घोराही, ११ मंसिर ।
दाङ । घोराही–१८ रझेना शंखेपिपलमा मुर्दा जलाउने घाट नजिकै किृयापुत्री घर बनेको छ । त्यहाँ लामो समयदेखि शव दहनमात्रै हुँदै आएको थियो । तर यतिबेला भने त्यहाँ व्यवस्थित अटेज वाथरुम सहितका कोठा भएको कृयापुत्री घर बनेको छ ।
आमा इन्दिरा अधिकारीको काजकृया गर्न घोराही–१५ का अनिल किरिया पुत्री घरमा बस्नुभयो । उहाँले १३ दिनको सबै कर्म त्यहिँ गर्नुभयो । त्यहाँका संरचना आफूलाई सन्तुष्ट बनाएको उहाँको भनाई छ । सल्यान खलंगाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा१ख २५५२ नम्बरको बस २०७८ कार्तिक २१ गते आइतबार कपुरकोट गाउँपालिका–५ खारखोलामा पल्टिएको थियो । त्यसक्रममा इन्दिराको निधन भयो । तिहार मानेर फर्किंदै गर्दा अपर्झट र अकल्पनीय दुर्घटना निम्तियो ।
‘आकस्मिक दुःख आइलाग्यो, सोच्ने फुसर्द भएन’ अधिकारीले भन्नुभयो, ‘सबै काम हतार हतार गर्नुपर्दा त्यहिँ उपयुक्त लाग्यो ।’ उहाँका अनुसार नेपालगञ्जबाट फर्किंदै गर्दा अमेलियामा आमा दुर्घटनामा परेको खबर पाउनुभयो । घाइते हुनुहुन्छ होला भनेर सोध खोज गर्दागर्दै साँझ परिसकेको थियो । घटना स्थलमै मृत्यु भएको खबर हत्तपत्त कसैले सुनाएनन् ।
कुनैपनि अस्पतालमा पत्तो नलागेपछि हतार हतार सल्यान खलंगा जानुभयो । मुर्दाघरमा पो आमा भेटिनुभयो । घाउ चोटले चिन्नै मुश्किल थियो । पोष्टमार्टमपछि सिधै देवघाट लैजानुभयो । सतगत सकेर भोलिपल्ट कृयापुत्री घरमा आई हिन्दु धार्मिक विधि अनुसार कृया कर्म थाल्नुभयो ।
‘देवघाटमा आमाको अन्त्यष्टी गरी घोराही रझेनाको किरिया घरमा बसेको सम्पूर्ण आफन्तमा जानकारी गराउँदछ’ आफ्नो फेसबुक पेजमा लेख्नुभएको थियो । त्यसैलाई आधार मानेर बजारीया सजिलै मानेर पुगे । भाइ गोत्यार पनि मानोमिसाउन घर खोज्दै गाउँ पुग्नुभन्दा त्यहिँ सजिलो माने ।
वर्षौंदेखि छोडेको गाउँको घरलाई लिपपोत गरेर बस्न योग्य बनाउन धेरै दिन लाग्ने भएपछि त्यतै बसेको बताउनुहुन्छ । उहाँका अनुसार शुभकार्य जस्तो तयारी गर्ने अवस्था नहुँदा सामुदायिक किरीया पुत्री घरले सजिलो बनाइदियो । ‘अटेज वाथरुम रहेछ’ अधिकारीले भन्नुभयो, ‘खुला छ बस्न र सामान राख्न पनि सजिलो भाछ ।’ उहाँले किरिया पुत्री बस्ने एउटा, सामान राख्ने ब्राण्ड र सहयोगी बस्ने कोठा लिनुभएको छ । महिला पुरुष बस्न नमिल्ने भएकाले हिन्दु धर्म मान्नेलाई दुइटा कोठा चाहिन्छ । बाहिर पनि टाएल लगाएको र सफा ठाउँ छ । मानो मिसाउन पाँच, सात र नौदिनमा आउने जति जना भएपनि सजिलै बस्न मिल्छ ।
