समाज विकासका लागि लैङ्गिक समानता धेरै महत्त्वपूर्ण छ । महिला र पुरुष समाजका आधार हुन् । दुबैमा समानता सुन्दर र सुरक्षित समाजको आधार हो । विकासे भवन निर्माणको जग यसैमा सन्निहित छ ।
लैङ्गिक समानतामा विभेद अझै छँदैछ । यसले समाज विवकासको यात्रा निकै कठिन बनाइरहेको छ । दैनिक जीवनमा यसको प्रभाव निकै डरलाग्दो छ । जन्मदेखि मृत्युसम्म, शिक्षादेखि रोजगारीसम्म सबैतिर लैङ्गिक भेदभाव कायमै छ ।
यस्तो मनोवृत्तिले समाजमा स्थान पाइरहनुमा राजनीतिक पक्षको ठूलो गैरजिम्मेवारी छ । पारिश्रमिकमा भिन्नता, रोजगारीमा भिन्नता आज पनि कायमै छ । सूचना प्रविधिदेखि मनोरञ्जनका क्षेत्रसम्म महिलाले विभेदको सामना गर्नुपरिरहेको छ ।
काम पाए पनि तलब मानमा भेदभाव छ । महिलाको कामलाई कम मूल्याङ्कन गर्ने प्रचलन अद्यावधिक छ । यस्ता भेदभाव असङ्गठित र सङ्गठित दुवै क्षेत्रमा छन् । यो मानव सिर्जित यो भेदभावलाई जलवायु परिवर्तनका सन्दर्भले अझै जटिल र बोझिला बनाएका छन् ।
यो मानवजातिको उन्नतिमा खतराको सङ्केत हो । बाढी, खडेरी, हुरीबतास, पहिरो, बढ्दो तापक्रमजस्ता जलवायु परिवर्तनका असरहरूका बारेमा अहिलेसम्म हामीले सुन्दै आएका छौँ पनि । यो परिवर्तनले जहान परिवार र समाजको प्रमुख सम्वाहक तथा परिचालक महिलामा सिधा असर पारिरहेरको छ ।
संयुक्त राष्ट्र सङ्घद्वारा सार्वजनिक गरिएको प्रतिवेदनले पनि जलवायु परिवर्तनको लैङ्गिक असरबारे गम्भीर कुरा उठान गरेको छ । मौसममा अचाक्ली ठूलो परिवर्तन आएपछि महिला तथा बालिकामाथि हुने हिंसा तथा यौन शोषणका घटनाहरूमा तीव्रता आएको राष्ट्र सङ्घीय आँकडाले जनाएको छ ।
जब जब मानिसले प्रकृतिको शोषण दोहनमा तीब्रता ल्याउँछ, तब यसको उल्टो असर स्वयम् मानव जीवनमा देखा पर्न थाल्दछ । त्यसमा पनि सबैभन्दा बढी महिलाको जीवनमा देखापरिरहेको छ ।
आज जलवायु परिवर्तनको समस्या दिनानुदिन गम्भीर बन्दै गइरहेका बेला त्यसको प्रतिकूल असर विशेषगरी महिला तथा बालिकामाथि हुने हिंसामा थोपरिएको छ । संयुक्त राष्ट्र सङ्घको यो प्रतिवेदनअनुसार महिला र बालिकाहरूमाथि बढ्दो यो खतरा पहिलेदेखि नै व्याप्त लैङ्गिक असमानतामाथि थप हिंसाको कारक बन्न पुगेको छ । यसले महिलामाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसाका घटनामा वृद्धि गराउँदै लगेको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न हुने लैङ्गिक चुनौतिले महिला र बालिकाको अधिकारमा असर परिरहेको छ । न्याय र लैङ्गिक समानतामा देखिने नकारात्मक असर यसको उदाहरण हो । जलवायु परिवर्तन एक पारिस्थितिक सङ्कट मात्र होइन, आधारभूत रूपमा न्याय, समृद्धि र लैङ्गिक समानताका प्रश्नहरूसँग जोडिएको समस्या पनि हो ।
यो आन्तरिक रूपमा संरचनात्मक असमानता र भेदभावसँग सम्बन्धित छ । विश्वभरि जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूले शारीरिक, मनोवैज्ञानिक र आर्थिक लगायत लैङ्गिक हिंसाका सबै आयामहरूलाई बिगार्दै लगिरहेको छ । झन् पछि झन् बढ्दो लैङ्गिक हिंसाको रोकथाम र रोकथामका उपायहरु अवरुद्ध हुँदै गएका छन् ।
लाखौँ प्रयासका बाबजुद बढ्दो लैङ्गिक हिंसालाई रोक्न चालिएका सम्भावनाहरू निकै कमजोर बन्दै गइरहेका छन् । जलवायु परिवर्तनका कारण अनेकन विपद् आइपुग्दा सबैभन्दा पहिले जीविकोपार्जनमा खतरा परेको छ । ठूलो सङ्ख्यामा महिलाले बेचबिखन, यौन शोषण र बालविवाह जस्ता अपराधको सामना गर्नुपरिहेको छ । अधिकांश महिला र केटीहरूले बाँच्नका लागि जोखिमपूर्ण विकल्पहरू रोज्नु परिरहेको छ ।
यसले महिलालाई सामाजिक, आर्थिक र लैङ्गिक रूपमा सिमान्तकृत गरिरहेको छ । परिवारमा खाद्यान्न अभाव, सानै उमेरमा विवाह, हेला र तिरस्कार अहिले पनि व्यापक नै छ । मौसमी प्रकोप हुँदा किसानको परिवार आर्थिक सङ्कटमा परिरहेको छ ।
आम्दानी नहुँदा केटीहरूको सानै उमेरमा विवाह हुने, यौन हिंसाको सामना गर्नुपर्ने, पढ्न नपाउने, जीविकोपार्जनका लागि खेतीपातीमा निर्भर रहनु पर्ने, गरीविले सताउने, स्वास्थ्य खतरामा रहने, स्रोेतमाथि स्वामित्व अधिकार नरहने, लज्जा, तिरस्कार र हीनताबोध गर्नुपर्ने आदि कुरा एकैपटक महिलामाथि थोपरिन पुगेका छन् ।
लैङ्गिक समानताविना शान्त र सुन्दर संसारको परिकल्पना गर्न सकिदैन । त्यसमाथि पनि जलवायु परिवर्तनले मानव जीवन र मुख्य गरी महिलाको जीवनमा निम्त्याएका सङ्कट समाधान गर्नतिर ध्यान दिइएन भने अबका दिन निकै चुनौतिपूर्ण बनेर जाने स्वतःसिद्ध भइसकेका छन् ।
जलवायु परिवर्तनका कारण परिरहेका प्रतिकूल प्रभावले शारीरिक, मनोवैज्ञानिक, आर्थिक लगायत लैङ्गिक हिंसाका सबै आयामलाई दीगो किसिमले समाधान गर्न अग्रगामी उपायहरु खोज्नै पर्छ ।
(वरिष्ठ पशु चिकित्सक परामर्शदाता)