• मंसिर ८ २०८१, शनिबार

विज्ञान प्रविधिको आँखामा ओमिक्रोन भाइरस

मंसिर १२ २०७८, आईतवार

ओमिक्रोन कोभिड–१९ को पछिल्लो निकै संक्रामक र घातक उपज हो । यसलाई आजसम्मकै निकै जटिल उत्परिवर्तनका रुपमा लिइएको छ । उत्पत्तिका हिसाबले यो दक्षिण अफ्रिकामा भए पनि निकै तीब्र गतिमा संसारभर फैलिइरहेको छ ।

मानिसहरु यो उत्परिवर्तनबाट निकै तर्सिएका छन् । यसका लक्षणहरु के के हुन्छन् भनी सोधिरहेका छन् र यसका बारेमा जान्नका लागि निकै उत्सुक पनि छन् । कालका राजा यमराज कस्ता हुन्छन् भन्ने बारेमा मानिसलाई जिज्ञासा र त्रास जति हुन्छ, त्यत्तिकै त्रास र जिज्ञासा आजका दिनमा ओमिक्रोनप्रति रहेको छ ।

खोजी र नामाकरण :

यसका साथै यसको संक्रमणबाट बच्नका लागि केकस्ता उपायहरु अपनाउनु पर्छ भन्नेमा पनि विश्वभरका जनता कान थापेर सुनिरहेका छन् । ढिलै भए पनि विश्व स्वास्थ्य संगठनले यसका बारेमा खोजीनीति गरी यसको नामाकरणसहित सार्वजनिक गरिदिएपछि यो उत्परिवर्तनका बारेमा बुझ्न केही सजिलो हुन गएको छ ।

यसलाई नयाँ उत्परिवर्तनमा वर्गीकरण गर्दा अफ्रिकामा सार्स–कोभिड–२ को नामबाट बोलाउने गरिए पनि बाहिर फेरका लागि भने ओमिक्रोन नाम दिइएको छ । यसको ल्याबमा दिइएको नाम भने ‘बी १.१.५२९’ रहेको छ ।

लक्षण र असरः

यो निकै डरलाग्दो सरुवा रोगको रुपमा देखिएको छ । ‘डेल्टा भाइरस’ भन्दा निकै कडा र बढी संक्रामक पनि रहेको छ । अहिले सम्मका भ्याक्सिन यसका अगाडी नाकाम सिद्ध भैरहेका छन् ।

यो उत्परिवर्तनले भ्याक्सिनमा पनि अर्को कडा खालको ‘कम्पोजिसन’ को माग गसिररहेको छ । तर अहिलेसम्म लगाइरहेका खोपका कारण यसको फैलने प्रक्रियामा केही गतिरोध हुने भने देखिएको छ ।

अझैं अनुसन्धान र निगरानी :

ओमिक्रोन जत्तिको आक्रामक र संक्रामक छ, त्यही अनुपातमा यसको अध्ययनको गहिराइ पनि बढिरहेको छ । यसलाई कडा निगरानीमा हेर्न थालिएको पनि छ । अफ्रिकामा यसको फैलने क्रम पहिलेका भाइरसभन्दा चार गुणा बढी तिब्रतामा देखा परेको छ ।

अहिले दक्षिण अफ्रिकाका जोहनेसवर्ग, प्रिटोरिया लगायतका ठूला सहरहरु यो उत्परिवर्तनबाट निकै प्रभावित हुँदै गैरहेका छन् । जुन ‘जीन’को क्लष्टरमाथि यो प्रभावी हुन्छ, त्यस क्लष्टरको बस्ती रहेका क्षेत्रहरुमा यसले क्षणभरमै कब्जा जमाएर छाड्छ ।

विश्वको समान चासो :

यो उत्परिवर्तनले विश्वलाई समान चासो राख्ने अवस्थामा पुर्याइदिएको छ । यो अल्फा र डेल्टा भाइरसको नजिक रहेको देखिन्छ । अनुसन्धान कर्ताहरु यो अझै पनि सुरुको चरणमा रहेकाले यसले पुर्याउन सक्ने हानी र असरका बारेमा बुझ्न केही समय लाग्ने बताइरहेका छन् । तथापि उनीहरु यसको निरन्तर अनुसन्धानमै छन् ।

अनुसन्धान र थप परीक्षणका क्रममा रहेको यो भाइरसले के कति प्रभाव पार्छ, यसका खास लक्षणहरु के हुने छन्, मानिसको रोगप्रतिरोधात्मक क्षमताले कत्तिको रोक्न सक्छ, हालसम्म दिइएका खोपहरुको प्रभावकारिता कतिसम्म रहन सक्छ आदिबारे अहिले अध्ययन भैरहेको छ ।

विश्व स्वास्थ्य संगठनले के गर्दै छ ?

विश्व स्वास्थ्य संगठनले यसका बारेमा गम्भीरतापूर्वक खोजी गरिरहेको छ । ओमिक्रोन नामाकरण गरिसकेपछि यसलाई संसारभर चिन्न निकै सजिलो भएको छ ।

यसको आक्रामक संक्रमणलाई ख्याल गरेर खोपलगायतका उपचारका विधि तथा पद्धतिहरुमा के कस्ता उपायहरु अपनाउने भनेर आफ्नो स्वास्थ्य विदहरुको टिम निरन्तर ल्याबमा परिचालन गरिरहेको छ ।

दक्षिण अफ्रिकामा पठाइएको यसको टिम तथा दक्षिण अफ्रिकी स्वास्थ्य विदहरुले निरन्तर रिपोर्ट त्यहाँ पठाउने गरिरहेका छन् । तर पनि यसका बारेमा चाहेजति जानकारी आउन सकिरहेको छैन । यो निकै संक्रामक भए पनि यसका भिन्न र अनौठा लक्षण भने नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अपनाउनु पर्ने खास सावधानी :

पहिले अपनाएका सावधानी जस्तै मास्कको प्रयोग, सानिटाइजरको प्रयोग, भौतिक दुरी, साबुन पानीको प्रयोग, शंका लागेकालाई क्वारेन्टाइन तथा बिरामीका लागि अस्पताल भर्ना जस्ता कुरालाई कायमै राखिनु पर्छ ।

थप सतर्कताका लागि अहिलेसम्मको उत्परिवर्तनलाई रोक्न सफल खोपले अबका दिनमा काम नगर्न सक्छ । साथै, महामारी अबका केही वर्षहरुमा समेत विभिन्न उत्परिवर्तनका रुपमा आइरहने संभावनालाई ख्याल गरिनु पर्छ ।