पृष्ठभूमि :
आजको युगमा हामी वैश्वीक तपन, जलवायु परिवर्तन वातावरणीय प्रदूषणको माखेसाङ्लोमा अल्झिएका छौं । मानव समुदायले आजसम्म आर्जन गरेको एवम् विकास गरेको ज्ञान, सीप, प्रविधि प्रद्यौगिकी जसले प्रकृतिबाट उत्पन्न हुनसक्ने कुनै पनि कुरामाथि सहजै विजय प्राप्त गर्न सकिने विश्वास गरिएको थियो ।
तर विगत ३ वर्षदेखि वैश्वीक स्तरमा फैलिएको कोभिड-१९ को महामारीले हाम्रा जनस्वास्थ्य एवम् आवासीय चिकित्सा क्षेत्रमा हालसम्म उपलब्ध सबैखाले उत्तर आधुनिक ज्ञान, सिप, प्रविधिलाई यसका क्षमता दक्षता एवम् उपादेयताको अन्तिम सीमा तोकिदिएको जस्तो छ । जसले गर्दा मानव समुदाय कोभिड-१९ को महामारीबाट कहिले सुरक्षित निस्कने हो भन्ने भेउ पाउन सकिरहेका छैनन् ।
यसै कालखण्डमा यस भारतीय उपमहाद्वीपमा ब्ल्याक फङ्गस अनि डेंगु जिकाले जनसमुदायलाई आक्रान्त गराएको बेला भारतको केरला राज्यको बडनियान क्षेमा महामारीकै रुपमा ठूलो जनसमुदाय नोरो भाइरसको संक्रमणमा परेको खबर छापाका सबैखाले माध्यमममा छ्यापछ्याप्ती देखिदा जनस्वास्थ्यकर्मी, विद एवम् आवाशीय उपचार सेवामा लागेका चिकित्साकर्मी त चिन्तित हुने नै भए । जुन साधारणलाई यस रोगका बारे पूर्वसचेतना गराउनु यस रोग देखापर्न एवम् देखिएमा मानवीय क्षति न्यून गर्न जनस्वास्थ्य शिक्षाको आधारभूत दर्शन मानिन्छ । भनिन्छ ‘उपचार से रोकथाम भला ।’
के हो त नोरो भाइरस ? :
वैश्वीकस्तरमा झाडापखाला, वान्ता तीक्ष्णरुपमा गराउने कारकको रुपमा नोरो भाइरसलाई लिइन्छ । खानेकुरा अनि पिउने पानीको माध्यमबाट यो सजिलै सर्दछ अनि जनसमुदायको स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ । नोरो भाइरसलाई इ.सं. १९७२ मा अमेरिकाको ओहोवा प्रान्तको नोरवाक सहरमा देखापरेको एवम् प्रयोगशालाकृत पुष्टि भएकाले उत्पत्तिका आधारमा सुरुमा नोरवाक भाइरस भनियो । संयुक्त राज्य अमेरिकामा प्रतिवर्ष औसत १९ मिलियनदेखि २१ मिलियन जनसमुदायमा यसले असर गर्ने गरेको छ ।
साथै, ४ लाख ५० हजार भन्दा बढी मानिस आकस्मिक चिकित्सा सेवा कक्ष जाने गरेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल संस्थाको अभिलेखमा पाइन्छ । यसले वर्षभरि खाद्यजनित हुने स्वास्थ्य जटिलताको आधा हिस्सा ओगटने गरेको तथ्यांक पाइन्छ ।
नोरो भाइरसका धेरै प्रकारहरु छन् । त्यसैले पनि एक प्रजातिबाट संक्रमित भई स्वस्थ भइ बाँचे पनि अर्को प्रजातिबाट संक्रमित हुनपुगे सुरक्षित भइँदैन । यद्यपि नोरोभाइरसले बर्षैभरि संक्रमण गर्ने भए पनि जाडोको बेला भने बढी सक्रिय हुने गर्दछ । यसको संक्रमणलाई कहिलेकाहीँ ‘विन्टर भोमिटिङ्ग बग’ भन्ने गरिन्छ । सथै, खाद्य विषाक्तता पनि किनभने यो दुषित खानेकुराको माध्यमबाट सर्छ ।
नोरो भाइरस संक्रमणका लक्षण :
यदि मानिसलाई नोरोभाइरसको संक्रमणम भयो भने सामान्य अवस्थादेखि पूर्ण अस्वस्थताको अवस्थामा संक्रमण भएको १-२ दिन मै पुग्ने स्थिति हुन्छ । यस संक्रमणका टड्कारो लक्षणरुपमा बालबालिकामा वाकवाकी लाग्ने, वयस्कहरुमा भने पातलो पानीजस्तो पखाला लाग्ने तथा पेट दुख्ने, बटारिने गर्दछ । त्यसबाहेक हल्का ज्वरो आउने, जाडो लाग्नु, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, शिथिल हुने गर्दछ । धेरैजसो यी लक्षणहरु त्यति गम्भीर हुँदैनन् तर झाडापखालाले गर्दा शरीरबाट जल विग्रहित हुनेहुँदा शरीरमा जलअल्पता हुने गर्दछ । वयस्क एवम् बालबालिका बढी सम्बेदनशील एवम् ग्रहणशील हुने गर्दछन् । साथै, कुपोषणको शिकार पनि हुन्छन् । संक्रमित जनसमुदायबाट ८ हप्तासम्म यो भाइरस प्रभावित हुन सक्दछ, जसले गर्दा अरु मानिसमा रोग परिचरन हुन सक्दछ ।