यसो त भाडाको कोठामा बस्ने, आफ्नो घर भाडामा दिएको र तुरुन्तै हटाउन मिल्ने अवस्था नभएका, फराकिलो क्षेत्र नहुनेहरुलाई पनि किरीयापुत्री घर सजिलो बनेको छ । खोलाको किनारमा भएकाले धार्मिक हिसाबले पनि पवित्र मानिन्छ । पुण्यका लागि त्यहाँ क्रिया बस्न रुचाउनेहरु पनि छन् । सबै भन्दा बढि घरबेटीले क्रिया बस्न नदिनेका लागि अति उत्तम मानिएको छ ।
अहिले नौवटा कोठाहमा कृया बस्न मिल्ने बनाइएको शवदाह स्थल व्यवस्थापन समितिका अध्यक्ष खुशलराम सुवेदीले बताउनुभयो । उहाँका अनुसार काजकृया गरुन्जेल एउटा कोठाको पाँच हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ । एक महिना अघिदेखि सञ्चालनमा आएको घरमा अधिकारी तेस्रो लट कृया बस्नुभएको छ । यस अघि प्यूठानका तुकमान कार्की र दाङका गिरबहादुर बस्नेतले त्यहिँ बसेर आफन्तको काजकृया गर्नुभएको थियो । उहाँहरुले पनि राम्रो प्रतिकृया दिनुभएको सुवेदीको भनाई छ ।
हरेक कोठामा कमोड सहितका शौचालय छन् । नुहाउने तातो पानीका लागि गिजरको व्यवस्था गरिएको छ । काजकृयाका लागि गौदानदेखि सबै कर्म गर्ने छुट्टै फिल्ड र भोज भतेरका लागि पकाउने खाने ठाउँपनि अलग अलग छन् । कुनै जात धर्मको बन्देज छैन । पुरानो दुइकोठे क्रियापुत्री घर पनि छ । यति बेला दुवै घर चालु छन् । धेरैलाई सजिलो हुने अपेक्षा गरिएको छ ।
तर, नयाँ भवन हस्तान्तरण नहुँदै जिप्सन फुटेको छ । ठेकेदारले पानी सप्लाई पनि नगरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले जिम्मेवारी पूरा नगर्दा व्यवस्थापनमा समस्या आएको हो । उहाँका अनुसार चौकिदारलाई साँचो बुझाइदिएर समितिसँग सम्पर्क गर्न पनि ठेकेदार कम्पनीले चाहेको छैन । भवन औपचारिक हस्तान्तरण नगरेकाले अरु संरचना बनाउन मिलेको पनि छैन । त्यहाँ अझै बनाउनुपर्ने धेरै कुराहरु रहेका छन् ।
एक पटकमा नौवटा टोली क्रिया घरमा बस्न मिल्ने अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार दुई टोलीले एकैचोटी भान्सा गर्न सकिने चुलोका व्यवस्था छ । ठूलो समूह हुँदा पनि फरक नपर्ने गरी सार्वजनिक रुपमा चारवटा स्नान घर र चार वटा शौचालय लगायतका सुविधा छन् ।
क्रियापुत्री घरको पूर्वतर्फको पर्खाल अग्लो बनाई शबदहन गरेको दृश्य देख्न नमिल्ने बनाउन लागेको घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं घोराही–१८ का अध्यक्ष भरतमणि अर्यालले बताउनुभयो । उहाँका अनुसार क्रमसः थप संरचना बनाउँदै लगिन्छ । धेरै कुरामा सुधार भइरहेका छन् । तर अहिलेसम्म क्रियापुत्री घर भने समितिलाई औपचारीक हस्तान्तरण हुन सकेको छैन । जसले गर्दा अरु संरचना बनाउदा कानुनी र व्यवहारिक अड्चन देखापरेको छ ।