• मंसिर १८ २०८१, मंगलवार

एक करोड ३० लाख डलरमा बिक्रि भयो वैज्ञानिक आइन्स्टाइनको हस्तलिखित डायरी

मंसिर ९ २०७८, बिहीबार

काठमाडौँ । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा पाण्डुलिपि लिलामी गर्दा चर्को मूल्यमा बिक्रि भएको छ । आइन्स्टाइनले उनको चर्चित सिद्धान्त सापेक्षतावादसम्बन्धी सिद्धान्त तयार पार्दा प्रयास गरिरहेको हिसाब किताबका खेस्राहरुको एउटा पाण्डुलिपि युरोपमा यसरी बिक्रि भएको हो । फ्रान्सको पेरिसस्थित कृष्टिको लिलामी घरमा भएको यो बिक्रिले वैज्ञानिक दस्तावेजको लिलामीको रेकर्ड समेत तोडेको छ ।

फ्रान्सको राजधानी सहर पेरिसमा रहेको लिलामी घर कृष्टिले यो पाण्डुलिपि बिक्रि गर्दा सो पाण्डुलिपि कसले किनेको हो भन्ने नखुलाए पनि उसले यो पाण्डुलिपि १ करोड ३० लाख अमेरिकी डलरमा बिक्रि भएको बताएको छ । बिक्रि हुनुका साथै आइन्स्टाइनको सो पाण्डुलिपिले हालसम्म सबैभन्दा महँगोमा बिक्रि हुने वैज्ञानिक दस्तावेजको रेकर्ड समेत बनाएको छ ।

सापेक्षतावादी सिद्धान्तसम्बन्धी यो पाण्डुलिपि वैज्ञानिक आइन्स्टाइन र उनका स्विस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ मा तयार गरेका थिए । उनीहरुले यो सिद्धान्त सन् १९१५ मा दुनिया सामु सार्वजनिक गरेका थिए । सो सिद्धान्तबारे गरिएका खेस्राका यी कागजहरु पनि आइन्स्टानका सहकर्मी बेसोले नै सुरक्षितसाथ राखेका थिए । कृष्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ गरेको छ ।

लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भनेका छन्, ‘आइन्स्टाइन त्यस्ता व्यक्ति थिए, जसले आफूले लेखेका थोरैमात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो ।’  उनको पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ । बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छन् । लिलामी घर क्रिस्टिले यो बिक्रिले यी कागजातको महत्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित गरेको जनाएको छ ।

जम्मा ५४ पृष्ठ रहेको बताइएको सो पाण्डुलिपि अहिले लिलामी बिक्रि भएको भए तापनि यो भन्दा पहिले गत मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित E=mc² समीकरणबारे उनीद्वारा लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्रि भएको थियो ।