• आश्विन २९ २०८३, बिहीबार

साउदीको राजदूतको लागि रास्वपाले सिफारिस गरेका सुनारको नाम समितिबाटै अस्वीकृत

आश्विन २८ २०८३, बुधबार

काठमाडाैं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ। समितिले सर्वसम्मतले सुनारको नाम अस्वीकृत गरेको हो।

उनका विरूद्ध महिला हिंसाको उजुरी परेको थियो। गत असोज २ गते सरकारले सुनारको नाम सिफारिस गरेको थियो। उनको उच्च नैतिक चरित्र नपुगेको ठहर गर्दै समितिले नाम अस्वीकृत गरेको हो।
निर्णय प्रक्रियाको ठिक अघि रास्वपा सांसद गजला शमिम मियाँ मिकरानीले छलफलपछि हरेक दृष्टिकोणबाट सुनार राजदूत हुन अयोग्य रहेको जानकारी गराएकी थिइन्।

रास्वपाका प्रमुख सचेतक समेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुति, डकुमेन्ट र योग्यता राम्रो देखिएको भए पनि पुरानो घटनाका कारण नैतिक चरित्रको प्रश्न उठेकाले नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको समितिमा बताएका थिए।

उनले दलित समुदायबाट आएर सुनारले सशक्त काम गरेको उल्लेख गरेका थिए। तर देशको राजदूत भएर जाने प्रतिष्ठित पदमा विवाद नहोस् भन्ने चाहनाका कारण अस्वीकृत गर्नुपरेको बताए।
‘राजदूतका लागि उच्च नैतिकता चाहिन्छ। उहाँको पुरानै घटना भए पनि चरित्र हिसाबले जोडिने देखियो,’ बुर्लाकोटीले उल्लेख गर्दै भने, ‘निर्णय प्रक्रिया अघि बढाऔँ।’ लगत्तै समिति सभापति बोधनारायण श्रेष्ठको उनको नाम अनुमोदन गर्ने प्रस्ताव राखेका थिए। तर समितिले सर्वसम्मतले उनको नाम अस्वीकृत गरेको हो।