यद्यपि यस रोगको संक्रमण क्षमता भने न्यून हुँदै जान्छ । धेरैजसो अवस्थामा यस संक्रमणमुक्त भएको अवस्थामा ४८ घण्टापछि नियमित दैनिक कार्यमा संलग्न हुन सकिन्छ तर खाद्य उद्योगमा संलग्न कामदारलाई भने ७२ घण्टा पछि मात्र काम गाउनु पर्छ ।
नोरो भाइरस संक्रमणका जोखिम विन्दु :
दुषित खानेकुरा एवम् पेयपदार्थ खानाले मानिस नोरो भाइरसबाट संक्रमित हुने गर्दछन् । काँचो वा अधकल्चो समुद्री आहार, काँचो फलफूल एवम् तरकारी पनि कुनै न कुनै संक्रमणमा सम्मिलित भएको पाइन्छ । नोरो भाइरसबाट संक्रमित एवम् दुषित वस्तुहरु सतहहरु छोएर निसंक्रमण नगरी आँखा, नाक, मुख छुँदा पनि यो भाइरस सर्न सक्दछ । नोरो भाइरस साँगुरो ठाउँहरुमा राम्रोसित फस्टाउँछ । रेष्टुरेन्ट, डे केयर सेन्टर, नर्सिङ्ग होमबाट यो भाइरस चाँडै फैलन्छ । यो भाइरस सतह एवम् पानीमा विषम तापक्रममा पनि बाँच्न सक्दछ । जसै मानिस यस भाइरसबाट संक्रमित हुन्छ, भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा भाँडाकुँडा, साझा खानेकुरा, हात मिलाउँदा वा अन्य नजिकको संपर्कबाट फैलिन्छ । वान्ता गर्दा हावाको माध्यमले भाइरस सतहमा सर्दछ । त्यसैगरी दिसाबाट पनि सर्दछ । कलिला बालबालिका एवम् बयस्कहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुनेहुँदा बढी सम्बेदनशील हुन्छन् संक्रमणका लागि । यसका विषाणुहरु विरामी सांकेतिक लक्षणहरु देखिनुभन्दा पहिले नै प्रवाहित हुनेहुँदा संक्रमणको परिचरण रोक्नभने त्यति सहज छैन ।
रोगको निदान :
दिसा परीक्षणबाट यो रोगको पुष्टि गर्न सकिन्छ । यस्तो परीक्षण संक्रमणको शंका लागेमा गराउनु पर्छ ।
उपचार :
अरुखाले भाइरस संक्रमणजस्तो नोरो भाइरसको उपचार उपलब्ध छैन, एन्टीवायोटिकले यसलाई छुँदैन । राम्रो स्याहारसुसार, शुद्ध सफा, पोसिलो आहार एवम् प्रशस्त निर्जलीकरण भएमा रोग ३ दिनपछि हराएर जान सक्दछ ।
नोरो भाइरसको संक्रमण जटिलता :
प्रायजसो विरामीहरुमा कुनै किसिमको समस्या लामो समयसम्म देखिदैन । तर प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका, बयस्कमा भने जलविग्रहका कारण जल अल्पता हुन सक्दछ । जसले गर्दा उभिँदा रिङ्गटा लाग्ने, मुख सुख्खा हुने, निद्रा खलबलिने, आँसु झारी रुने कराउने, आलस्य हुने, छटपटी लाग्ने हुन्छ । जलअल्पता हुनबाट रोक्न प्रशस्त पानी एवम् ताजा फलफूलको जुस, अनि खासगरी बालबालिकालाई ओरल डिहाइड्रेशन सोलुशन, जीवनजल क्षति भएको पानी एवम् इलेक्ट्रोलाइट सोधभर्ना गर्न दिनुपर्दछ । गुलियोयुक्त पेय पिउनु हुँदैन । पखाला अझ गम्भीर बनाउने भएकाले रक्सी तथा कोफिनयुक्त पेयपदार्थको सेवन गर्नु हुँदैन । यसले जलविग्रहलाई प्रोत्साहित गर्नेछ । गम्भीर अवस्थाको जलविग्रहको स्थितिमा रगतको नशाबाट निर्जलीकरण गर्नु पर्ने हुन्छ ।
नोरो भाइरसको संक्रमणबाट बच्ने कसरी ? :
सरसफाइ र स्वच्छता नोरो भाइरस रोक्ने अचुक उपाय मानिन्छ । दिसा पिसाब गर्नु अघिपछि बच्चाहरुको डाइपर बदलिदिंदा, खाना पकाउनु अघि खाना खानु अघि साबुन पानीले कम्तिमा २० सेकेण्ड हात धुने । अल्कोहल आधारित सफाइका साधन साबुन पानीभन्दा प्रभावकारी हुँदैनन् । दुषित सामाग्रीहरु सावधानीपूर्वक तह लगाउने, तरकारी, फलफूलहरु राम्रोसित पखाल्ने गर्नुपर्दछ । सामुद्रिक भोजन आहार राम्रोसित पकाएर खानुपर्दछ । भुँइ सतहलाई क्लोरिन एवम् डिटरजेन्ट मिश्रणले राम्रोसँग नियमित सफा गर्नुपर्ने हुन्छ । यदि तपाई संक्रमित हुनुभयो भने संक्रमणमुक्त भएपछि पनि २-३ दिनसम्म आफैं खाना नपकाउनुहोस् साथै शंकास्पद संक्रमितले पकाएको खाना पनि नखानुस् । आफु बाँचे संसार देखिन्छ ।