• आश्विन २७ २०८३, मंगलवार

‘रामराज्य’को आदर्शमाथि ‘साम्राज्य’को राज !

आश्विन २६ २०८३, सोमबार

जेन्जी आन्दोलनले नेपाली राजनीतिमा नयाँ र पुराना भनेर पुस्ताका बिचमा नमेटिने गरी विभाजनको रेखा कोरिदिएको छ । यो रेखा अबका दिनमा लक्ष्मण रेखा बन्दै जाने देखिएको छ । किनकि, २००७ सालदेखि आफूलाई एकमात्र प्रजातान्त्रिक पार्टी भन्ने नेपाली काङ्ग्रेसमा यही सीमाले विभाजन ल्याइदिएको छ ।

ठूलो वाम पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र ज्वालामुखी विष्फोट हुनु पूर्वको भौगर्भिक हलचलमा परिणत गरिदिएको छ । एकताका क्रान्तिकारी रूपान्तरणका लागि १० वर्षे जनयुद्ध लडेको नेपाल कम्युनिष्ट पार्टी माओवादी भित्र त यसले साङ्गठनिक विभाजनका श्रृङ्खलाबद्ध पहिरो नै ल्याइरहेको छ ।

नेपालमा जेसुकै नाम, आवरण र विचारमा होस्, प्रकृतिका हिसाबले मूलतः दुई किसिमका पार्टी छन् : प्रजातान्त्रिक र साम्यवादी । अङ्गीकार गरेका विचार र रणनीतिका हिसाबले यिनलाई यस्ता दुई फरक प्रकृतिका पार्टीमा कित्ताबन्दी गर्न मिल्छ । आश्चर्यको कुरा त के छ भने नेपाली काङ्ग्रेस अन्तर्यमा प्रजातान्त्रिक छैन र साम्यवादी पनि अन्तर्यमा साम्यवादी छैनन् ।

दुबै कुलिन र माथिदेखि तलसम्मको पदसोपान साङ्गठनिक श्रेणीमा विभक्त छन् । राजादेखि रैतिसम्मको दर्जा र ओहदा रहने सामन्तवादको भिन्न स्वरूप यिनमा अन्तरनिहित छ । नेता, नेतृत्व, आनीबानी, काम गराइको कार्यशैली र संस्कार तथा संस्कृतिमा सामन्तवादको आलोकाँचो गन्ध यथावत् छ ।

प्रजातान्त्रिक भनिने नेताले आजीवन कुर्सी छोड्दैनन् । अझ त्यसलाई पैतृकीकरण गर्दै लैजान्छन् । परिवार भित्रैबाट उत्तराधिकारीको खोजी हुन्छ । जहान परिवारको हालीमुहाली हुन्छ । पार्टीको नेता, जो देशको पनि हर्ताकर्ता बनेको हुन्छ, उसको परिवारका सदस्य र नातागोताको चूह्‌लोचौको (किचन क्याबिनेट) चल्छ । नेतृत्व कुलिनीकृत हुन्छ । यसले प्रजातन्त्रको नाममा कुलिनतन्त्र चलाउँछ ।

कम्युनिष्टले पनि भन्नलाई मात्र साम्यवादी विचार बोकेका छन् । उनीहरू पनि पुरानै धर्म, संस्कृति, परम्परा, रितिथिति, मान्यता, जीवनशैली र चालचलनका बँधुवा बन्दै आएका छन् । उनीहरूले पनि आफूलाई स्वस्थानी व्रत कथामा झैँ खोजेर बनाएको ‘राजा’ सम्झन्छन् । जीवनभर कुर्सी छाड्दैनन् । फरक यत्ति हो, ‘वंशपरम्परा’का ठाउँमा आफूलाई ‘प्राधिकार’ घोषणा गर्दछन् । यो मार्क्सवादले स्वीकार नगरेको कुरा हो । मार्क्सवादले क्षमता, आवश्यकता र संयोग जस्ता तीन कुराले नेतृत्व निर्माण हुने कुरा स्वीकार गरेको हुन्छ ।

नेपालका प्रजातान्त्रिक होऊन् वा साम्यवादी पार्टी, उनीहरूका नेता र नेतृत्वमा युग निर्माण र युगको नेतृत्व गर्ने ‘युग निर्माता’को भूत चढेको हुन्छ । पार्टीले केही ठूलो आकार मात्र लिन थालोस्, जिउँदोछँदै आफूलाई देवत्वकरण गर्न थालिहाल्छन् । यहिँनेरबाट ‘भेँडाको मुखमा कुभिण्डो’ को उखान चरितार्थ हुन थाल्छ । देवत्वकरण, युगीनकरण भनेको धर्म, संस्कृति र परम्परा अनुसार युग निर्माता मानिने धार्मिक महापुरूष रामायणमा राम र महाभारतमा कृष्णादि पात्रको गहिरो प्रभाव परेको हो । यससँग मार्क्सवादको कुनै साइनो नै छैन ।

नेपाली राजनीतिक इतिहासमा हास्य र उपहासका पात्र बनिरहेका प्रजातान्त्रिक वा साम्यवादी शासकहरूभित्र अन्तर्यमा विचार, नीति र आचरणको भने काकाकुल अवस्था छ । आफ्ना नेता विश्वेश्वरप्रसाद कोइरालालाई ‘महामानव’ भनेर नथाक्ने नेपाली काङ््‌ग्रेससँग विचारमा खोजियो भने अहिले वीपीको ‘प्रजातान्त्रिक समाजवाद’को सिङपुच्छर नै छैन । आफ्ना नेता मदन भण्डारीको ‘बहुदलीय जनवाद’ नेपालको मात्र नभई विश्वकै मार्गनिर्देशक सिद्धान्त भएको ठोकुवा गर्ने एमाले आफै अहिले हावादारी समाजवादको कुहिरोमा हराइरहेको छ ।

