बढाउन महाअधिवेशनमा व्यापक बहस चलाउनु पर्दछ । डा.लोहियाले आफ्नो आलेखमा “सावित्री र द्रौपदी”मा नारीवादसम्बन्धी अवधारणा अगाडि राखेका छन् । अर्थात् समाजमा आमूल परिर्वतनको लागि पुरुषसत्तालाई चुनौती दिनको लागि प्रश्न र प्रतिवाद गर्न सक्ने नारी द्रौपदी जस्तो हुनु पर्दछ ।
नारी नेतृत्व निर्माणका लागि खास प्रशिक्षणको व्यवस्था पार्टीले गर्नु पर्दछ । डा.लोहियाको समाजवादी सिद्धान्तअनुसार हरेक कार्यकर्ताको ठूलो ओजार सत्याग्रह नै हो । डा.लोहियाले सत्याग्रहको माधयमबाट भारतमा विभिन्न विभेदका कानुनलाई ध्वस्त गराए ।

अमेरिकाको होटेलमा पनि उनले सत्याग्रह गरे । अश्वेत वार्जेत होटेलमा प्रवेश गरेर त्यहॉको कानुनलाई तोड्दै के टिप्पणी गरेका थिए भने आउने दिनमा अमेरिकाको नेतृत्व अश्वेतले लिनेछ । वास्तवमा डा.लोहियाको भविष्यवाणी ठीक साबित भयो । ओवामा राष्ट्रपति बने ।

प्रिङ्स्टन विश्वविद्यालयमा उनले आइनस्टाइनसँग पनि शास्त्रार्थ गरेका थिए । डा.लोहियाको दार्शनिक दस्तावेज “सप्त क्रान्ति हो” भन्ने समाजिक र आर्थिक रुपान्तरणको प्रारुप उनले आफ्ना कृति “विल्स अफ हिष्ट्रि” मा अभिव्यक्त गरेका छन् ।
वर्तमान परिवेशमा नेपाली काङ्ग्रेसले नेपालको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु छ । तदनुरुप समाजवादको मर्म अनुरुप पार्टी पंक्तिलाई परिचालित गर्नु पर्दछ । साम्यवाद विसर्जन भए पनि पुँजीवाद सफल भएको छैन । नेपालजस्तो समाजले भूमण्डलीकरणको दौडमा कुद्न सक्दैन ।

नेपाली काङग्रेसले वीपीको सिद्धान्तअनुरुप अहिंसाको बाटो, सत्याग्रहको शास्त्र, प्रजातन्त्रिक प्रगतिको मार्गबाट बिचलित हुनु हुँदैन । यस अर्थमा नेपाली काङ्ग्रेसले गान्धी, जयप्रकाश नारायण, वीपी डा.लोहियाका सिद्धान्तबारे व्यापक विमर्श चलाउनु पर्दछ । विचारको मन्थनबाट निस्केका अमृतले नै पार्टीलाई जीवन्तता दिन्छ ।