• आश्विन २८ २०८३, बुधबार

केवाइसी भर्ने नाममा ५० लाख ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ३ पक्राउ

आश्विन २७ २०८३, मंगलवार

रौतहट । बैंक तथा डिजिटल वालेटको केवाइसी अद्यावधिक गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्। उनीहरूलाई असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ को कोइरी टोलबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार घटनासम्बन्धी २२ वटा उजुरी प्राप्त भएका छन्। ती उजुरीका आधारमा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।

प्रहरीका अनुसार आरोपितहरूले बैंक वा ई–सेवाका कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत सेवाग्राहीलाई सम्पर्क गर्ने गरेका थिए। त्यसपछि भिडियो कल, स्क्रिन सेयर र गुगल फारममार्फत बैंकिङ विवरण लिएर खाताबाट रकम निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रौतहट प्रहरीले उनीहरूको साथबाट एक लाख ६२ हजार २१० रुपैयाँ नेपाली नगद, सात थान मोबाइल, ११ वटा सिमकार्ड, ३० वटा बैंक भौचर, एटीएम कार्ड, चेकबुकलगायत सामग्री बरामद गरेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता तथा ठगी भएको रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।