आफ्नै देशभित्रको एक्काइसौं शताब्दीको अमूर्त जनवादको संश्लेषणसहित प्रचण्ड प्राधिकार निर्माण गरेर अघि बढेको माओवादी उनै प्राधिकारको छत्रछायामा सिसा फुटेझैँ चकनाचूर बनिरहेको छ । यति मात्र होइन, जेन्जी आन्दोलनपछि त नेपाली प्रजातन्त्रका मसिहा, आमूल परिवर्तनका प्राधिकार सबै उदारवादी प्रजातान्त्रिक शक्ति भनिने राष्ट्रिय स्वतन्त्र पार्टीको एकै निशानाको सिकार हुन पुगेका छन् । यो पनि लामो समय टिक्दैन, किनकि यससँग विचार र परिपक्वता नै छैन । अरूको काँधमा चढेर गरिएको यात्रा गन्तव्यविहीन हुन्छ ।

नवउदारवादी शक्ति सत्तासिन हुन पुग्नु, प्रजातान्त्रिक र साम्यवादी शक्ति पत्तासाफ हुनपुग्नु संयोगको कुरा मात्र होइन । यो त विचार प्रयोगको असफलताको पराकाष्ठा हो । इतिहासको गति विपरीत कुरा हो । विचार विहीनताको ढोंग मात्र हो । स्वयम्‌मा प्राधिकारको धज्जी उडाइनु हो । विचार नैतिकताको खडेरी पर्नु हो ।

यही सोझो अर्थमा हाल सत्तासिन नवउदारवादी शक्ति वा बालेनको सरकार नेपालको राजकीय समस्या समाधानको ‘रामवाण’ होइन । यसमा दुविधा पाल्नु पनि उचित हुँदैन । बालेन सरकार कम्युनिष्ट–काङ्ग्रेसहरूको कुलिनतन्त्रीय द्युतसभा (महाजुवाडेहरूको खेल), यसबाट सिर्जित लज्जा, अनैतिकता र ब्रह्‌मलूटका कारण असमाधेयजस्तो बन्दै गइरहेको परिस्थितिमाझ बाह्य प्रयासले झुल्किएको प्रायोजित आशा हो । तथापि यसले प्रत्यक्ष प्रजातन्त्रको मोडलतिर जनसहभागिता मुखरित गर्दै आवधिक रूपमा अनुमोदित हुन पुगेको छ ।

यसले हाल एक पुरूषको पुरूषार्थले संसार बदल्ने ‘रामराज्य’रूपी सांस्कृतिक–धार्मिक मनोविज्ञानको उर्वर पृष्ठभूमिमा सामाजिक सञ्जालका ‘साम्राज्य’रूपी अस्त्र प्रयोग गरी आफ्नो उद्देश्य हासिल गरेको छ । यसको अर्थ जेनजी आन्दोलनको अवमूल्यन होइन । जनता सापेक्ष आशावादी छन् र सरकारलाई नैतिक रूपमा विश्वास गरिरहेका छन् । सरकार तत्कालको ‘सञ्जीवनी बुटी’ बनिरहेको पनि छ ।

यही अवस्थामा पुराना दलहरूको पुनरागमन, संसदको पुनर्स्थापना जस्ता कुरा दिवास्वप्न हुन् । नेपालको इतिहासमा कुनै पनि बहिर्गमित सत्ताधारी शक्तिको पुनर्स्थापना भएको नजीर छैन । राणा गए, काङ्ग्रेस आयो । काङ्ग्रेस गयो, पञ्चायत आयो । पञ्चायत गयो, काङ्ग्रेस–एमाले मिलेर आए । कुनैको एकल वा सिङ्गै पुनरागमन भएन ।

त्यसै गरी काङ्ग्रेस–एमाले गए, माओवादी आयो । अर्को वैकल्पिक शक्ति देखिएन, काङ्ग्रेस–एमाले–माओवादी मिलेर भागबण्डा गर्दै खाए । रास्वपा आयो, काङ्ग्रेस–एमाले–माओवादी पाखा लाए । यो नजीरले स्पष्ट देखाउँछ कि आउँदा दिनमा रास्वपाको विकल्प पुराना पार्टी हुनै सक्दैनन् । रास्वपाको विकल्प अब उदय हुने नयाँ पार्टी नै हुनेछन् ।

भलै भूराजनीतिक चलखेल र शक्ति सन्तुलनका कारण रास्वपाले एक्लै सरकार धान्न नसके गगनको काङ्ग्रेससँग रास्वपाकै मिलिजुली सरकार छोटो समयका लागि बन्ला । यो अपवादको कुरा हो । तर काङ्ग्रेस–एमाले र माओवादीको सरकार बनेर रजगज चल्ने दिन सदाका लागि अस्ताएका छन् ।

बाह्य शक्ति वा भूराजनीतिका कुरा गर्‍यौँ भने पनि अबका दिनमा क्षेत्रीय महाशक्तिहरूले अग्निकुण्डमा परिसकेका सतीदेवीरूपी यी पुराना पार्टीलाई बोकेर महादेवले झैं मत्र्यलोक यात्रा गर्ने गति र मति दोहर्‍याउने देखिदैन । किनकि, यी त नालायक सिद्ध भइसकेका छन् । जनता र जनताको मनोविज्ञानसम्म पनि यी पार्टीहरूसँग छैन । तर गडबडी मच्चाउन भने यिनै थोत्रामोत्रा पार्टीहरूलाई उपयोग गर्न सक्छन् ! तर बलियो विकल्प दिन विचारसहितको नयाँ पार्टीको विकल्प छैन ।